सडक समस्या समाधान गर्न रास्वपा इलामले मन्त्रीलाई दियो ध्यानाकर्षण पत्र !

  नयाँ बुलन्द
903 Shares

इलाम : मेची क्षेत्रका महत्वपूर्ण राजमार्ग सहित अन्य दुई सडक खण्डको दयनीय अवस्थाप्रति ध्यानाकर्षण गराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला समितिले तत्काल समाधानको माग गरेको छ।

पार्टीका जिल्ला सभापति दिनेश महतको नेतृत्वले भौतिक विकास मन्त्रालयलाई बुझाइएको पत्रमार्फत मेची राजमार्गको राजदुवाली खण्ड, सिमलगोलाइ–तिलकेनी र भञ्ज्याङ–बेलासे सडकको समस्या यथाशीघ्र समाधान गर्न आग्रह गरिएको हो । पाटिका केन्द्रिय सदस्य मिलन लिम्बुले आज मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन ।

पत्रमा सिमलगोलाइ–तिलकेनी सडक अन्तर्गत पर्ने जोगमाई खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको उल्लेख गरिएको छ। सडक अवरुद्ध हुँदा स्थानीयवासीले आवागमनमा ठूलो सास्ती खेप्नुपरेको र दैनिक जनजीवन प्रभावित बनेको जनाइएको छ।

त्यसैगरी, भञ्ज्याङ–बेलासे सडक कालोपत्रे निर्माण र सोही सडक अन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माणको काम पटक–पटकको प्रतिबद्धताका बाबजुद अघि नबढेकोप्रति पनि रास्वपाले गम्भीर ध्यानाकर्षण गराएको छ। यसले स्थानीय नागरिकको आवागमन, व्यापारिक गतिविधि तथा सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको उल्लेख गरिएको छ।

रास्वपाले यी तिनै सडक इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको आवागमन, कृषि, पर्यटन र आपतकालीन सेवासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण पूर्वाधार भएको भन्दै तत्काल समाधान गर्न माग गरेको हो।

रास्वपाका प्रमुख मागहरू

जोगमाई खोलामा तत्काल बेलिब्रिज निर्माण गरी सिमलगोलाइ–तिलकेनी सडक सञ्चालनमा ल्याउने तथा स्थायी पुल निर्माणका लागि बजेट सुनिश्चित गर्ने

पुवाखोलामा बेलिब्रिज जडान गरी भञ्ज्याङ–बेलासे सडक तत्काल सञ्चालनमा ल्याउने

दुवै सडकको स्थायी निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखी ठेक्का प्रक्रिया र निर्माण कार्यलाई तीव्रता दिने

आगामी वर्षायाममा सडक अवरुद्ध नहुने गरी दिगो तथा सुरक्षित संरचना निर्माण गर्ने

वैकल्पिक मार्गका रूपमा सञ्चालनमा रहेको गाग्रे–भञ्ज्याङ–जितपुर हुँदै बेलासे सडकलाई कात्रो तथा स्तरोन्नति गर्ने

पत्रमा मन्त्रीस्तरबाट स्थलगत अनुगमन तथा निर्देशन भइसके पनि प्रभावकारी कार्यान्वयन नहुँदा नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गर्दै अब ढिलाइ नगरी ठोस कदम चाल्न जोडदार माग गरिएको छ।

रास्वपा इलामले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता पूर्वाधारका विषयमा ढिलाइ अस्वीकार्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार