पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

  नयाँ बुलन्द
476 Shares

पाँचथर: पाँचथरको फालेलुङ गाउँपालिका-२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शुक्रबार राति करिब ८:३० बजे पार्किङ गरी राखिएको मे १ त ३५५६ नम्बरको खाली ट्याक्टर चलाउने क्रममा अनियन्त्रित भई करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा ट्याक्टर चालक फिदिम नगरपालिका–३ स्कुलडाँडा निवासी २४ वर्षीय राजेश मुखिया गम्भीर घाइते भएका थिए। शरीरका विभिन्न भागमा चोट लागेका उनलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिश कायस्थले जानकारी दिए।

दुर्घटनामा फालेलुङ गाउँपालिका–१ ठाडे लसुने निवासी ४० वर्षीय योगबहादुर जेबगू पनि घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको छ भने दायाँ हात र बायाँ खुट्टा तत्काल चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। उनी भने बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले दुवै जनाको उद्धार गरेको थियो। अविरल वर्षाका कारण दुर्घटनास्थल दुर्गम र जोखिमपूर्ण भएकाले उद्धार कार्यमा केही कठिनाइ भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार