चुलाचुली-३ मा सडक, खानेपानी, पर्यटन, कृषि र खेलकुदका १३ विकास योजना सम्पन्न

चुलाचुली गतिविधि

  नयाँ बुलन्द
14 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका-३ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सडक, खानेपानी, कृषि, पर्यटन, खेलकुद तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित १३ वटा विकास योजना सम्पन्न भएका छन् । चुलाचुली गाउँपालिका योजना शाखाले उपलब्ध गराएको असार १९ गते प्रगति विवरणअनुसार स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखी सञ्चालन गरिएका यी योजनाले पूर्वाधार विकाससँगै स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन तथा जनजीवन सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

पर्यटन तथा सडक पूर्वाधारतर्फ खलबले होली-बनपाले होली हुँदै पर्यटक मार्ग जाने बाटो मर्मत कार्य सम्पन्न गरिएको छ । राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रमसँग साझेदारीमा सञ्चालन गरिएको यस योजनाले स्थानीय बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्नुका साथै पर्यटकीय गन्तव्यसम्म पुग्ने सडकलाई सुरक्षित र सहज बनाएको छ ।

यस्तै, किराँत पदमार्गमा ट्रस्ट (विश्रामस्थल) निर्माण सम्पन्न भएको छ। यसले पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुग्नुका साथै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

खानेपानीतर्फ तिलतले-सुपारी-बोटे चिसापानी खानेपानी व्यवस्थापन योजना राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रमसँगको साझेदारीमा सम्पन्न गरिएको छ । साथै सुकुना जीते राई टोलमा खानेपानी व्यवस्थापन कार्य पनि सम्पन्न भएको छ। यी योजनाबाट स्थानीय बासिन्दाले स्वच्छ र सुरक्षित खानेपानी सेवामा सहज पहुँच पाएका छन् ।

कृषि क्षेत्रको उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकता दिँदै सिमल तरुल उत्पादन, प्रशोधन तथा बजारीकरण कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रमले स्थानीय कृषिजन्य उत्पादनको व्यावसायीकरण तथा किसानको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

सडक स्तरोन्नतिअन्तर्गत सन्तोष देवानको घर उत्तरस्थित कृषि फर्म हुँदै अशोकको घरसम्म जाने बाटोमा ग्राभेल गरिएको छ । यसले कृषिजन्य उत्पादन ढुवानी तथा स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाएको छ ।

विपद् जोखिम न्यूनीकरणका लागि राते होली खोलामा चेकड्याम निर्माण तथा चाजु खोलाका विभिन्न स्थानमा बाँसको पाइलिङ गरिएको छ । यी योजनाले खोलाको कटान नियन्त्रण गरी आसपासका बस्ती, सडक तथा खेतीयोग्य जमिनको संरक्षणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

खेलकुद पूर्वाधार विकासअन्तर्गत किरातेश्वर खेल मैदानमा लाइटिङ व्यवस्थापन तथा देउराली खेल मैदान स्तरोन्नति सम्पन्न गरिएको छ । यी योजनाले स्थानीय युवालाई खेलकुद गतिविधिमा प्रोत्साहन गर्नुका साथै प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार विकास भएको छ ।

सांस्कृतिक संरक्षणतर्फ लिम्बू समुदायको चासोक ताङ्नाम कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रमले स्थानीय भाषा, संस्कृति, परम्परा र मौलिक पहिचान संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार योजना कार्यान्वयनमा उपभोक्ता समितिको सक्रिय सहभागिता, स्थानीय श्रमको उपयोग तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसँगको सहकार्यलाई प्रभावकारी रूपमा परिचालन गरिएको थियो । यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै विकास निर्माणका कार्यलाई समयमै सम्पन्न गर्न सहयोग पुगेको जनाएको छ ।

चुलाचुली गाउँपालिका-३ मा सम्पन्न भएका यी योजनाले सडक, खानेपानी, कृषि, पर्यटन, खेलकुद, वातावरण संरक्षण तथा सांस्कृतिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको गाउँपालिकाको भनाइ छ । आगामी वर्षहरूमा पनि स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार