माङसेबुङ गाउँपालिकाको कृषि तथा पशु विकास सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
0
Shares
गाउँपालिकालाई प्राङ्गारिक कृषि प्रणालीमा रुपान्तरण गर्नका लागि भकारो सुधार तथा कम्पोस्ट मल उत्पादनको लागि कृषक लाई प्रोत्साहन गरिनेछ ।
कृषिको उत्पादनको लागत घटाउन, व्यवसायिक बनाउन, प्रतिस्पर्धी बनाउन यान्त्रीकरणमा जोड दिइनेछ ।
कृषक समुह दर्ता, कृषि सहकारी, कृषि उद्यमी तथा मल बीउ बिषादि बिक्रेताको सूचीकरण तथा अभिलेखीकरण गरिनेछ ।
कृषकहरुलार्इ बिषादि प्रयोगमा न्यूनीकरण गरी जैविक मल प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ । जसका लागि आवश्यक तालिमको आयोजना गरिनेछ ।
कृषिलार्इ आधुनिकीकरण गर्नका लागि साझेदारीमा प्लास्टिक टनेल/ प्लास्टिक मल्चिङ/ कृषि यान्त्रीकरण/ उन्नत जातको बिउ वितरण लगायतको कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ । जसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिनेछ ।
बाली तथा पशु स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन किसानलाई प्रोत्साहित गरिनेछ ।
कृषि उपजको उत्पादन सघनतालाई ध्यानमा राखेर कृषि तथा पशुपालन पकेट कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, कृषि एवं पशुजन्य उद्योगको स्थापना एवं क्षमता विकासका लागि लगानी गर्न चाहने कृषक र उद्यमीहरुका लागि वित्तीय पहुँचमा वृद्धि गर्न सरकारी, गैरसरकारी, सहकारी, निजी क्षेत्र तथा वित्तीय संस्थाहरुसँग समन्वय र साझेदारी गरिनेछ ।
गाउँपालिकामा उत्पादित चिया, सितल चिनी (मोरिङ्गा), बेसार, अलैंची, अदुवा, जडिबुटी, दूग्धजन्य पद्दार्थ, फलफूल लगायतका नगदेबालीहरुको बजारमा पहुँच वृद्धि तथा बजार विस्तारका लागि सरोकारवालाहरुसँग समन्वय गरिनेछ ।
उच्च मूल्यका वालीहरुको उत्पादन वृद्धि गर्नका लागि विउ , मल र प्राविधिक सहयोगको व्यवस्था गरिनेछ ।
कृषिमा नयाँ व्यवसायको नमुना कार्यक्रमहरु सञ्चालन गरी युवाहरुलाई उत्पादन संस्कृतिमा जोड्न अधिकतम प्रयत्न गरिने छ ।
कृषि उत्पादनको उचित भण्डारण गर्नको लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरी ‘एक गाउँपालिका एक शीत भण्डार’ र दूग्ध चिस्यान केन्द्र निर्माण गर्न पहल गरिनेछ ।
तरकारी, फलफूल तथा पशुधनको बजार संचालन गर्न कृषि बजार पूर्वाधार निर्माण गरिनेछ । कृषकहरुको उत्पादनलाई सहज ढंगले बजार व्यवस्था गर्न ‘एक वडा एक हाट बजार’ योजना संचालनमा पहल गरिनेछ ।
कृषि विकास कार्यक्रम बढीमा ५० प्रतिशत लागत साझेदारी, प्रवर्द्धन कार्यक्रमहरु (फलफूल खेती, तरकारी खेती,) मा शत प्रतिशत साझेदारी, कृषि तथ्यांक व्यस्थापन र कृषक सूचीकरण तथा दर्ता कार्यक्रममा शत प्रतिशत साझेदारी र अन्य कार्यक्रमको हकमा परियोजनाको लागतको प्रकृती अनुसार बढीमा ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रमहरु संचालन गरिनेछ ।
मानव स्वास्थ्यमा खाद्यतत्वको सुनिश्चता कायम गर्न र दैनिक आहरामा वाहिने पौष्टिक तत्वलाई ध्यानमा राख्दै कृषकलाई व्यावसायिक च्याउ खेतीका लागि प्रोत्साहन गरिनेछ ।
माङसेबुङ गाउँपालिकालाई अर्गानिक कृषि हबको रुपमा विकास गरिनेछ । त्यसका लागि साझेदार संस्थाहरुसँग सहकार्य गरिनेछ ।
रेसम तथा कफि खेती प्रवर्द्धनका लागि आवश्यक पहल गरिनेछ ।
उत्पादन वृद्धिका लागि माटो परीक्षण तथा माटोमा आवश्यक खाद्यतत्वहरुको व्यवस्थापन गर्न सहयोग गरिनेछ ।
पशुपालन व्यवसायलाई पूर्ण व्यवसायिक बनाउन तथा उन्नत नश्लका पशुहरुको संख्यामा वृद्धि गर्न कृतिम गर्भाधान सेवालाई निरन्तरता दिइनेछ ।
व्यवसायिक पशुपन्क्षीका आधुनिक फार्महरु खोल्न प्रोत्साहन तथा सहयोग गरिनेछ ।
पशु उत्पादन वृद्धि गर्न पशु आहारा प्रवर्द्धन कार्यक्रम र थुनेलो रोग नियन्त्रण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।
पशुहरुमा देखिने विभिन्न संक्रामक रोगहरुलाई न्युनिकरण गर्न गाई/भैसीहरुमा खोरेत, भेडा/बाख्राहरुमा पि.पि.आर., बंगुरहरुमा स्वाइन फिवर र कुकुर/बिरालोहरुमा रेबिज जस्ता रोगहरु बिरुद्ध निःशुल्क खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
दुध, अण्डा र मासु उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम लागु गरिनेछ।
पशुपन्छीहरुमा देखिने विभिन्न रोगहरुको उपचार, नियन्त्रण तथा निदानका लागि पशु अस्पताललाई प्रभावकारी रुपमा संचालन गरिनेछ; साथै पशु सेवा केन्द्रहरुको स्तरोन्नति गर्दै थप सेवा विस्तार गरिनेछ ।
गुणस्तरिय पशु स्वास्थ्य सेवा प्रदान गर्नको लागी शाखामा कार्यरत प्राविधिकहरुको क्षमता अभिवृद्धिका लागी विभिन्न सिप सिकाई तथा तालिममा सहभागी गराईनेछ ।