पर्वतारोण गर्नुको रहस्य र विश्वका १४ अग्ला हिमाल

  निनाम लोवात्ती
49 Shares

निनाम लोवात्ती

हो, वास्तवमा हिमाल किन चढिन्छ ? हिमाल चढ्नुको रहस्य के छ ? समुन्द्रपारिका मानिसहरु किन हजारौं, लाखौं अमेरिकी डलर (लाखौं, करोडौं अमेरिकी डलर) खर्च गरेर नेपालका विभिन्न हिमाल चढ्न आई रहेका छन ? उनीहरु किन हिमालय क्षेत्रमा त्यसरी खर्च गरेर घुम्न आउँछन् ? निश्चय नै प्रश्न गर्न नसकिने होइन ।

यस विषयमा नेपालका नामुद भुगोलविद, पर्वतारोही, योजनाविद, प्रशासक, चित्रकार, लेखक, खेलाडी, खोजकर्ता, अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भन्नु भएको छ ‘-पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्र्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रुप हो । पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरु मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रुप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र … ।’ -सन्दर्भ स्रोतः डाक्टर हर्क गुरुङद्धारा लिखित, ‘विषय विविध’ अर्को भनेको स्वदेशी पर्वतारोहीहरु भन्दा विदेशी पर्वतारोहीहरुले नेपालका हिमाल चढ्न आउने क्रममा नेपाल सरकारलाई ठूलो पैमानामा सलामी दस्तुर अथवा भनौं ‘रोयल्टी’ तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो हिम चुचुरो चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्ट आरोहण गर्नका लागि विदेशी पर्वतारोहीले एक व्यक्ति बराबर ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नु पर्छ तर, नेपाली पर्वतारोहीले भने एक व्यक्ति बराबर ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिरे पुग्छ । उता हर्क गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना व्यक्ति बराबर ६ हजार नेपाली रुपैँया मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै रहेको छ । किनभने, रोयल्टी मात्रै एक जना बराबर ११ हजार अमेरिकी डलर लाग्छ भनी माथि नै लेखिसकिएको छ ।

हुन पनि हाम्रो देश नेपालमा हिम रेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मिटरभन्दा माथिका) १७ सय भन्दा बढी छन् । तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि ४ सय १४ वटा हिमाल मात्रै आरोहणका लागि खुल्ला गरेको छ । अथवा भनौं ती हिमालहरुलाई कानुनी रुपमा मान्तयता दिएर कुनै पनि देशका पर्वतारोहीबाट निश्चित रकम बराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ । हालसम्म ४ सय १४ वटा हिमालहरु स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुल्ला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो चोमोलुङमा अर्थात् सगरमाथा, माउन्ट एभरेस्ट, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैठौ अग्लो चो-ओयु, सातौं अग्लो धौलागिरी, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूणर् प्रथम जस्ता ठूला हिमालमा पर्वतारोहीहरुको बढी आकर्षण रहेको देखिन्छ । त्यस्तै ७ हजार मिटर र त्यो भन्दा कम उचाई भए तापनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकणर् (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ-गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनीको चुली, धाम्पुस (थापा) पिक, नीलगिरी, लाङटाङ लिरुङ, अन्नपूणर् दोस्रो, अन्नपूणर् तेस्रो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरै जसो विदेशी पर्वतारोहीहरु नेपाल आउने गरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ वटा स-साना हिमाल ‘टे्रकिङ पिक’ भनी सरकारले अलग्गै खुल्ला गरेको छ । ती ट्रेकिङ पिकको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा लामो समयदेखि नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाएको छ ।

खासमा हालसम्म विश्वमा आधिकारिक ढंगले मान्यता प्राप्त गरेको आठहजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् । यो लेखा विश्वका १४ वटा अग्ला हिम चुचुराहरु कस-कसले र कहिले-कहिले चढे ? ती पर्वतारोहीहरु कुन-कुन देशका थिए ? ती १४ अग्ला हिमाल कहाँ-कहाँ छन् ? छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ । १४ वटै हिम चुचुरा एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यस मध्ये एक तिहाई भू-भाग नेपाल भएर जान्छ भने आठ वटा त (६० प्रतिशत) नेपालमै रहेका छन् । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाई भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि हालसम्मको आठहजार मिटरमध्ये कम उचाईको हिमाल सिसापाङ्मा (उचाई ८,०१३ मिटर भएको) सम्म रहेका छन् ।

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ मिटर) हो भने हो भने, सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चोमोलुङमा चढेका थिए । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम-२ (के-टु) हो । यो हिमालको उचाई ८,६११ मिटर रहेको छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्धय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमालचाहिँ कञ्चनजंघा (सेवालुङसेन्छेलुङ) हो । यो हिमाल नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम राज्य तथा पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लाको सीमामा रहेको छ भने यो हिमालको उचाई ८,५८६ मिटर हो । यो हिमाललाई बेलायतका पर्वतारोहीद्धय जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक चढेका थिए ।

साथै विश्वको चौथो अग्लो हिमालचाहिँ ल्होत्से/चे हो । यसको उचाई ८,५१६ मिटर रहेको छ । यो हिमाललाई सर्व प्रथम आरोहण गर्ने काम सन् १९५६, मे १८ मा भएको थियो भने, स्वीटजरल्यान्डका पर्वतारोहीद्धय फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाई ८,४६३ मिटर रहेको छ भने जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले आरोहण गरेका थिए । त्यस्तै विश्वको छैठौं अग्लो हिमाल चो-ओयु हो । यसको उचाई ८,२०१ मिटर रहेको छ । यो हिमाललाई सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्धय हर्बर्ट टिची र सेप जेक्लर एवम् नेपाली आरोही पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको सातौं अग्लो हिमाल हो -‘धौलागिरी’ । यसको उचाई ८,१६७ मिटर रहेको छ भने, सन् १९६० को, १३ मे मा यो हिमाल आरोहण गरिएको थियो । स्वीटजरल्यान्डका पर्वतारोहीहरु कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर र नेपाली आरोहीद्धय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमालचाहिँ मनास्लु हो भने यो हिमालको उचाई ८,१६३ मिटर रहेको छ । मनास्लु हिमालको प्रथम आरोहणचाहिँ सन् १९५६ मे ९ मा जापानीज पर्वतारोहीहरु तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको नवौं अग्लो हिमाल नांंगा पर्वत हो । ८,१२६ मिटर उचाई रहेको यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक यो हिमाल चढेका थिए ।

साथै विश्वको १० औं अग्लो हिमाल ‘अन्नपूणर्-१/प्रथम’ हो । यो हिमाल नेपालमा रहेको छ भने यसको उचाई ८,०९१ मिटर रहेको छ । स्मरणीय छ, ८,०९१ मिटर अग्लो हिमाल मानव इतिहासमै सर्व प्रथम चढिएको हिमाल पनि हिमाल ‘अन्नपूणर्-१/प्रथम’ नै हो । यो हिमाल फ्रान्सका पर्वतारोहीद्धय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए । एवम् प्रकारले विश्वको ११ औं अग्लो हिमालचाहिँ ‘गासेरब्रुम-१’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यो हिमालको उचाई ८,०८१ मिटर रहेको छ । यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्धय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । त्यस्तै विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक हो यो हिमाल पनि पाकिस्तानमै रहेको छ । यो हिमालको उचाई ८,०५१ मिटर हो । यो हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो वेला अस्ट्रियन पर्वतारोहीहरु फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३ औं अग्लो हिमाल ‘गासेरब्रुम-२’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाई ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले पहिलो पटक सफलतापूर्वक चढेका थिए ।

विश्वको १४ औं आठहजार मिटर अग्लो अन्तिम हिमाल ‘सिसापाङमा’ हो । यो हिमालको उचाई ८,०२७ मिटर रहेको छ भने यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीको जम्बो टोलीले आरोहण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार