इलाम-२ उपनिर्वाचन : एमाले र कांग्रेसबीच मुख्य प्रतिष्पर्धा, दुवैको भोट तान्ने रणनीतिमा रास्वपा र पहिचानवादी


इलाम : प्रतिनिधिसभा सदस्य चयन गर्न आउँदो वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले चुनावी गतिविधि बाक्लो बनाएका छन् । विभिन्न समूह बनाएर घरदैलो, कोणसभा र चुनावी सभाहरु दैनिकजसो गरिरहेका छन् ।

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा एमाले र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

सत्ता गठनबन्धमा मुख्य दल नेकपा (माओवादी केन्द्र) सहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल परिवार दलको समेत समर्थन पाएको एमाले उम्मेद्वार सुहाङ नेम्बाङ र कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले एक अर्कालाई मुख्य प्रतिष्पर्धी ठानेका छन् । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत एमाले र कांग्रेका उम्मेद्वारबीच नै मुख्य प्रतिष्पर्धा भएको थियो ।

एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत पाएर चुनाव जितेका थिए । उता तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत पाएर उपविजेता बनेका थिए । समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार हजार छ सय ६८ मत पाएका थिए भने अन्य दलले एक हजार सात सय मत कटाएनन् ।

अघिल्लो निर्वाचनमा पार्टीले पाएको मतपरिणामाई विश्लेषण गर्ने हो भने एमालेका लागि उपनिर्वाचन जित्न केही सहज देखिछ । तर, पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा पहिचानवादीको साझा उम्मेद्वारका कारण एमालेलाई पनि त्यति सहज भने छैन । तथापि, मुख्य प्रतिष्पर्धा भने एमाले र कांग्रेसबीच नै हुने देखिन्छ ।

एमालेले अघिल्लो निर्वाचनमा प्राप्त मतलाई संरक्षण गरेमात्र पनि सजिलै जित निकाल्न सकिने दावी गर्दै आएको छ । त्यसमा पनि गरी माओवादी, नेकपा र परिवार दलको समर्थन पाएपछि जित पक्का भएको एमालेको दावी छ । ‘हामीले आफ्नो मत संरक्षणलाई पहिलो प्राथमिकता दिएर चुनावी अभियानमा लागिरहेका छौं, त्यतिमात्र गर्न सकेपनि सजिलै जित्न सकिन्छ,’ एमाले उपसचिव रविन्द्र सुवेदीले भने, ‘पार्टीको मतमा माओवादी, नेकपा र परिवार दलको थपिएको छ, हामीले करिब तीन हजार मतान्तरमा चुनाव जित्ने पक्कापक्की छ ।’ उनले जनताले युवा उम्मेद्वार चाहेकाले एमालेले युवा नै उम्मेद्वार बनाएकाले समेत सुहाङको जित निश्चित भएको दावी गरे ।

यो निर्वाचन सबैभन्दा बढी एमालेका लागि अर्थपूणर् हुनेछ । एमाले उम्मेद्वारले जितेमा पार्टी, कम्युनिष्ट विभार तथा नेम्बाङ परिवाको वर्चस्व र विरासत कायमै छ भन्ने अर्थ लाग्नेछ । पराजित भएमा पार्टी निरन्तर कमजोर हुँदै गएको, स्वयम् एमाले समर्थक मतदाताले सुहाङ नेम्बाङको उम्मेद्वारी मन नपराएको, त्यसलाई वंशवाद ठानेको अर्थ लाग्नेछ । एमाले हारेमा त्यसको एउटा कारण पार्टीभित्रकै असन्तुष्टि र अन्तर्घाट हुन सक्दछ । यसले पार्टीको पहिचान विरोधी छवि पुष्टि भएको अर्थ समेत निकाल्न मिल्नेछ ।
एमालेको चुनावी अभियान पार्टी स्थायी कमिटि सदस्य एवम् इलाम इन्चार्ज शिवमाय तुम्बाहाम्फेको कमाण्डमा चलिरहेको छ । एमाले उम्मेद्वार सुहाङलाई जिताउन माओवादी केन्द्र र नेकपाका नेताहरु समेत चुनावी अभियान खटिएका छन् ।

उता कांग्रेसले पनि यो जित्ने रणनीतिका साथ अभियान तीव्र बनाएको छ । अघिल्लो निर्वाचनमा प्राप्त मत कटाउने गरी अघि बढेको दावी गरेका छन् । कांग्रेसभित्रको आन्तिरिक समस्या समाधान भइसकेकाले कांग्रेसको जित पक्का भएको कांग्रेस सचिव निरोज खड्गीले बताए । एमालेसँग एक सय १४ मतले हारेको कांग्रेसले उक्त हारको बदला लिन खोजेको छ ।

‘विगतमा हामीभित्र विभिन्न अन्तरद्वन्द्व र समस्या थियो, जसका कारण निर्वाचनमा पराजित हुनुपरेको तीतो यथार्त थियो, अहिले कांग्रेसमा कुनै समसम्य छैन, कांग्रेस एक भएर निर्वाचनमा होमिएको छ,’ खड्गीले भने, ‘सुवास नेम्बाङजस्ता ‘हेभीवेट’ उम्मेद्वारसँग समेत झिनो अन्तरले पराजित कांग्रेस यसपटकको निर्वाचनमा सानदार विजयी हुनेछ ।’ खड्गीले अहिलेका उम्मेद्वारमध्ये हेभीवेट उम्मेद्वार कांग्रेसका खड्का नै भएकाले पनि जित निश्चित भएको दावी गरे । स्थानीय जनताको सुखदुःखमा भिजेका उम्मेद्वार भएका कारण अन्य पार्टीले समेत खड्कालाई नै मत दिने खड्गीको दावी छ ।

कांग्रेसका लागि चने यो निर्वाचन खासै अर्थपूणर् रहँदैन । किनकि विगत तीन दशकयता पाँच निर्वाचनमा कांग्रेसले एक पटक पनि जितेको छैन । कांग्रेस हार्‍यो भने पुरानै हारको पुनरावृत्ति मात्र हुनेछ, कुनै नयाँ कुरा हुने छैन । तर, कांग्रेसले जित्यो भने थप उपलब्धि हुनेछ ।

कांग्रेसको चुनावी अभियानका कमाण्डर महामन्त्री विश्वप्रकाश शर्मा छन् । शर्मासहित अर्का महामन्त्री गगन थापा, नेता शेखर कोइराला, सहमहामन्त्री भिष्मराज आङदेम्बे, केन्द्रीय सदस्य डिला सङ्ग्रौलालगायत कांग्रेसको चुनावी अभियानमा छन् ।

यो निर्वाचनममा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी ४१ घटकका साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रिसंह थेगिमले प्रमुख दलका एमाले र कांग्रेसको मत तानेर चुनाव जित्ने रणनीतिमा छन् उनीहरुको साङ्गठानिक जनआधार नभएपनि एमाले र कांग्रेसको मत तानेर नै चुनाव जित्ने दावी गर्दै आएका छन् ।

रास्वपाले मुख्य दलको भोट आफूतिर तान्न सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि डिबी अर्याल, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसहित अन्य सांसदहरु डा. तोसिमा कार्की, अशोक चौधरी, निशा डाँगीलगायत नेताहरु चुनावी अभियानमा मतदाताको घरदैलोमा छन् । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ समेत दुई दिन घरदैलो गरेर फर्किइन् ।

रास्वपाले ठ्याक्कै कति मत ल्याउने भनेर अहिले नै भन्न नसक्ने भएपनि नतिजा आफ्नो पक्षमा आउने दावी गर्दै आएको छ । रास्वपाका उम्मेद्वार मिलन लिम्बूले इलामेली मतदाता घण्टीमा भोट दिन आतुर रहेको भएको बताए । ‘हामीले निर्वाचन क्षेत्रका सबै टोलमा पुगेका छौं, अहिले यति नै मत आउँछ भनेर भन्ने अवस्था चाँही छैन, तरपनि एमाले, कांग्रेस, माओवादीबाट समेत हामीलाई मत आउने विश्वास छ ।’

रास्वपाले जितेमा ‘नयाँ-पुरानो’ विभाजनको भाष्यले काम गरेको मान्नुपर्नेछ । पूराना दलको वर्चस्व रहेको क्षेत्रमा नयाँ दलको उदय भएको मानिनेछ । त्यतिमात्र होइन, पुरा दललाई आगामी दिनमा समेत चुनौती थपिनेछ । हार्‍यो भने पनि खासै अर्थ रहनेछैन, किनकि पहाडी क्षेत्रमा रास्वपाको सङ्गठन शुन्यजस्तै छ ।

उता पहिचानवादी ४१ घटकको समर्थन पाएको प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका तर्फबाट साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिं लिम्बू (थेगिम) ले पनि चुनावी अभियान तीव्र बनाएका छन् । ‘मुढा’ चुनाव चिन्ह पाएका थेगिमले आफ्नो प्रमुख मुद्धा नै सङ्घीयता, पहिचान, समान अधिकार, शान्ति र दिगो विकास रहेकाले एमाले, कांग्रेस माओवादीका पहिचानवादीहरुको मत तानेर चुनाव जित्ने रणनीतिका साथ अघि बढेका छन् ।

‘हाम्रो मुख्य मुद्धा नै सङ्घीयता, पहिचान, समान अधिकार, शान्ति र दिगो विकास हो । एमाले, कांग्रेस र माओवादीभित्रका पहिचानवादीहरुले समेत हामीलाई मत दिनुहुन्छ । त्यसैले हामी चुनाव जित्नेछौं,’ घटकमध्येका एक किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनलले भने, ‘माहोल हाम्रो पक्षमा बढेर गएको छ, यस पटक इलामले हामीलाई जिताएर नयाँ इतिहास रच्नेछ ।’

यो उपनिर्वाचन पहिचानवादीका लागि समेत प्रतिष्ठाको विषय बन्नेछ । थेगिमले जितेमा पूर्वमा चलिरहेको पहिचानको आन्दोलन अनुमोदित हुनेछ । कोशी प्रदेश पुनः नामाङ्कनको मुद्ध अझ बलियो हुनेछ । थेगिम पराजित भए वा सम्मानजनक मत हासिल गर्न नसकेमा पहिचान र कोशी प्रदेश पुनः नामाङ्नको मुद्धा कमजोर हुनेछ । थेगिमलाई सघाउन धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङसहित अधिवक्ता स्वागत नेपाल, लेखक युग पाठकसहित घटका दल र संघसंस्थाका नेताहरु चुनावी घरदैलोमा छन् ।

सो क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् । नेकपा एकीकृत समाजवालीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टिका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनीबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली समेत चुनावी प्रचारमा छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल र उहाँहरुको टोलि अहिले मत माग्दै गाउँगाउँमा पुगिरहेका छन् ।

इलाम-२ मा चुलाचुली गाउँपालिकाका सबै ६ वटा वडा, माङसेबुङ गाउँपालिकाका सबै ६ वटा वडा, फाकफोकथुम गाउँपालिकाका सबै ७ वटा वडा, देउमाई नगरपालिकाका सबै ९ वटा वडा, इलाम नगरपालिकाका ११ वटा वडा (१० बाहेक) र माई नगरपपालिकाका ३ वटा वडा (६, ७ र ८) वटा गरी ४२ वटा वडा पर्दछन् ।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार उपनिर्वाचनमा इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । जसमध्ये ५९ हजार १८ जना पुरुष मतदाता, ५६ हजार आठ सय ६९ महिला मतदाता र तेस्रो लिङ्गी मतदाता रहेका छन् । उपनिर्वाचनका लागि ७९ मतदानस्थालमा एक सय ४९ मतदान केन्द्र तोकिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार