माङसेबुङमा रोजगार केन्द्रमार्फत सडक, गोरेटो र सार्वजनिक संरचना निर्माण तीव्र

  नयाँ बुलन्द
35 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमार्फत सञ्चालन गरेका श्रममूलक विकास आयोजनाले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै गाउँका पूर्वाधार सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

केन्द्रमार्फत गाउँपालिकाका सबै वडामा सडक, गोरेटो बाटो, सोलिङ, नाली, पर्खाल तथा सार्वजनिक स्थल स्तरोन्नतिसम्बन्धी १३ वटा योजना सञ्चालन गरिएको छ । ती योजनाको कुल लागत २४ लाख ७२ हजार रुपैयाँ रहेको छ।

वडा नं. ५ मा भालुटार–लासिङबुङ मोटरबाटो सोलिङ र माङमिक्तोक्ला-खानीटार मोटरबाटो सोलिङ निर्माण सम्पन्न भएका छन् । यी आयोजनाले स्थानीय आवतजावतलाई सहज बनाएको गाउँपालिकाले जनाएको छ । चिउरे पानी गोरेटो बाटो मर्मत निर्माणाधीन छ ।

त्यस्तै वडा नं. ३ मा रतुवा खोला-विरेन्द्र चोक सडक मर्मत तथा साधुटोल-खुन्द्रुका बाटो मर्मत सम्पन्न गरिएको छ । वडा नं. २ मा इभाङ माध्यमिक विद्यालय जाने बाटो तथा रत्न सहादत्त सडक सोलिङ, साथै रत्न सालिक सहादत्त स्थलको स्तरोन्नति गरिएको छ ।

वडा नं. ६ मा विष्णुलय-झेपाले-बाँझो गोरेटो बाटो निर्माण अन्तिम चरणमा पुगेको छ भने साकेला तीनथुम्की वाल मन्दिरको पर्खाल निर्माण सम्पन्न भएको छ ।

वडा नं. १ मा संगरा गाउँ सडक सोलिङ निर्माण सम्पन्न भएको छ भने फिजरा लोकमार्गको खोल्सी पर्खाल निर्माण कार्य भइरहेको छ । वडा नं. ४ मा अधेरी-अन्धाराजा सडक सरसफाइ तथा वडा पहुँचमार्ग सोलिङसँगै सिमलटार सडक नाली सरसफाइ सम्पन्न भएको छ ।

आयोजनामध्ये अधिकांश सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा रहेको रोजगार संयोजक दिप्श दासले जानकरी दिए । योजनाहरू श्रममूलक ढाँचामा सञ्चालन गरिएकाले स्थानीय नागरिकले प्रत्यक्ष रोजगारीको अवसर पनि प्राप्त गरेको उनले बताए । उनका अनुसार प्रत्येक योजनामा कम्तीमा १५ जनासम्म स्थानीय प्रत्यक्ष लाभान्वित भएका भने सयौंको संख्यामा अन्य लाभान्वित भएका छन् ।

गाउँपालिकाले रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमार्फत बेरोजगार नागरिकलाई रोजगारी उपलब्ध गराउने, श्रमको सम्मान बढाउने तथा स्थानीय आवश्यकताअनुसार साना तर प्रभावकारी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार