इलाम : हुन त इलाम २ नेकपा एमालेकै उपाध्यक्ष सुवास नेम्बाङले जितेको क्षेत्र हो।
त्यस आधारमा उपचुनावमा एमालेले जितेर विरासत मात्र जोगाएको हो।
त्यसमाथि १७ महिनाअघि एक्लै लडेको एमालेलाई वैशाख १५ गते भएको उपचुनावमा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र परिवार दलको समर्थन थियो।
गठबन्धन भएपछि चुनाव जित्ने सम्भावना प्रष्ट देखिँदा खासै दबाब नहुनुपर्ने हो।
तर, त्यसो भएन। इलाम २ मा एमालेले चुनाव जित्न निकै मिहिनत गर्यो।
सिंगो पार्टीपंक्ति सो क्षेत्रमा परिचालन गर्यो। कुनै दललाई पनि नमीठो लाग्ने कडा भाषण गरेन। अध्यक्ष केपी शर्मा ओलीले समेत निकै सम्हालिएर नरम भाषण गरे।
यिनै रणनीतिक प्रयासले अढाई दशकदेखि सुवास नेम्बाङले निरन्तर जितेको सो क्षेत्रमा उनकै छोरा सुहाङ नेम्बाङ पनि सफल भए।
चुनाव जितिन्छ भन्नेमा स्वयं एमालेकै नेताहरु निश्चिन्त थिएनन्। त्यही भएर अन्तिम परिणाम नआउन्जेल उनीहरुले इलाम बजार छोडेनन्।
वैशाख १८ गते बिहान ५ नबज्दै एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएको घोषणा भयो।
तर यो परिणाम ‘सरप्राइज’ दिने खालको भने थिएन। एमालेकै पक्षमा स्वाभाविक नतिजा आयो।
यो उपचुनाव धेरै कोणबाट चासो र चर्चामा रह्यो।
त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी प्रमुख डा. मृगेन्द्रबहादुर कार्कीका अनुसार, यसपटकको उपचुनाव दलहरुले आफ्नो भविष्यसँग जोडिएको अर्थमा लिए।
त्यो भनेको ०८४ को चुनावी परिणामको आकलन हो।
कार्कीका अनुसार, यदि नतिजा फरक आएको भए त्यसले राष्ट्रिय राजनीतिको कोर्सलाई अन्यत्रै लैजान सक्ने सम्भावना थियो। त्यसैले विशेष गरी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले सबै शक्ति चुनाव क्षेत्रमा लगाए।
इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्बाङले बुवा सुवास नेम्बाङको २०५६ सालदेखिको विरासत जोगाएका छन्।
बझाङमा कांग्रेसबाट एमालेले प्रदेश सभा सदस्यको सिट खोस्न सफलता पाएको छ।
कार्कीका अनुसार उपचुनावले मुख्य चार सन्देश छोडेको छ र यसलाई नजरअन्दाज गरे ०८४ को चुनावी परिणाम मुख्य शक्तिहरुका लागि कठिन बन्न सक्नेछ।
एक, राई र लिम्बुको पहिचानको मुद्दा सम्बोधन।
इलाम २ मा यसपटक पहिचान पक्षधरले उठाएका उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुले ११ हजार बढी मत ल्याए।
पहिलोपटक चुनाव लडेका उनी स्वतन्त्र उम्मेदवार थिए।
बिनापार्टी उनले पाएको मतको विश्लेषण गर्न ढिला गर्न नहुने बताउँछन् कार्की।
‘पूर्वका केही जिल्लामा किरात जनसंख्या धेरै छ। इलाममा पहिचानको पक्षमा आएको ११ हजार मतलाई बलियो शक्ति मान्नैपर्छ,’ कार्कीले नेपालखबरसँग भने, ‘आदिवासी जनजातिभित्र पनि राई र लिम्बुको पहिचान र इतिहास फरक रहेछ र त्यो पहिचानलाई फरक किसिमबाट डिल गर्नुपर्छ भन्ने एउटा सन्देश यो चुनावले दियो।’
दुई, प्रदेश नामकरणमा मिलनबिन्दुको खोजी।
कोसी प्रदेशको नामाकरणका विषयमा अब नसोच्ने हो भने पूर्वको राजनीति अर्कै बन्ने बलियो सन्देश दिएको कार्कीको भनाइ छ।
‘मतदाताले राई लिम्बुहरुको कुरा सोह्रै टक्का सही मानेनन्, किनभने इलाम २ मा राजनीतिक दलकै विचारले चुनाव जित्यो,’ कार्की भन्छन्, ‘तर, एकातिर ११ हजार मत पनि आयो, अर्कातिर २७ हजार बढी मत ल्याएर चुनावचाहिँ एमालेले जित्यो। त्यसैले कोसी र किरातको मुद्दा सम्बोधनमा ढिला गर्नुहुँदैन।’
तीन, पुराना दलमै आस।
पुराना राजनीतिक दलप्रति नै आम मतदाताको अझै आस रहेको तेस्रो सन्देश उपचुनावले देखाएको कार्कीले बताए।
‘यसको मतलब कांग्रेससँग जोडिएको मानिस कांग्रेससँगै र एमालेसँग जोडिएको एमालेसँगै रहेका छन् भन्ने हो।’
चार, नयाँको भर छैन।
नयाँ भनिएका शक्तिहरुप्रति आम मतदाताले भरोसा नगरेको स्पष्ट संकेत यस निर्वाचनले दिएको छ। कार्कीकै भनाइमा, सामाजिक सञ्जालमा हल्ला गरेर मात्र सबैतिर चुनाव जित्न नसकिने रहेछ।
यद्यपि, एमाले र कांग्रेसको विकल्पमा जुनसुकै बेला नयाँ दल वा व्यक्ति उभिन सक्ने सम्भावना भने चुनावले देखाएको छ।
कार्की भन्छन्, ‘राजनीतिक दललाई के सन्देश दियो भने अब तिमीहरुले हेलचेक्र्याइँ ग¥यौ भने भविष्यमा तिमीहरुको वैकल्पिक अरु छन् भन्ने सन्देश दियो।’
सामान्य होइन रास्वपाको मत
इलाम २ मा रास्वपाले पाएको मतलाई पनि सामान्य रुपमा लिन नहुने कार्कीको विश्लेषण छ।
उनका बुझाइमा, स्वतन्त्र पार्टीले नै हिजोभन्दा आज बढाएको मत सामान्य होइन। पहाडको चरित्र फरक हुन्छ। अहिले चुनाव भएको ठाउँ अग्र्यानिक पहाड हो। बझाङ र इलाम पूरै ग्रामीण भेग पनि हो।
ग्रामीण र सहरी मतदाताको मनोविज्ञान भिन्न खालको हुने कुरालाई दलहरुले बुझनुपर्ने उनी बताउँछन्।
‘पहाडको मानिस हत्तपत्त दल फेर्न चाहँदैनन्। एकपटक पार्टीमा लागेपछि निरन्तर लाग्छन्,’ उनले भने, ‘मतदाता र समाजको चरित्रलाई हेर्दा यही उपचुनावलाई हेरेर रास्वपा र राप्रपाको भविष्य विश्लेषण गर्न मिल्दैन। उनीहरु केही पनि होइनन्, शक्ति नै होइनन् भनेर अवमूल्यन गरियो भने अर्काे गल्ती हुन्छ।’
उपचुनावले नेपालमा कांग्रेस र एमाले नै मुख्य राजनीतिक शक्ति हुन् भन्ने पनि देखाएको छ।
राजनीतिक विश्लेषक एवं लेखक राजेन्द्र महर्जन भन्छन्, ‘गठबन्धन र पुराना पार्टीको पकड अझै बलियो छ भन्ने उपनिर्वाचनले देखायो। ‘नयाँ पार्टी र उम्मेदवारलाई एजेण्डा र व्यक्ति स्थापित गर्न गाह्रो छ।’
पुराना दलको दबदबा हुँदाहुँदै पूर्वमा पहिचानको आवाजलाई मतदाताले स्वीकार गरेको महर्जनको बुझाइ छ।
‘इलाममा पहिचान पक्षधरले आफ्नै उम्मेदवार उठाएर गरेको जनमत संग्रह सफल भयो,’ उनले थपे, ‘कांग्रेस–एमालेको तुलनामा कम मत आए पनि संघर्ष र पहिचानको मुद्दा भने स्थापित भयो।’
सबै दललाई चेतावनी
ठूला दलले धेरै मत पाए पनि यसअघि आफैले पाएको मतभन्दा त्यो कम हो। कांग्रेस र एमाले दुवैको मत २०७९ को भन्दा घटेको छ।
अब टिकट वितरणमा ख्याल नगर्ने र जनताको मनोविज्ञान हेक्का नराख्ने हो भने चुनावी परिणाम ठूलो दललाई झड्का दिने गरी आउने कार्कीको प्रक्षेपण छ।
‘युवा मात्र होइन। निष्कलंक व्यक्ति हुनुपर्छ र जनताले खोजेकै मानिस हुनुपर्छ,’ सिनासका कार्यकारी निर्देशक कार्की भन्छन्, ‘हिजोको जस्तो केन्द्रबाट टिकट बाँडेर फलानोलाई जिताउनु भनेर जनताले मान्नेवाला छैनन्।’
राप्रपाको खोसियो एजेन्डा
राप्रपाले राजसंस्थाको वकालत गर्छ। तर, उसका धेरै मुद्दा मूलधारका ठूला दलले नै खोसिसकेका छन्।
‘संघीयता खारेजी र हिन्दु धर्मसापेक्ष संविधानको माग त ठूला दलकै नेताले गरिरहेका छन् त,’ महर्जन भन्छन्, ‘समावेशी नीतिविरुद्ध लाग्ने नेता त्यहीँ भएपछि राप्रपा वा अरुलाई स्पेस बनाउन गाह्रो छ।’
–सागर न्यौपाने/नेपाल खबर