
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ ले नागरिकलाई सहज, छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न सुधारात्मक तथा प्रविधिमैत्री व्यवस्था लागू गरेको छ ।
वडाले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर विभेदरहित सेवा प्रवाहलाई प्राथमिकता दिएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई ‘पहिले आउनेलाई पहिले सेवा’ भन्ने सिद्धान्तअनुसार सेवा प्रदान गरिँदै आएको छ । यसले सेवाप्रवाहमा पारदर्शिता र निष्पक्षता कायम गर्न सहयोग पुगेको वडा अध्यक्ष भूपाल योङहाङको भनाइ छ ।
वडामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम पूर्ण रूपमा कम्प्युटरमा आधारित अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेको छ । यसबाट जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेदलगायतका घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी सेवाहरू छिटो र व्यवस्थित रूपमा उपलब्ध हुन थालेका छ न्।
सेवाग्राहीलाई सेवा लिन आवश्यक पर्ने कागजातका फोटोकपी तथा योजनासँग सम्बन्धित आवश्यक कागजातको प्रतिलिपि वडा कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको वडा सचिव हिमाल खनालले बताए । यसले नागरिकलाई अतिरिक्त खर्च र समय बचत गर्न सहयोग पुगेको उनको भनाइ छ ।
त्यसैगरी इलाम प्रशासन कार्यालय, मङ्गलबारे वा जिल्ला सदरमुकाम इलाममा आवश्यक पर्ने प्रमाणित कागजातको आवश्यकता परेका सेवाग्राहीका लागि वडाले विद्युतीय मेल (इमेल) मार्फत सम्बन्धित कागजात पठाउने व्यवस्था गरेको छ । यसले सेवाग्राहीलाई पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता हटाउँदै सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र सरल बनाएको छ ।
विकास निर्माणका योजनामा पारदर्शिता कायम गर्न उपभोक्ता समिति गठन प्रक्रिया पनि व्यवस्थित बनाइएको छ । वडा समितिको निर्णयका आधारमा समिति गठनको मिति, समय र स्थान कम्तीमा पाँच दिनअघि नै कार्यालय तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गरेर मात्रै उपभोक्ता समिति गठन गरिने व्यवस्था लागू गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि प्रविधिमैत्री बनाइएको छ । बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाइएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई सहज भएको छ ।
विकास आयोजनाको गुणस्तर सुनिश्चित गर्न प्रत्येक योजनाको प्रत्यक्ष अनुगमन प्राविधिक र जनप्रतिनिधिबाट गरिँदै आएको छ । पाँच लाख रुपैयाँभन्दा माथिका योजनाको हकमा गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा रहेको अनुगमन समितिबाट अनिवार्य स्थलगत अनुगमन गरेपछि मात्रै भुक्तानीका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ। यसबाट योजनाको प्रभावकारिता, गुणस्तर र पारदर्शितामा सुधार आएको विश्वास गरिएको छ ।
वडाले बेलाबेलामा गाउँगाउँमा पुगेर घुम्ती शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमार्फत व्यक्तिगत घटना दर्ताका लागि सूचना सङ्कलन, स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा पशु स्वास्थ्य सेवा पनि उपलब्ध गराइँदै आएको छ ।
पशु स्वास्थ्यतर्फ खोरेत, पि.पि.आर. तथा रेबिजजस्ता विभिन्न संक्रामक रोगविरुद्ध नियमित रूपमा खोप अभियान सञ्चालन भइरहेको छ । यसले पशुधन संरक्षण तथा किसानको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुगेको वडाको विश्वास छ ।
राजस्व संकलनलाई पनि डिजिटल प्रणालीमा आबद्ध गरिएको छ । नगदी रसिद तथा मालपोत रसिद अनलाइन प्रणालीमार्फत जारी गरिने व्यवस्था लागू भएपछि राजस्व प्रशासन थप पारदर्शी र व्यवस्थित बनेको छ ।
यसका साथै वडाले समयसमयमा विभिन्न रोग सम्बन्धी निःशुल्क मानव स्वास्थ्य शिविर सञ्चालन गर्दै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउँदै आएको जनाएको छ ।
वडाले प्रविधिको प्रयोग, पारदर्शी कार्यप्रणाली, घुम्ती सेवा, स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रममार्फत नागरिकमैत्री शासन प्रणालीलाई संस्थागत गर्दै स्थानीय सरकारप्रतिको नागरिकको विश्वास अझ मजबुत बनाउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।















































