चुलाचुली गाउँपालिकामा १३६ विकास योजनामध्ये ९४ सम्पन्न, ४२ अन्तिम चरणमा

चुलाचुली गतिविधि

  नयाँ बुलन्द
42 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका विकास निर्माणका १३६ योजनामाध्ये ९६ योजना सम्पन्न गरेको छ । चुलाचुली गाउँपालिका योजना शाखाका अनुसार ३ करोड ५३ लाख ५३ हजार ६६६ रुपैयाँका १३६ योजनाध्ये असार १९ गतेसम्म ९४ योजना सम्पन्न गर्दैं २ करोड १४ लाख ७० हजार ३८७ रुपैयाँ भुक्तानि भइसकेको छ ।

बाँकी ४२ वटा योजनाको पनि अन्तिम चरणमा पुगेको योजना शाखाले जनाएको छ । गाउँपालिकाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खेलकुद, पर्यटन, धार्मिक तथा सांस्कृतिक पूर्वाधार, विपद् व्यवस्थापन, वातावरण संरक्षण र सार्वजनिक भवन निर्माणलगायतका क्षेत्रमा योजना सञ्चालन गरेको हो ।

शिक्षा क्षेत्रमा वडा नं. ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण, वडा नं. १ मा फाल्गुन्द लायफाङ्ग बहुभाषिक पाठशाला निर्माण, शिवज्योति आधारभूत विद्यालय घेराबारा, वडा नं. ६ मा राष्ट्रप्रेमी माध्यमिक विद्यालय शौचालय निर्माण, नारायणज्योति आधारभूत विद्यालय रंगरोगन, वडा नं. २ मा पञ्चकन्या आधारभूत विद्यालय जाने बाटोमा ड्रेन निर्माण लगायतका योजना सम्पन्न भएका छन् ।

सडक पूर्वाधारतर्फ वडा नं. १ देखि ६ सम्म सडक स्तरोन्नति, ग्राभेल, कल्भर्ट निर्माण, ट्र्याक खोल्ने, ढल निकास तथा सडक संरक्षणका दर्जनौँ योजना सम्पन्न भएका छन् । वडा नं. ६ मा कालापानी, बैधे, सुनारे, मिलगौडा, सिम्ले, चुलीखण्ड लगायतका सडक स्तरोन्नति, वडा नं. ५ मा बरबोटे, बानु टोल, गैरी गाउँ तथा सिक्किमे मार्ग स्तरोन्नति, वडा नं. ३ मा देउराली खेल मैदान, चाँजु खोलामा बाँस पाइलिङ तथा होली पर्यटक मार्ग सुधार जस्ता योजना सम्पन्न भएका छन् ।

खानेपानीतर्फ झगरसिंह खानेपानी स्तरोन्नति, आसेटार–बुवासे, फुङनाम सिरान टोल, सुकुना जीते राई टोल, तिलतले सुपारी बोटे चिसापानी लगायतका खानेपानी योजनाले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको गाउँपालिकाले जनाएको छ ।

कृषि तथा सिँचाइ क्षेत्रमा सिमल तरुल उत्पादन, प्रशोधन तथा बजारीकरण, घताने खोल्सी–पैनी गैरी सिँचाइ कुलो निर्माण लगायतका कार्यक्रम सम्पन्न भएका छन् । यस्तै सामुदायिक वन संरक्षण, वृक्षारोपण तथा सिमसार संरक्षणसम्बन्धी कार्यक्रम पनि कार्यान्वयन गरिएको छ ।

खेलकुद तथा पर्यटन पूर्वाधारअन्तर्गत मिक्लुङ सांस्कृतिक पर्यटन पार्क निर्माण, दशमीमा पार्क निर्माण, किरातेश्वर खेल मैदान व्यवस्थापन, रमिते खेल मैदान स्तरोन्नति, बुकुवा रंगशाला सुधार, फुङनाम फुटबल क्लब व्यवस्थापन लगायतका योजना सम्पन्न भएका छन् ।

धार्मिक तथा सांस्कृतिक क्षेत्रतर्फ पाथीभरा मन्दिर निर्माण, जलदेवी मन्दिर घेराबारा, पुण्येश्वर शिव पाञ्चायन मन्दिर व्यवस्थापन, महिमा मण्डली भवन स्तरोन्नति, किरात माङ्हिम मूर्ति व्यवस्थापन, रमिते यायोख्खा सालिक निर्माण तथा विभिन्न चर्च, चौतारा र सामुदायिक भवन निर्माणका योजना सम्पन्न भएका छन् ।

यसैगरी राष्ट्रिय रोजगार कार्यक्रमसँग साझेदारी मा वडा नं. १, २, ३, ४ र ६ मा कल्भर्ट, पार्क निर्माण, तारजाली, सडक सरसफाइ, खानेपानी तथा ड्रेन निर्माणजस्ता श्रममूलक योजनाहरू पनि सम्पन्न गरिएको गाउँपालिकाको विवरणमा उल्लेख छ ।

गाउँपालिकाका अनुसार योजना कार्यान्वयनमा उपभोक्ता समितिको सक्रिय सहभागिता, स्थानीय श्रमको उपयोग तथा सामुदायिक सहकार्यलाई प्राथमिकता दिइएको थियो । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन, खेलकुद तथा विपद् व्यवस्थापनका क्षेत्रमा सम्पन्न योजनाले स्थानीय नागरिकको सेवा प्रवाहमा सुधार हुनुका साथै दीर्घकालीन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार