‘अल वेदर’ सडक निर्माणमा फाकफोकथुमको जोड, पूर्वाधार विकासमा ६ करोड २७ लाख बजेट

  युद्धबहादुर बोहोरा
168 Shares

 

इलामः  फाकफोकथुम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममार्फत सडक तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ। गाउँपालिकाले पूर्वाधार विकासतर्फ कुल ६ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गर्दै ग्रामीण सडक सञ्जाललाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य सार्वजनिक गरेको हो। गाउँपालिकाले नागरिकलाई वर्षभरि सहज, सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले ‘अल वेदर’ सडक निर्माण तथा रणनीतिक सडकहरूको स्तरोन्नतिलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ। वर्षायाममा सडक अवरुद्ध हुने समस्या अन्त्य गर्दै सबै मौसममा सञ्चालन हुन सक्ने सडक सञ्जाल निर्माणका लागि विभिन्न योजनाहरू अघि सारिएको गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।संघीय तथा प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन हुने सडक आयोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने भएको छ। संघीय समपूरक अनुदानअन्तर्गत रवि-आमचोक सडक तथा आमचोक-शंकरचोक-ठिङ्गेपुर-खाम्बाङ सडक स्तरोन्नतिका लागि गाउँपालिकाले ७१ लाख रुपैयाँ साझेदारी बजेट व्यवस्था गरेको छ। यी सडकहरू गाउँपालिकाका विभिन्न बस्तीलाई मुख्य बजार तथा सेवा केन्द्रसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेका छन्।
त्यसैगरी प्रदेश समपूरक अनुदानअन्तर्गत पसल-कोल्बोटे-साप्तिन सडक र अन्तरेडाँडा-जालपा-कैजले सडक स्तरोन्नतिका लागि ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ। यी सडक आयोजनाले दुर्गम बस्तीका नागरिकलाई सहज आवागमनको सुविधा प्रदान गर्नुका साथै कृषि उत्पादन, स्थानीय व्यापार तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।गाउँपालिकाले आगामी वर्ष सबै वडा कार्यालयलाई केन्द्र आमचोकसँग जोड्ने सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने महत्वाकांक्षी लक्ष्यसमेत अघि सारेको छ। यसका लागि सडकमा आवश्यक स्थानमा सोलिङ, ग्राभेल, नाली निर्माण, कल्भर्ट व्यवस्थापन तथा अन्य स्तरोन्नतिका कार्य सञ्चालन गरिने जनाइएको छ। सडकको गुणस्तर सुधारसँगै वर्षायाममा हुने क्षति न्यूनीकरण गरी यातायात सेवा नियमित राख्ने उद्देश्य रहेको गाउँपालिकाको भनाइ छ। पालिका केन्द्र आमचोकस्थित शुक्रवारे बजार आसपासमा संंघ र प्रदेश सरकारको बजेट साझेदारीमा नयाँ आर्थिक वर्षमा कालोपत्रे सडक निर्माण शुरु गर्ने  भएको छ ।
मुख्य सडक मार्गसँगै वडास्तरका भित्री सडकहरूलाई समेत प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले ग्रामीण बस्तीहरूलाई सडक सञ्जालसँग थप प्रभावकारी रूपमा जोड्ने, स्वास्थ्य, शिक्षा, कृषि तथा प्रशासनिक सेवामा नागरिकको पहुँच बढाउने लक्ष्यसहित सडक मर्मत, सुधार र स्तरोन्नतिको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सडक पूर्वाधारको विस्तारले कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेकाले उत्पादनलाई समयमै बजारसम्म पुर्‍याउन गुणस्तरीय सडक अपरिहार्य मानिएको छ। सडक पहुँच विस्तारसँगै कृषकले उत्पादनको उचित मूल्य प्राप्त गर्ने, ढुवानी लागत घट्ने तथा स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास गरिएको छ।
पर्यटन प्रवर्द्धनका दृष्टिले पनि सडक पूर्वाधारलाई महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। गाउँपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यसम्म पुग्न सहज पहुँच स्थापित भएमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। साथै व्यापार, सेवा तथा साना उद्यम व्यवसायको विकासमा समेत सडक पूर्वाधारले सकारात्मक प्रभाव पार्ने गाउँपालिकाको निष्कर्ष छ।यद्यपि विगतका वर्षहरूमा सञ्चालन भएका केही सडक आयोजनाको गुणस्तर, संरक्षण तथा नियमित मर्मतसम्भारको विषयमा स्थानीयस्तरमा गुनासो आउने गरेको छ। वर्षायाममा कतिपय सडक हिलाम्मे हुने, नाली व्यवस्थापन कमजोर हुँदा सडकमा क्षति पुग्ने तथा निर्माण सम्पन्न भएको छोटो समयमै सडक जीर्ण बन्ने समस्या देखिने गरेको स्थानीयवासी बताउँछन्। यसले सडक निर्माणसँगै दीर्घकालीन संरक्षण र प्रभावकारी अनुगमनको आवश्यकता औँल्याएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले सडक निर्माणमा गुणस्तर कायम गर्न, निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन तथा उपभोक्ता समिति र जनप्रतिनिधिको सक्रिय निगरानी आवश्यक रहेको बताएका छन्। सडक निर्माणमा लगानी हुने ठूलो बजेटको प्रभावकारी उपयोग हुन सके मात्रै नागरिकले अपेक्षित लाभ प्राप्त गर्न सक्ने उनीहरूको भनाइ छ। गाउँपालिकाले भने आगामी आर्थिक वर्षमा पूर्वाधार विकासलाई समृद्धिको प्रमुख आधारका रूपमा लिँदै सडक सञ्जाललाई थप सुरक्षित, भरपर्दो र दिगो बनाउने लक्ष्य राखेको जनाएको छ। पूर्वाधार क्षेत्रमा गरिएको लगानीले आर्थिक गतिविधि विस्तार, सेवा प्रवाहमा सहजता तथा ग्रामीण जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गाउँपालिकाको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार