इलामः अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक व्यवसायमार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले फाकफोकथुम -१ ठिंगेपुरमा दुईदिने मौरीपालन तालिम आइतबार सम्पन्न भएको छ। ‘अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम’ अन्तर्गत वडा नं. १ को बजेटबाट सञ्चालित तालिम जेठ २३ र २४ गते वडा कार्यालय भवनमा आयोजना गरिएको थियो। तालिममा वडा नं. १ का २१ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागी मध्येका उत्कृष्टलाई मौरीको घार समेत वितरण गरिएको छ ।तालिममा प्रशिक्षक बसन्त भट्टराईले मौरीपालनका आधुनिक प्रविधि, मौरीको व्यवस्थापन, घारको हेरचाह, रोग नियन्त्रण तथा गुणस्तरीय मह उत्पादन सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरेका थिए। सहभागीहरूलाई घरमै बसेर सञ्चालन गर्न सकिने र कम लगानीमा राम्रो आम्दानी लिन सकिने व्यवसायका रूपमा मौरीपालनको सम्भावना बारे समेत जानकारी गराइएको थियो।
तालिमपश्चात् सहभागीहरूलाई व्यावसायिक रूपमा मौरीपालन सुरु गर्न सहज होस् भन्ने उद्देश्यले एक-एक वटा मौरीको घार वितरण गरिएको आयोजकले जनाएको छ। घार वितरणसँगै सिकेका सीपलाई व्यवहारमा उतारेर आयआर्जन बढाउन सहभागीहरूलाई आग्रह गरिएको थियो।अपाङ्गता स्वावलम्बन समूह फाकफोकथुम गाउँपालिका-१ को आयोजनामा सम्पन्न कार्यक्रमलाई वडा कार्यालयले सहयोग गरेको थियो। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा टेवा पुर्याउनुका साथै उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास लिइएको संस्थाकी सचिव हर्कमाया तामाङले बताइन् ।
संस्थाका अध्यक्ष गणेशबहादुर खड्कको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन फाकफोकथुम गाउँपालिका-१ नम्बर वडाध्यक्ष कर्णबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र अवसरसँग जोडेर आत्मनिर्भर बनाउनु स्थानीय सरकारको प्राथमिकतामा रहेको बताए। उनले मौरीपालन व्यवसायलाई निरन्तरता दिन र उत्पादित महको बजारीकरणमा आवश्यक समन्वय तथा सहयोग गर्न वडा कार्यालय प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रमबारे जानकारी दिँदै संस्थाकी सचिव तामाङले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी सहभागीहरूले आयआर्जनको नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।स्थानीय तह र अपाङ्गता स्वावलम्बन समूहको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमले सहभागीहरूमा उत्साह थपेको छ। सहभागीहरूले तालिम तथा घार वितरणले आफूहरूलाई आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको बताएका छन्।


















































