छारेरोगका कारण घाइते इलामका जितबहादुर लिम्बुको उपचारका लागि सहयोगको अपिल

  युद्धबहादुर बोहोरा
14 Shares

इलामः इलाम नगरपालिका-४ बरबोटेका जितबहादुर लिम्बु (जिविन्द्र) को उपचारका लागि आर्थिक सहयोग जुटाइदिन परिवारले अपिल गरेको छ। छारे (मृगी) रोगका कारण बेहोस भई लड्दा टाउकोमा गम्भीर चोट लागेका लिम्बुको हालसम्म दुई पटक शल्यक्रिया भइसकेको छ भने उपचारमा करिब १० लाख रुपैयाँ खर्च हुने अवस्था रहेको परिवारले जनाएको छ।

इलाम नगरपालिका-४ वडा कार्यालयले आर्थिक सहयोगका लागि सिफारिस पत्र जारी गर्दै स्थानीय तथा देश-विदेशमा रहेका सहयोगी मनहरूलाई सहयोग गरिदिन अनुरोध गरेको छ। वडा अध्यक्ष नुतनदेव दुलालद्वारा हस्ताक्षरित सिफारिस पत्रअनुसार मानविर लिम्बुका नाति तथा अमृतमाया लिम्बुका छोरा ३४ वर्षीय जितबहादुर लिम्बु गत २०८२ पुस ११ गते छारे (मृगी) रोगका कारण बेहोस भई लडेका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घटनापछि उनलाई तत्काल इलाम अस्पताल पुर्‍याइएको र त्यसको भोलिपल्टदेखि झापाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको परिवारले जनाएको छ। अस्पतालमा एक महिना उपचार गराई पहिलो शल्यक्रिया सम्पन्न गरिएको थियो। त्यसपछि थप उपचार तथा निगरानीका लागि झापामै आफन्तको घरमा करिब दुई महिना बसेर उनी घर फर्किएका थिए। तर चिकित्सकको सल्लाहअनुसार टाउकोमा रगत जमेको समस्या देखिएपछि गत जेठ २५ गते दोस्रो पटक शल्यक्रिया गर्नुपरेको श्रीमती बिमला चेम्जोङले बताइन्। उपचारका क्रममा ठूलो आर्थिक भार थपिँदै गएको र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगको याचना गर्नुपरेको उनले बताइन्।

उनका अनुसार हालसम्म इलाम नगरपालिका र वडा कार्यालयबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। त्यसैगरी छिमेकी, आफन्त, दाजुभाइ तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। इलाम-पाँचथर सिमानाका घुर्विसे पञ्चमी बजार क्षेत्रका आफन्त र विभिन्न व्यक्तिहरूबाट २७ हजार ९४५ रुपैयाँ संकलन भएको छ। हालसम्म विभिन्न स्रोतबाट करिब १ लाख ६० हजार रुपैयाँ बराबरको सहयोग जुटेको परिवारले जनाएको छ।

आर्थिक अवस्था कम्जोर भएका लिम्बुको उपचारका लागि अझै ठूलो रकम आवश्यक रहेकाले इच्छुक सहयोगदाताहरूले ९८०६०८८३३२ नम्बरमा सम्पर्क गरी क्यूआर कोडमार्फत आर्थिक सहयोग गर्न अपिल गर्दै परिवारले जितबहादुर लिम्बुको जीवनरक्षाका लागि सहयोगी मनहरूसँग साथ र सहयोगको अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार