
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ ले आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत सञ्चालन गरेका अधिकांश विकास योजना सम्पन्न गरेको छ । कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सडक पूर्वाधारलाई प्राथमिकता दिँदै वडा कार्यालयले १२ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको हो ।
वडा कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सञ्चालन गरिएका १२ योजनामध्ये ९ वटा योजना सम्पन्न भइसकेका छन् भने ३ वटा योजना निर्माणाधीन अवस्थामा रहेका छन् । कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तरकारी खेती प्रवर्द्धन योजना एक लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ । यसबाट करिब १,५०० जना लाभान्वित भएका छन् । यस्तै विपद् व्यवस्थापन कार्यक्रम दुई लाख ८० हजार रुपैयाँको लागतमा सम्पन्न हुँदा करिब ५०० जना लाभान्वित भएका छन् ।
शिक्षा क्षेत्रअन्तर्गत खाम्नुवा आधारभूत विद्यालय सुधार योजना एक लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ भने सुरक्षा क्षेत्रको प्रहरी चौकी सुधार योजना पनि सम्पन्न गरिएको छ ।
खानेपानी क्षेत्रमा युनिसेफ-१ सुनगाभा खानेपानी मर्मत, साधुकुप-आहाले खानेपानी योजना तथा वरवोटे खानेपानी योजना सम्पन्न भई स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी आपूर्तिमा सहजता पुगेको वडा कार्यालयले जनाएको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि विजय चर्च सुधार योजना सम्पन्न भएको छ भने शिवालय मन्दिर घेराबारा निर्माण कार्य भने अहिले निर्माणाधीन अवस्थामा रहेको छ।
स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न स्वास्थ्य चौकी क्षेत्र पूर्वाधार योजना पनि निर्माणाधीन रहेको छ । त्यस्तै इभाङ माध्यमिक विद्यालय घेराबारा निर्माण कार्य पनि जारी रहेको छ ।
पूर्वाधारतर्फ खाल्डे-सिङ्लाबु सडक निर्माण सात लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ । यो चालु आर्थिक वर्षकै सबैभन्दा ठूलो लागतको योजना हो । सडक निर्माणपछि स्थानीय नागरिकको आवतजावत तथा कृषि उपज ढुवानीमा सहजता पुगेको अपेक्षा गरिएको छ ।
वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा तथा सडक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अघि बढाएको वडा अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए ।
निर्माणाधीन योजनासमेत तोकिएको समयभित्र सम्पन्न गरी स्थानीयवासीलाई पूर्ण रूपमा सेवा उपलब्ध गराउने लक्ष्य वडा कार्यालयको रहेको वडासचिव सुरेश राईले जानकारी दिए ।



















































