
पाँचथरः फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम नयाँ प्रशासकीय भवनबाट प्रस्तुत गर्ने तयारी गरेको छ। गाउँपालिका-५ फाक्तेपस्थित फुङ्लेङटारमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय भवन सञ्चालनको अन्तिम चरणमा पुगेसँगै कार्यालय स्थानान्तरणको काम धमाधम भइरहेको छ।गाउँपालिकाका अनुसार असार १० गते हुने गाउँसभाको अधिवेशन निर्धारित समयमै सम्पन्न गरिनेछ। नयाँ भवनबाट नै बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेको छ। हालसम्म घुर्विसे पञ्चमी माध्यमिक विद्यालयको भवनमा भाडामा सञ्चालन हुँदै आएको गाउँपालिकाको प्रशासकीय कार्यालय अब स्थायी रूपमा आफ्नै भवनमा सर्ने भएको हो।
फुङ्लेङटारमा निर्माण सम्पन्न भएको आधुनिक सुविधासम्पन्न भवनमा आवश्यक फर्निचर व्यवस्थापन, प्रविधि जडान तथा कार्यालय सामग्री सार्ने काम अन्तिम चरणमा पुगेको छ। भवन सञ्चालनमा आएपछि गाउँपालिकाका सबै प्रशासनिक सेवा एकीकृत रूपमा प्रवाह हुने, सेवाग्राहीलाई सहज पहुँच पुग्ने तथा कार्यालय व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।नयाँ सेवा केन्द्र हालको अस्थायी कार्यालय रहेको घुर्विसे पञ्चमी बजार क्षेत्रबाट करिब ३.५ किलोमिटर पश्चिम दक्षिणतर्फ, जनकल्याण माध्यमिक विद्यालयभन्दा माथिल्लो क्षेत्रमा अवस्थित छ। सेवा केन्द्र स्थानान्तरणपछि बजारको आर्थिक गतिविधिमा असर पर्न सक्ने चिन्ता केही स्थानीयले व्यक्त गरे पनि नयाँ भवन आसपास पर्याप्त बजार संरचना विकास भइनसकेकाले तत्काल ठूलो प्रभाव नपर्ने स्थानीयको बुझाइ छ।
यद्यपि वडा नम्बर ५ को कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर, पालिका स्तरीय पाँच शैयाको अस्पताल तथा प्रहरी चौकी फाक्तेप भने हालकै स्थान घुर्बिसे पञ्चमीबाट सञ्चालन हुने जनाइएको छ।संघीय सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण गरिएको साढे दुई तले भवन आधुनिक तथा समावेशी सुविधासहित तयार गरिएको छ। भवनमा अपाङ्गमैत्री पहुँच, स्तनपान कक्ष, प्रतीक्षालय, शुद्ध खानेपानी, व्यवस्थित शौचालय, पार्किङ क्षेत्र, बगैँचा तथा अन्य आवश्यक संरचनाहरू समावेश गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोका अनुसार नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि फुङ्लेङटार क्षेत्र पालिकाको प्रशासनिक केन्द्रका रूपमा स्थापित हुनेछ। गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले नयाँ भवनले प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय पहिचान र गौरवलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरे। स्थानीयवासीले उपलब्ध गराएको करिब ४५ रोपनी जग्गामध्ये ९ रोपनी क्षेत्रफलमा मुख्य भवन निर्माण गरिएको हो। अब नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै फाल्गुनन्द गाउँपालिकाले आफ्नै स्थायी संरचनाबाट नागरिकलाई सेवा दिने नयाँ अध्याय सुरु हुने पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ बताउँछन् ।



















































