
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कृषि क्षेत्रको उत्पादन वृद्धि, किसानको आयआर्जन विस्तार तथा व्यवसायिक कृषिको विकासलाई प्राथमिकतामा राख्दै १ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न कृषि विकास कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाको कृषि विकास शाखाकी निरुपा राईका अनुसार चालु आर्थिक वर्षमा ११ वटा प्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याइएका छन् । ती कार्यक्रमबाट प्रत्यक्ष रूपमा २ हजार ६ सयभन्दा बढी किसान तथा कृषक समूह लाभान्वित भएका छन् भने केही कार्यक्रमको सम्झौता तथा वितरण प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
सबैभन्दा ठूलो लगानी तरकारी उत्पादन प्रवर्द्धन कार्यक्रममा गरिएको छ । २० लाख रुपैयाँ बजेट रहेको यस कार्यक्रमबाट २० जना कृषक प्रत्यक्ष लाभान्वित हुने लक्ष्य राखिएको छ। हाल अधिकांश कार्य सम्पन्न भइसकेको भए पनि जरिङ्गो, सिस्नु र टमाटरसम्बन्धी दुईवटा सम्झौता प्रक्रिया बाँकी रहेको कृषि विकास शाखाले जनाएको छ ।
यस्तै कफी प्रवर्द्धन कार्यक्रममा २० लाख रुपैयाँ विनियोजन गरिएको छ । पाँच जना व्यवसायिक कृषकलाई लक्षित गरिएको यस कार्यक्रममार्फत कफी खेती विस्तार र गुणस्तरीय उत्पादनमा जोड दिइएको छ । वडा नं. २ मा सञ्चालन गरिएको मोरिङ्गा प्रवर्द्धन कार्यक्रममा पनि २० लाख रुपैयाँ लगानी गरिएको छ, जसले नयाँ सम्भावनायुक्त नगदे बालीको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
स्थानीय रैथाने बालीको संरक्षण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले फापर खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । २० लाख रुपैयाँ लागतको यस कार्यक्रमबाट ५० जना किसान लाभान्वित हुनेछन् । कार्यक्रमअन्तर्गत एउटा सम्झौता प्रक्रिया भने अझै बाँकी रहेको छ ।
मसला बाली उत्पादनलाई प्रोत्साहन गर्न अकबरे खुर्सानी पकेट क्षेत्र निरन्तरता कार्यक्रम सञ्चालन गरिएको छ । १२ लाख रुपैयाँ लागतको यस कार्यक्रमबाट ४० जना किसान प्रत्यक्ष लाभान्वित भएका छन् । यसले माङसेबुङलाई अकबरे खुर्सानी उत्पादनको प्रमुख क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
किसानलाई गुणस्तरीय बीउ उपलब्ध गराउन बीउबिजन खरिद तथा वितरण कार्यक्रम सञ्चालन गरिएको छ । दुई लाख ७० हजार रुपैयाँ लागतको यस कार्यक्रमबाट करिब १ हजार ४ सय जना किसान लाभान्वित भएका छन् ।
प्राकृतिक विपद्का कारण बालीमा क्षति पुगेका कृषकलाई राहत दिन बालीनाली क्षति आकस्मिक प्रकोप कार्यक्रम सञ्चालन गरिएको छ। ८० हजार रुपैयाँ लागतमा सञ्चालित यस कार्यक्रमबाट करिब १ हजार किसान लाभान्वित भएका छन् ।
कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउन साझेदारीमा कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत ३ लाख ५० हजार रुपैयाँ बराबरका कृषि उपकरण खरिद गरिएको छ । चार जना कृषक वा समूहलाई लक्षित यस कार्यक्रमको वितरण प्रक्रिया भने अझै बाँकी रहेको छ ।
माटोको वैज्ञानिक परीक्षणलाई व्यवस्थित बनाउन डिजिटल माटो परीक्षण किट खरिदका लागि ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । यसबाट गाउँपालिकाभरका किसानलाई माटो परीक्षण सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । साथै माटो नमुना संकलन तालिम सञ्चालन गरी १०० जनालाई प्रशिक्षण प्रदान गरिएको छ ।
त्यसैगरी मौरी प्रवर्द्धन कार्यक्रममार्फत २ लाख रुपैयाँ लगानी गरी १८ जना कृषकलाई मौरीपालन व्यवसाय विस्तारमा सहयोग गरिएको छ ।
गाउँपालिकाले कृषि क्षेत्रलाई व्यवसायिक, आधुनिक तथा बजारमुखी बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कृषि विकास शाखाका अनुसार बाँकी रहेका सम्झौता र वितरण प्रक्रियासमेत छिट्टै सम्पन्न गरी सबै कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।
स्थानीय उत्पादन वृद्धि, आयआर्जन विस्तार र आत्मनिर्भर कृषि प्रणाली निर्माणमा यी कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने गाउँपालिका अध्यक्ष हेमन्त राईले विश्वास व्यक्त गरे ।


















































