
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार २ नं. वडा सम्पर्क कार्यालय चित्रेमा सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
माङसेबुङ गाउँपालिका-२ नं. वडा कार्यालयको आयोजना र इलाम मल्टिपर्पोज कम्पनी प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा १० जना सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा बलबहादुर काफ्ले, सन्तबहादुर राई, आइन्द्रबिक्रम लिम्बू, भुवानसिंह राई, सन्त मुकारुङ, कर्णबहादुर राई, शंकर योङहाङ, डिल्लीकुमार राई, लिम्बू र हर्कमान राईले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
उनीहरुले पूर्वाधार विकास, सडक निर्माण, खानेपानी, कृषि, पर्यटन तथा विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष कृष्णबहादुर बस्नेत र वडा सचिव सुरेश राईले दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष बस्नेत र वडा सचिव राईले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनीहरुले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको स्वागत मन्तव्य वडा सचिव राई र वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष बस्नेतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इलाम मल्टिपर्पोज कम्पनी प्रालिका सहजकर्ता राम योङहाङले नागरिक अभिमत प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ ।
त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।














































