अपाङ्गता भएका व्यक्तिका परिवारलाई माङसेबुङले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

  नयाँ बुलन्द
21 Shares

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई लक्षित गर्दै परिवारका पाँच जनासम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने नीति अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागेको हो । यस कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति रहेको परिवारका बढीमा पाँच सदस्यसम्मको स्वास्थ्य बिमा शुल्क गाउँपालिकाले व्यहोर्ने अध्यक्ष हेमन्त राईले बताए ।

अध्यक्ष राईका अनुसार आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

यस व्यवस्थाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई स्वास्थ्य उपचारमा आर्थिक सुरक्षा प्रदान गर्नुका साथै आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । स्वास्थ्य बिमामार्फत परिवारका सदस्यहरूले तोकिएका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सक्नेछन् ।

यो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न मद्दत पुग्नेछ ।

माङसेबुङ गाउँपालिकाले सामाजिक न्याय, समावेशिता र नागरिकमैत्री सेवाको अवधारणालाई प्राथमिकतामा राख्दै विभिन्न लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । अपाङ्गता भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम पनि सोही अभियानको महत्वपूर्ण हिस्सा रहेको अध्यक्ष राईको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार