
इलाम : रैथाने बाली प्रवर्द्धनका लागि इलामको माङसेबुङ गाउँपालिकामा मिडिया शनिबार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिकाको ‘रैथाने बाली मिडिया प्रवर्द्धन कार्यक्रम अन्तर्गत’ क्रियाशील पत्रकारहरुको सहभागितामा अनुशिक्षण कार्यक्रम गरिएको हो ।
माङसेबुङ गाउँपालिकाको सहयोगमा र इलाम मल्टिपर्पोज कम्पनी प्रालिको आयोजनामा भएको कार्यक्रममा पत्रकार कमन देवान र राम योङहाङले प्रशिक्षण दिएका थिए । कार्यक्रममा रैथाने बालीको परिचय, प्रकार, महत्व तथा फाइदा, संरक्षणको आवश्यकता, चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।
माङसेबङका रैथाने बालीको पहिचान गरी संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम अन्तर्गत पत्रकारहरुले स्थानीय रैथाने बालीको आलेख तयार गर्नेछन् । रैथाने बालीको महत्व, आवश्यक्ता र यसका संरक्षणको चुनौतीका बारेमा खोज, अध्यन तथा स्थलगत अनुगमन गरेर विस्तृत आलेख तयार गरी प्रकाशन तथा प्रचारप्रसार गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक कमन देवानले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत माङसेबुङ गाउँपालिकामा खेती गरिने बेसार, अदुवा, अलैंची, सिलम, वनतरुल, सिमलतरुल, दाल, कोदो, फापरलगायत १० प्रकारका रैथाने बालीका बारेमा १० जनाले पत्रकारले खोज अध्यन गरेर विस्तृतमा आलेख तयार गर्ने छन् ।
आयोजकका अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष नविन लिम्बू, वडासदस्यद्वय धनकुमार लिम्बू र गोमादेवी विश्वकर्मासमेतको उपस्थिति थियो ।




















































