जनगुनासो सुन्न बिहीबार चित्रेमा सार्वजनिक सुनुवाइ गर्दै माङसेबुङ-२ नं. वडा कार्यालय

  नयाँ बुलन्द
35 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका–२ नं. वडा कार्यालयले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । इलाम मल्टिपर्पोज कम्पनी प्रालिसँगको समन्वयमा बिहीबार वडा सम्पर्क कार्यालय, चित्रेमा कार्यक्रम सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

सार्वजनिक सुनुवाइमार्फत वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ भरि सम्पादन गरेका विकास निर्माणका कार्य, बजेट कार्यान्वयनको अवस्था, आधारभूत सेवा प्रवाह, सामाजिक सुरक्षा, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा अन्य सार्वजनिक सेवाका विषयमा नागरिकलाई जानकारी गराइनेछ । साथै सेवाप्रवाहका क्रममा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे स्थानीयवासीसँग प्रत्यक्ष छलफल गरिनेछ ।

कार्यक्रममा स्थानीय नागरिकले वडा कार्यालयबाट प्राप्त सेवा–सुविधा, विकास आयोजना, योजना छनोट तथा कार्यान्वयन, सामाजिक सुरक्षा वितरण, प्रशासनिक सेवा र अन्य सार्वजनिक सरोकारका विषयमा आफ्ना गुनासा, सुझाव, जिज्ञासा तथा प्रतिक्रिया खुला रूपमा राख्न सक्नेछन् । सेवाग्राहीको प्रश्नको जवाफ दिनुका साथै प्राप्त सुझाव र गुनासालाई आगामी योजना तथा सेवा सुधारमा समेटिने वडा अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

वडा कार्यालयले सार्वजनिक सुनुवाइलाई सुशासन प्रवर्द्धन, पारदर्शिता कायम गर्ने, जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद बढाउने तथा सार्वजनिक निकायलाई थप जवाफदेही बनाउने प्रभावकारी माध्यमका रूपमा लिएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पनि सार्वजनिक सुनुवाइलाई स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अभ्यासका रूपमा व्यवस्था गरेको छ ।

वडा अध्यक्ष बस्नेतले कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी तथा सम्पूर्ण वडावासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

स्थानीय सरकारका गतिविधिप्रति नागरिकलाई सुसूचित गराउने, जनताको प्रत्यक्ष सहभागितामार्फत सेवा प्रवाहको गुणस्तर सुधार गर्ने तथा विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइ सफल बनाउन वडा कार्यालयले सबै सरोकारवालाको सहयोग र सहभागिताको अपेक्षा गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार