सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट बक्तव्य (पूर्ण पाठ)

  नयाँ बुलन्द
21 Shares

राजश्व र व्ययको विवरण

आर्थिक वर्ष: २०८३/८४

सूर्योदय नगरपालिका इलाम

 नगर सभाका सदस्यज्यूहरू,

  • यस अधिवेशनको दोस्रो बैठकबाट स्वीकृत नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि, नेपालको संविधानको धारा २३० अनुसार म आर्थिक वर्ष २०८३/८४ को लागि यस नगरपालिकाको राजस्व र व्ययको अनुमान यस सम्मानित सभासमक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
  • यस गरिमामय अवसरमा, नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समृद्ध सूर्योदय निर्माणका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, परिवर्तनको मार्गमा घाइते हुनुभएका नागरिकहरूप्रति गहिरो सम्मान व्यक्त गर्दछु ।
  • जवाफदेही शासन प्रणाली, सदाचार र नागरिकको आत्मसम्मानको पक्षमा उभिएको ‘रूपान्तरणकारी युवा शक्तिको जागरण’ ले निर्माण गरेको नयाँ राजनीतिक धरातलमा आज हामी उभिएका छौं । यो जागरणले स्थानीय सरकारलाई एउटा असाधारण जिम्मेवारी सुम्पेको छ । नगर प्रमुखको हैसियतले म यो बजेट प्रस्तुत गरिरहँदा यसलाई केवल कानुनी र संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, बरु नगरपालिकाको चरित्र, शासनको कार्यसंस्कृति र हाम्रो स्थानीय अर्थतन्त्रको संरचनालाई रूपान्तरण गर्ने एउटा ऐतिहासिक दायित्वको रूपमा स्वीकार गर्दछु ।
  • नेपाली राजनीतिमा देखिएको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा जस्तै हाम्रो नगरपालिकाभित्र पनि आमूल परिवर्तनको तीव्र अपेक्षा छ । नागरिकले अब आश्वासन होइन, चुस्त सेवा प्रवाह र सुशासन खोजेका छन् । नीतिगत अस्पष्टता, प्रशासनिक ढिलासुस्ती र सार्वजनिक स्रोतको अनुत्पादक तथा फजुल खर्चलाई अन्त्य गर्दै नतिजामुखी शासन प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । यो बजेट सूर्योदय नगरपालिकालाई उत्पादनमुखी अर्थतन्त्र र प्रविधिमैत्री प्रशासनको युगमा प्रवेश गराउने एउटा भरपर्दो नीतिगत औजार बन्नेछ भन्ने मेरो पूर्ण विश्वास छ ।
  • हामी यतिबेला विश्वव्यापी रूपमा विकास भइरहेको सूचना प्रविधि, कृत्रिम बौद्धिकता (AI), र प्रविधिको आक्रामक उपयोगले ल्याएका अवसर र चुनौतीहरूको संघारमा छौं । देश र विदेशमा छरिएर रहेका हाम्रा युवाहरूको सामूहिक शक्तिलाई समेट्दै न्यायपूर्ण आर्थिक वृद्धिको चक्र निर्माण गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ ।
  • यसलाई आत्मसाथ गर्दै, आगामी आर्थिक वर्षदेखि हाम्रो सेवा प्रवाहको मुख्य आधार भनेको ‘प्रणाली र नतिजा’ नै हुनेछ:
  • नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री (Digital) र छिटोछरितो बनाइनेछ । कार्यालयको ‘टिप्पणी र आदेश’ प्रणालीलाई समेत सुव्यवस्थित सफ्टवेयरमा आबद्ध गरी निर्णय प्रक्रियामा हुने ढिलाईको अन्त्य गरिनेछ ।
  • सार्वजनिक सम्पत्ति र स्रोतसाधनको अतिक्रमण रोक्न नगरपालिकाभित्रका सिँचाइ आयोजना, खोलानाला, खेलमैदान र सामुदायिक वनलगायत सम्पूर्ण सार्वजनिक सम्पत्ति तथा पूर्वाधारको एकीकृत अभिलेख तयार गरी सम्पत्ति संरक्षणको रणनीतिक कार्ययोजना कडाइका साथ लागू गरिनेछ ।
  • नगरपालिकाको आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउँदै एकीकृत वित्तीय विवरणको यथार्थपरक प्रस्तुति र विगतका वर्षहरूदेखिको बेरुजु फर्स्योटलाई अभियानकै रूपमा अगाडि बढाइनेछ ।
  • राज्यका निकायहरूप्रति नागरिकमा देखिएको अविश्वासलाई चिर्न, जनताको करको एक-एक पैसा कहाँ र कसरी खर्च भइरहेको छ भनी आम नागरिकले हेर्न सक्ने ‘ओपन डाटा प्रणाली’ लागू गरिनेछ ।

 नगर सभा सदस्यज्यूहरू,

  • सुशासन र प्रविधिको यही बलियो जगमा उभिएर अब म आगामी आर्थिक वर्ष २०८३/८४ का मुख्य प्राथमिकताहरू प्रस्तुत गर्न गइरहेको छु ।
  • हामीले विगतका वर्षहरूमा के कति काम गर्यौं भन्ने कुराको लामो फेहरिस्त पढेर म यहाँहरूको अमूल्य समय लिने छैन । हाम्रा उपलब्धिहरू र सुशासनका प्रयासहरू जनताको दैनिकीमा र नगरपालिकाको ड्यासबोर्डमा छर्लङ्ग छन् । आजको हाम्रो मुख्य ध्येय भनेको सूर्योदय नगरपालिकाको ‘दोस्रो आवधिक योजना’ ले कोरेको दीर्घकालीन सोचलाई यथार्थमा बदल्नु हो ।
  • आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम आवधिक योजनाका समष्टिगत रणनीतिहरूमा आधारित रहेर देहायका प्राथमिकताका क्षेत्रहरूमा केन्द्रित हुनेछ:
  • पहिलो प्राथमिकता: व्यावसायिक कृषि, चिया र युवा उद्यमशीलता: हाम्रो अर्थतन्त्रको मेरुदण्ड कृषि हो । परम्परागत कृषिलाई प्राङ्गारिक र व्यावसायिक कृषिमा रूपान्तरण गर्न हामीले विशेष बजेट विनियोजन गरेका
    छौं । सूर्योदयको गौरवको रूपमा रहेको चिया लगायतका कृषि उपजको मूल्य अभिवृद्धि गर्दै यसलाई साना उद्यम र युवाहरूको स्वरोजगारसँग जोड्ने नीति लिइएको छ । कृषिमा अब अनुदान होइन, ‘प्रतिफलमा आधारित प्रोत्साहन’ र प्रविधिको प्रयोग बढाइनेछ ।
  • दोस्रो प्राथमिकता: दिगो पूर्वाधार र वातावरणमैत्री विकास: नयाँ पुस्ताले दिगो र सुरक्षित विकास खोजेको छ । अव्यवस्थित विकास को सट्टा अब हामी प्रकृतिसँग मिल्ने निर्माण शैली अर्थात् ‘वातावरणमैत्री प्रविधि’ लाई अवलम्बन गर्नेछौं । बाह्रै महिना सञ्चालन हुने सडक सञ्जाल, सुरक्षित खानेपानी र प्राकृतिक विपद्को सामना गर्न सक्ने बलिया भवन निर्माण हाम्रा पूर्वाधार विकासका मुख्य आधार हुनेछन् ।
  • तेस्रो प्राथमिकता: गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक समावेशीकरण: हाम्रो लगानी अब भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभई, मानव पुँजी निर्माणमा केन्द्रित हुनेछ । प्रविधिमैत्री शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सामाजिक समावेशीकरण र युवाहरूको बहुआयामिक विकासका लागि सीपमूलक तालिमलाई उच्च प्राथमिकतामा राखिएको छ । खेलकुद क्षेत्रलाई आधुनिकीकरण गर्दै स्वस्थ र ऊर्जाशील जनशक्ति निर्माण गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ ।
  • चौथो प्राथमिकता: वातावरण संरक्षण, पर्यटन र MCR2030: प्राकृतिक सौन्दर्य नै हाम्रो पुँजी हो । रेडपान्डा (हाब्रे) जस्ता दुर्लभ वन्यजन्तुको संरक्षणलाई ‘इको-टुरिजम’ र ‘चिया पर्यटन’ सँग जोडेर स्थानीय आयआर्जन बढाइनेछ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न MCR2030 को मार्गचित्र अनुसार विपद् जोखिम न्यूनीकरणलाई विकासका हरेक गतिविधिमा अनिवार्य रूपमा मूलप्रवाहीकरण गरिनेछ । स्रोतमा नै फोहोरको वर्गीकरण गरी वैज्ञानिक व्यवस्थापन गर्ने कार्यलाई अभियानको रूपमा अघि बढाइनेछ ।
  • पाँचौं प्राथमिकता: प्रमाण-आधारित योजना र स्रोत परिचालन: योजना तर्जुमा प्रक्रियालाई वस्तुनिष्ठ र यथार्थपरक बनाउन ‘आयोजना बैंक’ को संस्थागत विकास तथा उपयोग गरिनेछ । बिना पूर्वतयारी योजना छनौट गर्ने प्रवृत्तिको अन्त्य गर्दै, अब हाम्रा योजना र बजेट विनियोजन पूर्ण रूपमा तथ्याङ्क र प्रमाणमा आधारित
    हुनेछन् । सूचना प्रविधिको प्रयोगमार्फत कर चुहावट नियन्त्रण गर्दै सार्वजनिक-निजी साझेदारी मोडललाई प्रवर्द्धन गरिनेछ ।

