माङसेबुङ गाउँपालिकाको कला, भाषा तथा संस्कृति प्रवर्द्धन सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

  नयाँ बुलन्द
21 Shares

१. हरेक वर्ष जेठ १२ गते लाई लिम्बु भाषा सरकारी कामकाजी भाषा घोषणा दिवस का रूपमा मनाई लिम्बु भाषाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा सरकारी कामकाजमा यसको प्रभावकारी प्रयोगका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ।

२. माङसेबुङ गाउँपालिकाभित्र मातृभाषाहरुको संरक्षण र प्रवर्द्धन गर्ने कार्य गरिनेछ ।

३. लिम्बू भाषालाई ‘सरकारी कामकाजी भाषा’ घोषणा गरिसकिएको अवस्थामा यसलाई अझ व्यवस्थित गर्न बजेटको व्यवस्था गरिनेछ ।

४. गाउँपालिकामा ३७ प्रतिशत किरात राई जातीको बसोबास रहेको कुरालाई मध्यनजर गर्दै गाउँपालिकामा बान्तावा भाषालार्इ समेत ‘सरकारी कामकाजी भाषा’ घोषणा गरिनेछ । जसका लागि गाउँपालिकामा एक जना बान्तवा भाषिक कर्मचारी नियुक्ति गरी कार्य कार्य सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

५. गाउँपालिकामा रहेका सम्पूर्ण जात जातिको भाषा, धर्म, लिपि र संस्कृतिलाई समान रुपमा संरक्षण, सम्बर्द्धन र विकास गर्ने नीति अवलम्बन गरिनेछ । धार्मिक समुदायहरुको विशेष स्थान मठ मन्दिर,  माङहिम, माङखिम, गुम्बा, चर्च,  सेमीचोङ आदि संरक्षणलाई प्राथमिकता दिइनेछ । सामूहिक चुलाखिम, गाउँपालिकास्तरीय माङखिम,  साकेला थान निर्माण गरी संरक्षण गर्ने नीति लिइनेछ ।

६. यस गाउँपालिकामा जन्म लिई समाजमा विशेष योगदान गर्नुहुने राष्ट्रिय व्यक्तित्व तथा १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दज्यूको नाममा बृहत साँस्कृतिक फाल्गुनन्द पार्कको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेकोमा सो पार्क निर्माण कार्यलार्इ तीब्रता दिइनेछ । हरेक वर्षको कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइँदै आइएकोमा सो दिवसलाई अहिंसा दिवसका समेत जोडेर मनाउने ।

७. लोपोन्मुख मौलिक बाजा, साँस्कृतिक मौलिक बाजा लगायत विभिन्न मौलिक भाषा तथा संस्कृति संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।

८. भाषा, संस्कार, संस्कृति, साहित्य र कलाको विकास गर्नका लागि गाउँपालिकास्तरीय ‘माङसेबुङ प्रज्ञा प्रतिष्ठान’ गठन गरिनेछ । साथै प्रतिष्ठानको आयोजनामा बहुभाषिक साहित्यिक गोष्ठी तथा सम्मान कार्यक्रमहरु सञ्चालन गरिनेछ । जसका लागि बजेटको व्यवस्था गरिनेछ ।

९.  एक वडा साकेला थान स्थापना गर्ने उद्देश्यका साथ आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।

१०. घाट तथा समाधिस्थलहरुलाई व्यवस्थित गर्दै लगिनेछ ।

११. किरात राई मुन्दुम पाठशाला सञ्चालन तथा व्यवस्थापनको प्रवन्ध गरिनेछ।

१२. माङसेबुङ गाउँपालिका–३, भञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको विश्वकै सबैभन्दा अग्लो सालिक निर्माण कार्यलाई प्राथमिकतासाथ सम्पन्न गरिनेछ ।

१३. माङसेबुङ गाउँपालिका–१ स्थित किरात याक्थुङ चुम्लुङ पार्कको आवश्यक पूर्वाधार निर्माण, संरक्षण तथा विकासका कार्यहरू क्रमिक रूपमा अगाडि बढाइनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार