सन्दकपुरमा रेडपाण्डाको वासस्थान क्षेत्रमै वन फडानी, संरक्षणमाथि प्रश्न

इलाम : इलामको सन्दकपुर गाउँपालिका–४ स्थित पद्म सम्भव सामुदायिक वन क्षेत्रमा रुख कटान गरिएको विषयलाई लिएर स्थानीयस्तरमा विरोध सुरु भएको छ । पर्यटकीय क्षेत्र कालपोखरीसँग जोडिएको चन्दने क्षेत्रमा रेन-सो मेसिन प्रयोग गरेर रुख कटान गरिएको भन्दै स्थानीय सरोकारवालाहरुले जैविक विविधता र पर्यावरणमाथि गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

स्थानीयका सरोकारवालाहरुका अनुसार कटान गरिएको क्षेत्र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको महत्वपूर्ण वासस्थान हो । त्यही क्षेत्र राष्ट्रिय फूल लालीगुराँसको संवेदनशील क्षेत्र तथा तल्लो बस्तीका लागि पानीको मुहानको प्रमुख श्रोत समेत मानिन्छ ।

रुख कटान भएपछि स्थानीय बासिन्दाले त्यसको विरोध गर्दै रेडपाण्डा संरक्षणका नाममा वर्षेनि कार्यक्रम गर्ने निकायहरूले नै संवेदनशील क्षेत्रमा वन फडानीलाई बेवास्ता गरेको आरोप लगाएका छन् । रेडपाण्डा बस्ने जंगल, गुराँसको क्षेत्र र पानीको मुहानको श्रोत भएको ठाउँमा अहिलेको समयमा भएको रुख कटानले जैविक विविधतामाथि प्रत्यक्ष असर पर्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

सन्दकपुर गाउँपालिकाले रेडपाण्डा संरक्षणलाई प्राथमिकता दिँदै हरेक वर्ष ‘रेडपाण्डा महोत्सव’ सञ्चालन गर्दै आएको छ । महोत्सवमा डिभिजन वन कार्यालय, रेडपाण्डा नेटवर्कलगायत संस्थाको सहकार्य रहने गरे पनि अहिले त्यही संरक्षण क्षेत्रमै रुख कटान हुँदा सरोकारवालाले प्रश्न उठाएका छन् ।

रेडपाण्डा नेटवर्क अन्तर्गत समुदायमा आधारित रेडपाण्डा संरक्षण परियोजनाका कार्यक्रम संयोजक राम रिमाल अहिलेको समय वन कटानका लागि उपयुक्त नभएको बताउँछन् । ‘पर्यावरणीय दृष्टिले यतिबेला त्यो क्षेत्रमा रुख कटान गर्नु उपयुक्त हुँदैन । जैविक हिसाबले पनि यो राम्रो समय होइन,’ उनले भने, ‘ गुराँसको लागि समेत संवेदनशील क्षेत्र हो, पानीको मुहानको स्रोत पनि त्यही हो ।’

उच्च पहाडी संस्था नेपालका प्रबन्धक धनबहादुर खाम्दाकले रेडपाण्डाको जीवनचक्रसँग जंगल प्रत्यक्ष जोडिएको बताउँदै यो समयमा रुख कटान गरिनु दु:खद रहेको बताए । ‘रेडपाण्डाको महत्वपूर्ण वासस्थान भनेको निगालो र मालिङ्गो भएको जंगल नै हो । जहाँ कटान भइरहेको छ, त्यो ९३ प्रतिशत रेडपाण्डाको बासस्थान क्षेत्र हो । ठूला र बूढा रुखको टोड्कामा बच्चा जन्माउने, हुर्काउने र शत्रुबाट बच्न लुक्ने गर्छ । अहिले रुखमा नयाँ पालुवा आउने र चराचुरुङ्गीले फूल पारेर बच्चा कोरल्ने समय हो,’ खाम्दाकले भने, ‘त्यो ठाउँ पानीको स्रोत भएको क्षेत्र पनि हो । त्यसैले यो गलत कार्य भएको छ ।’

यस विषयमा सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरीबहादुर लुङ्गेलीले गाउँपालिकाले घटनालाई गम्भीर रूपमा लिएको बताए । ‘रुख कटान भइरहेको जानकारी आएको छ । अहिले झाडी सफा गर्ने सिजन होइन । रेडपाण्डाको वासस्थान, गुराँसको क्षेत्र र पानीको मुहान भएकाले विपद्, वन तथा वातावरण समितिलाई अध्ययन गर्न भनेका छौं,’ उनले भने, ‘हामीले चासो राखेका छौं ।’

यता डिभिजन वन कार्यालय इलामले भने कटान कानुनी प्रक्रियाअनुसार भएको दाबी गरेको छ । डिभजन वन अधिकृत वीरेन्द्र शाहले कार्ययोजनाअनुसार सामुदायिक वनलाई कटान आदेश दिइएको बताए । ‘सामुदायिक वन उपभोक्ता समूहलाई संरक्षण, संवर्द्धन, व्यवस्थापन र सदुपयोगको अधिकार कानुनले दिएको हुन्छ । सोही बमोजिम यसपाली कार्यायोजनामा उल्लेख भएअनुसार कटान आदेश दिइएको छ,’ उनले भने, ‘वन विज्ञानको सूत्रअनुसार वार्षिक वृद्धिको ७५ प्रतिशत मात्रै निकाल्ने व्यवस्था छ । सोही बमोजिम नियमित कटान आदेशअनुसार काम भइरहेको हो ।’

उनले सामुदायिक वन सम्बन्धी कानुनमा असोजदेखि वैशाख मसान्तसम्म कटान गर्न पाइने व्यवस्था भएकाले सोही अनुसार आदेश दिइएको बताए ।

वन अधिकृत भुवनमणि शर्माका अनुसार गत चैत १९ गते पद्म सम्भव सामुदायिक वनलाई एक हजार २५६.५१ क्युविक फिट काठ कटानको अनुमति दिइएको थियो । अनुमतिअनुसार बान्टे ६ थान ३६७.९२ क्युविक फिट, खराने ८ थान ४८२.३३ क्युविक फिट, फलाँट ३ थान २२९.३४ क्युविक फिट र खोल्मे ४ थान १७६.९२ क्युविक फिट रुख कटान गर्न स्वीकृति दिइएको उनले जानकारी दिए ।

पद्म सम्भव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पेम्बा शेर्पाले सामुदायिक वनको वार्षिक कार्ययोजनाअनुसार नै रुख काटिएको दाबी गरे । ‘सामुदायिक वन उपभोक्ता समूहको समाजघर निर्माणका लागि काठ आवश्यक परेकाले कानुनी प्रक्रिया पूरा गरेर नै रुख काटिएको हो ।’ उनले भने, ‘कटान भएको क्षेत्रमा पुनः वृक्षारोपण गर्नेछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार