माङसेबुङ गाउँपालिकाको स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
42
Shares
“सबैलाई सुलभ स्वास्थ्य सेवा” भन्ने मुल लक्ष्यका साथ गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार तथा माङसेबुङ-३ मनिपुरमा जग्गा प्राप्ति भई अस्पताल निर्माण कार्यसमेत भईरहेकोले सञ्चालनका लागि प्रक्रिया अघि बढाइनेछ ।
संचालन भईरहेका स्वास्थ्य चौकीहरु र सामुदायिक स्वास्थ्य इकाइहरुलाई व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्दै लगिनेछ ।
सामुदायिक स्वास्थ्य इकाइ र स्वास्थ्य चौकीहरुमा कार्यरत करार कर्मचारीहरुको पारिश्रमिक सुविधालाई गाउँपालिकामा उपलब्ध श्रोत साधन समेतका आधारमा निरन्तरता दिइने छ ।
गाउँपालिकाको हरेक वडाका टोल तथा बस्तीहरुमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाले उपलब्ध गराएको प्रोत्साहन भत्ताको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
स्वास्थ्य संस्थाहरुको संस्थागत क्षमता वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भईरहेको अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
माङसेबुङ गाउँपालिकाभित्र रहेका सबै बर्थिङ सेन्टरहरुलार्इ सवलीकरण गरिनेछ ।
गाउँपालिकाभित्रका गर्भवती महिलाहरुको ज्यान जोखिममा पर्न नदिन साथै नवजात शिशु तथा आमाको सुरक्षाका लागि गर्भवती महिलालाई स्रोत, साधन र सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन गाउँपालिकाले उपलब्ध गराइरहेको नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिप्रति श्रद्धा, आदर, सम्मान तथा सद्भावको अभिवृद्धि गर्नको लागि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति बिरामी भर्इ अस्पताल जानुपर्ने अवस्था भएमा गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।
नवजात शिशु र आमाको पोषणका लागि सुनौलो हजार दिन कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइँदै लगिने छ ।
आत्मानन्द स्वास्थ्य केन्द्र, माङसेबुङ–३, इलाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेडिकल अफिसर (MBBS Doctor) को व्यवस्था गरिनेछ।
स्वास्थ्य संस्थाहरुमा रिक्त रहेको दरबन्दीहरुमा पदपूर्ति गरिनेछ ।
गाउँपालिकाभित्र बसोबास गर्ने मृत्यू भएका व्यक्तिका परिवारलाई दाहसंस्कार गर्न आवश्यक बजेटको व्यवस्था गरिने छ ।
गाउँपालिकाले उपलब्ध गराउँदै आएको एम्बुलेन्स सेवाको भाडा दरमा समयानुकूल समायोजन गरिने छ ।