नगर सभाका सदस्यज्यूहरू,

  • हाम्रा यी प्राथमिकताहरूलाई मूर्तरूप दिन सङ्घीय र प्रदेश सरकारको अनुदान तथा हाम्रो आन्तरिक स्रोतलाई परम्परागत वितरणमुखी योजनामा नभई ‘नतिजामुखी र रूपान्तरणकारी’ क्षेत्रगत कार्यक्रमहरूमा केन्द्रित गरिएको छ । बजेटलाई उत्पादन एवं परिणाममुखी तवरले विनियोजन गर्दै आर्थिक वर्ष २०८३/८४ का मुख्य क्षेत्रगत कार्यक्रमहरूको सार निम्नानुसार प्रस्तुत गर्दछु:

आर्थिक विकास (कृषि, पर्यटन र उद्यमशीलता):

  • हाम्रो अर्थतन्त्रको मेरुदण्ड युवा, कृषि र पर्यटन हो । यस क्षेत्रलाई आधुनिकीकरण गर्न देहायका कार्यक्रमहरू अघि सारेको छु:
  • प्राङ्गारिक कृषि प्रणालीलाई थप विस्तार गर्दै नगरको प्रमुख नगदे बालीको रूपमा रहेको चियाको गुणस्तर प्रवर्द्धनका लागि विशेष ‘चिया केन्द्रित क्रियाकलापहरू’ समावेश गरिएको छ । ‘चिया परीक्षण केन्द्र’ लाई सञ्चालनमा ल्याइनेछ । कृषकहरूको आयआर्जन वृद्धि गर्न कफी र अलैंची उत्पादनलाई प्रवर्द्धन गर्ने गरी विशेष ‘कृषि पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिनेछ । अर्गानिक उत्पादन प्रवर्द्धनका लागि कृषक सचेतना कार्यक्रमहरू समावेश गरिएको छ । पशुपालनतर्फ लम्पी स्किन, खोरेत रोग नियन्त्रण तथा कृत्रिम गर्भाधान कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • सूर्योदयको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भाव्यतालाई उजागर गर्न पदमार्ग निर्माण, कन्याम ग्लास ब्रिज सौन्दर्यीकरण, र ‘चियाबारी ट्रेल रेस’ जस्ता नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । साथै, लेप्चा समुदाय लगायतका स्थानीय विशिष्ट कला, संस्कृति र परम्पराको संरक्षण गर्दै यसलाई पर्यटनसँग जोडेर ‘कल्चरल टुरिज्म’ प्रवर्द्धन गरिनेछ । यस प्रकारका पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूले स्थानीय स्तरमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै समग्र आर्थिक क्रियाकलापमा उल्लेख्य वृद्धि गरी नगरको अर्थतन्त्रलाई थप चलायमान
    बनाउनेछन् ।
  • विदेश पलायन भइरहेका युवा जनशक्तिलाई स्वदेशमै रोकेर रोजगारी र उद्यमशीलतासँग जोड्न विशेष कार्यक्रमहरू अघि सारिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण र श्रमिक सूचीकरणसहितको ‘श्रम बैंक’ स्थापना गरिनेछ । साथै, युवा उद्यमशीलतालाई प्रोत्साहन गरी स्वरोजगार बनाउन, नवउद्यमीहरूको व्यावसायिक योजना बमोजिम बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीको प्रारम्भिक चरणको ब्याजमा नगरपालिकाले अनुदान उपलब्ध गराउन ‘ब्याज अनुदान कार्यक्रम’ सञ्चालन गरिनेछ ।

सामाजिक विकास (शिक्षा, स्वास्थ्य र युवा सशक्तिकरण):

  • मानव पुँजी निर्माण बिना भौतिक विकास अधुरो रहन्छ । नयाँ पुस्तालाई प्रविधि र स्वास्थ्यसँग जोड्न निम्न कार्यक्रमहरू प्रस्ताव गरिएको छ:
  • सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा, विद्यार्थीहरूका लागि वृत्ति मार्गनिर्देशन, र ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि तथा एस.इ.इ. को नतिजा सुधार गर्न दशौं कक्षाका सिकाइमा कमजोर विद्यार्थीहरूलाई लक्षित गरी विशेष अतिरिक्त कक्षा (Remedial Classes) सञ्चालनको व्यवस्था मिलाइनेछ । साथै, निर्माण सम्पन्न भइसकेको ‘इनोभेसन सेन्टर’ लाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याई प्रविधिमा आधारित सीप विकासका कार्यक्रमहरू अघि बढाइनेछ ।
  • निर्माण सम्पन्न भइसकेको नयाँ नगर अस्पतालको भवनबाट अत्याधुनिक स्वास्थ्य सेवा सुचारु गर्ने प्रबन्ध मिलाइनेछ । नगरवासीले सहज र भरपर्दो उपचार पाऊन् भन्ने उद्देश्यले फिक्कल अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा व्यवस्था गरिनेछ । अस्पतालको व्यवस्थापनलाई सुदृढ गर्दै ‘इलेक्ट्रोनिक्स हेल्थ रेकर्ड प्रणाली’ लागू गरिनेछ । स्वास्थ्य बिमा कार्यक्रममार्फत प्रवाह हुने सेवालाई थप व्यवस्थित र पहुँचयोग्य बनाइनेछ । साथै, विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था, अति विपन्न नागरिकलाई उपचार सहायता, र नसर्ने रोगका लागि औषधि व्यवस्थापन जस्ता कार्यक्रमहरू समावेश गरिएको छ ।
  • सूर्योदय नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड, क्रिकेट खेल आयोजना, विभिन्न खेलकुद विधामा उत्कृष्ट खेलाडीलाई सम्मान गर्न र नगरभित्रका विभिन्न खेलमैदानहरूको स्तरोन्नती गरी मार्सल आर्ट्स तथा टिम गेमहरूको गुणात्मक विकास गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । यसैगरी, सामाजिक समावेशीकरणको मर्मलाई आत्मसात् गर्दै महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सशक्तीकरण, क्षमता विकास र सम्मानका कार्यक्रमहरू समावेश गरिएका छन् । विपन्न परिवार तथा एकल महिलाहरूको निःशुल्क स्वास्थ्य बिमा र बालमैत्री स्थानीय शासन प्रवर्द्धनलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

 पूर्वाधार विकास र वातावरण संरक्षण:

  • नगरका मुख्य गौरवका आयोजनाको रूपमा रहेका ‘बाह्रमासे सडक’ निर्माण तथा स्तरोन्नति कार्यलाई क्रमागत योजनाको रूपमा निरन्तरता दिइएको छ । साथै, “नगरको चासो, ग्रामीण बाटो” नाराका साथ नगरका सबै ग्रामीण सडकहरूमा कृषि उपजको बजार पहुँच र आवागमनको चापलाई आधार मानी सडकगत रूपमा नै बजेट विनियोजन गरिएको छ । यसले सडकको अवस्था र आवश्यकताका आधारमा प्रत्येक सडकमा लक्षित मर्मत सम्भार सुनिश्चित गर्नेछ ।
  • यसैगरी, वार्षिक सडक मर्मत संभार योजना बमोजिम नियमित मर्मत संभार गर्ने उद्देश्यले ‘मर्मत सम्भार कोष’ को लागि रकम विनियोजन गरिएको छ । यस कोषबाट सडक मर्मत सम्भारका लागि आवश्यक पर्ने मेशिनरी उपकरणहरूको नियमित मर्मत, इन्धन आपूर्ति, र आकस्मिक रूपमा क्षति भएका सडकहरूको तत्काल सुधार कार्य अघि बढाइनेछ ।
  • नगरभित्रका खानेपानीका स्रोतहरूको एकीकृत सर्वेक्षण गरी ‘खानेपानी स्रोतको लगत व्यवस्थापन’ गरिनेछ । यसको आधारमा स्रोत संरक्षण तथा दिगो उपयोगका लागि ‘खानेपानी तथा स्रोत संरक्षण रणनीतिक योजना’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । साथै, ओडारी खोला, साल्लेरी लगायतका विभिन्न साना सिँचाइ आयोजनाहरूको मर्मत सम्भार र खानेपानीको गुणस्तर परीक्षण प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
  • फोहोरमैलाको दिगो र वैज्ञानिक व्यवस्थापन गर्न ‘एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम’ अन्तर्गत ‘सेनिटरी ल्याण्डफिल्ड साइट’ निर्माण कार्य आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहितको रु. १३ करोड लागतको आयोजना अघि बढाइएको छ । प्रदेश सरकार, विकास साझेदार र नगरपालिकाको लागत साझेदारीमा सञ्चालन हुने यस रूपान्तरणकारी आयोजनाका लागि नगरपालिकाको तर्फबाट रु. ३ करोड, प्रदेश सहयोग कार्यक्रमबाट २ करोड र प्रदेश सरकारको संचित कोषबाट २ करोड गरी आगामी आर्थिक वर्षमा ७ करोड लगानी गरिनेछ ।
  • जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै विपद् जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यका लागि विशेष कोष र कार्यक्रमको व्यवस्था गरिएको छ ।

सुशासन, प्रविधि र विकास व्यवस्थापन

  • नगरपालिकाको सार्वजनिक सम्पत्तिको ‘डिजिटल लगत व्यवस्थापन’ र नतिजामा आधारित अनुगमन प्रणाली लागू गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । योजना तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग आबद्ध गर्दै वार्षिक नगर विकास योजनालाई विद्युतीय माध्यमबाट पारदर्शी रूपमा सार्वजनिकीकरण गरिनेछ ।
  • नगरपालिकाको समग्र सेवा प्रवाह र विकास निर्माणमा सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ, सार्वजनिक तथा सामाजिक परीक्षण लगायतका ‘सुशासनका औजारहरू’ को प्रभावकारी प्रयोग गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • यी कार्यक्रमहरूको विस्तृत विवरण तथा वडागत रूपमा सञ्चालन हुने सडक, भवन, मन्दिर/गुम्बा मर्मत र लक्षित वर्गका कार्यक्रमहरूको पूर्ण सूची वार्षिक कार्यक्रम पुस्तिकाको अनुसूचीमा समावेश गरिएको छ ।
  • नगर सभाका सदस्यज्यूहरु, आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि, म चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको यथार्थ अवस्था र संशोधित अनुमान प्रस्तुत गर्न चाहन्छु:
  • सङ्घ र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणमा भएको हेरफेर तथा आन्तरिक स्रोतको अवस्थालाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको कुल आय र व्ययको अनुमानलाई संशोधन गरी रु. १ अर्ब २ करोड ३६ लाख ५६ हजार कायम गरिएको छ ।
  • यस संशोधित आय अनुमानको तुलनामा हालसम्म रु. ८८ करोड १ लाख १२ हजार अर्थात् ८५.९७% यथार्थ आय प्राप्त भएको छ । खर्चतर्फ संशोधित विनियोजनको आधारमा हालसम्म कुल रु. ६८ करोड ८४ लाख ५२ हजार अर्थात् ६७.२५% खर्च भएको छ । कुल खर्चमध्ये चालुतर्फ विनियोजित बजेटको ७८.३७% प्रगति हासिल भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजनको ४७.३५% मात्र खर्च भएको यथार्थ अवस्था छ ।
  • पुँजीगत खर्चमा देखिएको यो न्यून प्रगतिको पछाडि केही बाह्य, प्राकृतिक र नीतिगत कारणहरू रहेका छन् । चालु आर्थिक वर्षमा अप्रत्याशित भारी वर्षा तथा प्राकृतिक विपद्का कारण पुगेको क्षति, विश्वव्यापी प्रभावका कारण इन्धनको मूल्यमा भएको वृद्धि, निर्माण सामग्रीको मूल्यवृद्धि, निर्वाचन, प्रशासनिक प्रक्रियामा भएका फेरबदल र राजनीतिक परिवर्तन जस्ता कारणले विकास निर्माणका कार्यहरूले अपेक्षित गति लिन सकेनन् ।
  • तथापि, यी अवरोधहरूलाई शिक्षाको रूपमा लिँदै, हामीले आगामी वर्षमा वार्षिक खरिद योजना र योजना कार्यान्वयन कार्यतालिकाको पूर्ण पालना गर्दै ‘डिजिटल ट्र्याकिङ’ र ‘समयबद्ध अनुगमन’ प्रणालीलाई कडाइका साथ लागू गर्ने सङ्कल्प लिएका छौं । आयोजनाहरूको पूर्वतयारी, बहुवर्षीय ठेक्का व्यवस्थापन र निर्माण व्यवसायीसँगको नियमित समन्वयमार्फत विकास निर्माणका कार्यहरूलाई तीव्रता दिइनेछ ।
  • सभाका सदस्यज्यूहरू, अब म माथि उल्लिखित नीति, प्राथमिकता र कार्यक्रमहरू कार्यान्वयन गर्न आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको अनुमानित आकार र स्रोत व्यवस्थापनको खाका प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
  • आगामी आर्थिक वर्षका लागि सूर्योदय नगरपालिकाको समग्र विकास र सेवा प्रवाहका लागि कुल रु. १ अर्व १८ करोड ४३ लाख ४६ हजार ३ सय विनियोजन गरिएको छ ।

कुल विनियोजनमध्ये:

  • चालु तर्फ: रु. ७० करोड २७ लाख १७ हजार ३ सय अर्थात् ५९ दशमलव ३३ प्रतिशत
  • पुँजीगत (विकास) तर्फ: रु. ४८ करोड १६ लाख २९ हजार अर्थात् ४० दशमलव ६७ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३ प्रतिशतले बढी हो ।

उक्त खर्च व्यहोर्ने स्रोतका रूपमा:

  • आन्तरिक राजस्वबाट रु.  ६ करोड २५ लाख
  • संघीय सरकारको वित्तीय समानीकरण, ससर्त, विशेष र समपूरक अनुदानबाट रु. ६४ करोड ७३ लाख
  • प्रदेश सरकारको अनुदानबाट रु. ६ करोड,९३ लाख,८९ हजार
  • राजस्व बाँडफाँटबाट रु. १६ करोड ७६ लाख ५५ हजार र
  • अघिल्लो वर्षको मौज्दातबाट रु. २१ करोड ५७ लाख २ हजार ३ सय जुट्ने अनुमान गरिएको छ ।

सभाका सदस्यज्यूहरू,

  • सङ्घीय सरकारबाट प्राप्त हुने कुल अनुदान मध्ये, सशर्त अनुदानतर्फ शिक्षा, स्वास्थ्य, कृषि र रोजगार लगायतका कार्यक्रम सञ्चालन गर्न रु. ४१ करोड ५६ लाख र पूर्वाधार, पर्यटन तथा सिँचाइतर्फका आयोजनाहरूका लागि सशर्त पुँजीगततर्फ रु. २ करोड ९२ लाख प्राप्त भएको छ ।
  • त्यसैगरी, प्रदेश सरकारबाट पदमार्ग निर्माण, गुम्बा र मन्दिर सौन्दर्यीकरण, सडक स्तरोन्नति जस्ता विभिन्न महत्वपूर्ण पूर्वाधार र पर्यटन प्रवर्द्धनका लागि ससर्त तथा समपूरक अनुदान प्राप्त भएको छ । यी अनुदानहरूले हाम्रो ‘दोस्रो आवधिक योजना’ ले तय गरेका लक्ष्यहरू पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् ।
  • सङ्घीय र प्रदेश सरकारबाट प्राप्त विशेष र समपूरक अनुदानलाई हामीले नगरको दीर्घकालीन र रणनीतिक महत्त्वका पूर्वाधार निर्माणमा केन्द्रित गरेका छौं । समपूरक अनुदानमा नगरपालिकाको तर्फबाट ६० प्रतिशत लागत साझेदारी सुनिश्चित गरी ठूला आयोजनाहरू अघि बढाइएको छ ।
  • विशेष गरी सडक सञ्जालको विस्तार र स्तरोन्नतिका लागि:
  • सङ्घीय समपूरक अनुदान र नगरपालिकाको लागत साझेदारीसहित दामसिङ मार्ग-रोङ मार्ग-किरात मार्ग सडक स्तरोन्नतिका लागि कुल रु. १ करोड ७५ लाख विनियोजन गरिएको छ ।
  • प्रदेश समपूरक अनुदान र नगरपालिकाको लागत साझेदारीमा ऋषिमोड-गोर्खे-मंगलबारे सडक र बरबोटे-कट्टेबुङ-छिरुवा सडक निर्माणका लागि कुल रु. २ करोड विनियोजन गरिएको छ ।
  • यसैगरी, नगरभित्रका अति-आवश्यक पूर्वाधारहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै:
  • सङ्घीय विशेष अनुदानमार्फत नगरपालिकाभित्रका जोखिमयुक्त विद्यालयहरूको प्रवलीकरण तथा अन्य भौतिक पूर्वाधारहरूको पुनर्निर्माणका लागि कुल रु. ३ करोड ६ लाख प्राप्त भएको छ ।
  • यी रणनीतिक आयोजनाहरूले हाम्रो नगरको यातायात सञ्जाललाई बाह्रै महिना सञ्चालन योग्य बनाउन र हाम्रा बालबालिकाका लागि सुरक्षित शैक्षिक पूर्वाधार निर्माण गर्न कोसेढुङ्गाको काम गर्नेछन् ।
  • विनियोजित बजेटलाई क्षेत्रगत रूपमा विभाजन गर्दा
  • सामाजिक विकास क्षेत्रमा रु.५४ करोड ७६ लाख ११ हजार अर्थात् कुल बजेटको ४६ दशमलव २४ प्रतिशत विनियोजन गरिएको छ ।
  • यसैगरी, पूर्वाधार विकास तर्फ रु. ३० करोड १ लाख ५४ हजार अर्थात् २५ दशमलव ३४ प्रतिशत,
  • त्यस्तै आर्थिक विकास क्षेत्रलाई रु.८ करोड ८२ लाख ९३ हजार अर्थात् ७ दशमलव ४५ प्रतिशत,
  • वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ६ करोड ५१ लाख अर्थात् ५ दशमलव ५ प्रतिशत,
  • सुशासन तथा संस्थागत क्षमता विकास तर्फ २ करोड ५८ लाख ८८ हजार अर्थात २ दशमलव १९ प्रतिशत र
  • कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा रु.१५ करोड ७३ लाख अर्थात् १३ दशमलव २८ प्रतिशत रकम छुट्याइएको छ ।
  • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रलाई रु. ९ करोड ९ लाख ८८ हजार अर्थात् ७ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
  • क्रियाकलापगत बाँडफाँटको विस्तृत विवरण वार्षिक कार्यक्रम पुस्तिकामा समावेश गरिएको छ । सम्भाव्य स्थानीय स्रोत साधनको उच्चतम उपयोग गर्दै, उल्लिखित योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक पर्ने रकम स्थानीय सञ्चित कोषबाट खर्च गर्ने प्रस्तावको रूपमा ‘विनियोजन विधेयक, २०८३’ यस सम्मानित सभासमक्ष पेश गर्दछु ।

सभाका सदस्यज्यूहरू,

  • कर प्रणालीलाई हामीले ‘नागरिकमाथिको भार’ वा ‘दण्ड’ को रूपमा होइन, सूर्योदय नगर निर्माणको ‘साझेदारी’ को रूपमा लिएका छौं । नयाँ पुस्ता र आम नागरिकले तिरेको करको सही सदुपयोग हुन्छ भन्ने विश्वास दिलाउन हामीले कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र व्यवसायमैत्री बनाउने नीति लिएका छौं ।
  • आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आन्तरिक आय परिचालन गर्न देहायबमोजिमको राजस्व नीति तथा कर सहुलियतका कार्यक्रमहरू प्रस्ताव गरिएको छ:
  • महिलाहरूलाई स्वरोजगार र आत्मसम्मानित बनाउन उनीहरूको नाममा दर्ता हुन आउने उद्योग व्यवसायमा ३५ प्रतिशत कर छुट दिने व्यवस्था मिलाइएको छ ।
    • “ग” श्रेणीसम्मको परिचयपत्र प्राप्त अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित उद्योग व्यवसायमा ५० प्रतिशतसम्म कर छुट दिने व्यवस्था गरिएको छ ।
    • नगरभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक र असाध्य (कडा) रोगको उपचाररत बिरामीहरूलाई वडाबाट उपलब्ध गराइने सिफारिस तथा नाता प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवाहरू पूर्ण रूपमा निःशुल्क प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
    • सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने “ग” श्रेणीसम्मका अपाङ्गता भएका विद्यार्थीहरू र दलित विद्यार्थीहरूलाई विद्यालयमा कुनै पनि प्रकारको शुल्क नलाग्ने व्यवस्था सुनिश्चित गरिएको छ ।
  • नियमित कर तिर्ने करदातालाई सम्मान गर्दै, २०८३ असोज मसान्तसम्म मालपोत, भूमिकर र व्यवसाय कर (बक्यौतासहित) बुझाउने नगरबासीलाई कर रकममा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
    • विगतका वर्षहरूदेखि कर बुझाउन नसकी व्यवसाय नवीकरणमा जरिबानाको भार खेपिरहेका व्यवसायीहरूलाई एकपटकका लागि विशेष राहत दिन, मङ्सिर मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गरेमा त्यस्तो बक्यौतामा लाग्ने जरिबानामा शतप्रतिशत (१००%) छुट दिन प्रस्ताव गरिएको छ ।
    • नगरपालिकाको आय ठेक्का बन्दोबस्त गर्दा सम्पूर्ण रकम सम्झौताकै बखत एकमुस्ट बुझाउने फर्म वा कम्पनीलाई १० प्रतिशत छुट दिने नीति लिइएको छ ।
  • सूर्योदयको पहिचान बोकेको चिया उद्योगलाई सहज बनाउन, तयारी चिया उत्पादन गर्ने उद्योगले वार्षिक उत्पादनका आधारमा एकमुस्ट कर बुझाउन सक्ने वा प्रति के.जी. १ रुपैयाँ ५० पैसाका दरले किस्ताबन्दीमा कर बुझाउन सक्ने लचिलो र उद्योगमैत्री व्यवस्था गरिएको छ ।
  • कर तिर्न वा अन्य प्रशासनिक सेवा लिन नागरिकहरू कार्यालयमै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न ‘फेसलेस सेवा प्रवाह’ लाई प्राथमिकता दिँदै आवश्यक प्राविधिक पूर्वाधार तयार गरिनेछ र डिजिटल भुक्तानी प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याइनेछ । साथै, नगद राजस्व असुलीमा प्रयोग हुँदै आएको हाते नगदी रसिदलाई विस्थापित गरी, उक्त प्रणालीलाई नगरपालिकाको केन्द्रीय डाटाबेससँग आबद्ध गर्दै विद्युतीय उपकरणमार्फत राजस्व असुल गर्ने वैज्ञानिक व्यवस्था मिलाइनेछ ।

नगरसभा सदस्यज्यूहरू,

  • माथि उल्लिखित सहुलियतहरूका अतिरिक्त सम्पत्ति कर, मालपोत, घरबहाल कर, पूर्वाधार उपयोग कर, पर्यटन शुल्क तथा अन्य गैरकर राजस्वका दरहरू, दण्ड जरिबाना र प्रशासनिक शुल्कहरूको विस्तृत विवरण अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको “सूर्योदय नगरपालिकाको आर्थिक विधेयक, २०८३” मा समावेश गरी यसै सम्मानित सभासमक्ष प्रस्तुत गरेको छु ।

नगरसभा सदस्यज्यूहरू,

  • बजेट निर्माण गर्नु जति महत्त्वपूर्ण छ, यसको प्रभावकारी कार्यान्वयन र वित्तीय अनुशासन कायम गर्नु झनै चुनौतीपूर्ण छ । सीमित स्रोत र साधनको उच्चतम उपयोग गर्दै पुँजीगत खर्चको प्रभावकारिता बढाउन आगामी आर्थिक वर्षमा निम्न नीतिहरू कडाइका साथ लागू गरिनेछ:
  • कार्यक्रमहरूबाट अपेक्षित उपलब्धि हासिल गर्न साउन महिनाभित्रै ‘कार्यक्रम कार्यान्वयन निर्देशिका’ तर्जुमा गरी लागू गरिनेछ । मर्मत सम्भार बाहेकका न्यून प्रतिफल दिने स-साना तथा छरिएका आयोजनाहरूमा स्रोत विनियोजन गर्ने परिपाटीलाई निरुत्साहित गर्दै, जेठ महिनापछि रकमान्तर र कार्यक्रम संशोधन गर्ने कार्यलाई पूर्ण रूपमा रोक लगाइनेछ ।
  • स्रोतमा परेको चापलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका तालिम, गोष्ठी र सेमिनार जस्ता कार्यक्रमहरूको सञ्चालनलाई नियन्त्रण गरिनेछ । विद्युतीय माध्यमको अधिकतम उपयोग गर्दै कागजको प्रयोगलाई न्यूनीकरण गरी प्रशासनिक खर्चमा मितव्ययिता अपनाइनेछ ।
  • नीति र क्रियाकलापबीचको सम्बन्धलाई मजबुत बनाउन आयोजना अनुगमन प्रणालीलाई नतिजामा आधारित बनाइनेछ । अनुगमन समितिले दिएका सुझावहरूको विद्युतीय अभिलेख राखी त्यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरिनेछ ।
  • नागरिकका दैनिक जीवनसँग जोडिएका अत्यावश्यक तथा प्रत्यक्ष लाभ दिने कार्यक्रमहरूलाई लक्षित रूपमा सम्बोधन गर्दै, विकास बजेटको ठूलो हिस्सा नगरपालिकाको दीर्घकालीन विकासमा टेवा पुग्ने रणनीतिक महत्त्वका आयोजनाहरूमा क्रमशः केन्द्रित गर्दै लगिएको छ । यस प्रकारको सन्तुलित सार्वजनिक वित्त व्यवस्थापन र प्रणालीगत सुधारबाट वित्तीय अनुशासन कायम भई समग्र नगरवासीको आर्थिक उन्नति र समन्यायिक समाज निर्माणमा थप टेवा पुग्ने मेरो विश्वास छ ।
  • साथै, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्था अनुरूप, सार्वजनिक खर्चमा दक्षता र वित्तीय अनुशासन कायम राख्न तथा नगरपालिकाको ‘दोस्रो आवधिक योजना’ र ‘वार्षिक बजेट’ बीच तादात्म्यता कायम गर्न तयार पारिएको ‘मध्यमकालीन खर्च संरचना (MTEF)’ समेत यस सम्मानित सभासमक्ष स्वीकृतिका लागि पेश गर्दछु ।

सभाका सदस्यज्यूहरू,

  • यो बजेट केवल अङ्कहरूको प्राविधिक प्रस्तुति वा परम्परागत दस्ताबेज मात्र होइन । यो सूर्योदय नगरपालिकालाई रूपान्तरण गर्ने सुस्पष्ट मार्गचित्र हो र नयाँ पुस्तासँग सुशासन र चुस्त सेवा प्रवाहको लागि गरिएको एउटा पवित्र सम्झौता हो ।
  • हामीले उत्पादन, नवप्रवर्तन, उद्यमशीलता र प्रविधिलाई केन्द्रमा राखेर अर्थतन्त्रको नयाँ चक्र निर्माण गर्ने जग बसालेका छौं । शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलाई पूर्वाधारसँग जोडेर हेर्ने दृष्टिकोण अघि सारेका छौं । सार्वजनिक खर्चलाई मितव्ययी र नतिजामुखी बनाउने अठोट गरेका छौं ।
  • नगरको निर्माण सरकारको एक्लो प्रयासले मात्र सम्भव हुँदैन । यो राज्य, निजी क्षेत्र, नागरिक समाज र आम युवाहरूको साझा संकल्प र सामूहिक अभियान हो । सरकारप्रति नागरिकको मनमा विश्वास भएन भने बजेटका अङ्कहरू जतिसुकै आकर्षक भए पनि ती निर्जीव हुन्छन् । तसर्थ, नागरिकको सद्भाव र समर्थन नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो र यसलाई जोगाउन हामी प्रतिबद्ध छौं ।
  • अन्त्यमा, यो बजेट तर्जुमाको क्रममा मार्गदर्शन गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि साथीहरू, राजनीतिक दलका नेतृत्व वर्ग, रचनात्मक सुझाव दिनुहुने निजी क्षेत्र, युवा पुस्ता, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सम्पूर्ण सूर्योदयवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । सुशासन, सदाचार र समतामूलक समृद्धिको यो यात्रामा हातेमालो गर्दै सुसंस्कृत र आधुनिक सूर्योदय निर्माणको महाअभियानमा जोडिन म सम्पूर्ण नगरबासीलाई हार्दिक आह्वान गर्दछु ।

धन्यवाद !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार