
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, भाषा-संस्कृति संरक्षण र सुशासनलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार सुरु भएको गाउँसभाको १८औँ अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हेमन्त राईले प्रस्तुत गरी पारित भएको नीति तथा कार्यक्रमले ‘आहा माङसेबुङ’ अभियानलाई थप सशक्त बनाउने लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रममा रोजगारी सिर्जना, कृषिको व्यवसायीकरण, पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, मातृभाषा संरक्षण, धार्मिक पर्यटन विकास र सेवा प्रवाहमा सुधारलाई प्राथमिकतामा राखिएको छ । अध्यक्ष राईले स्थानीय स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै समृद्ध र आत्मनिर्भर माङसेबुङ निर्माणका लागि नीति तथा कार्यक्रम तयार गरिएको बताए ।
शिक्षामा मातृभाषा, प्रविधि र गुणस्तर सुधारमा जोड
गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई विशेष प्राथमिकता दिएको छ । बालविकास केन्द्रका सहयोगी कार्यकर्ता तथा विद्यालय कर्मचारीलाई उपलब्ध गराउँदै आएको सुविधा निरन्तरता दिइनेछ भने मातृभाषामा पठनपाठन गराउने विद्यालयलाई अनुदान उपलब्ध गराइने भएको छ ।
लिम्बू भाषा, राई बान्तवा भाषा तथा कम्प्युटर शिक्षकका लागि पोशाक भत्ता र न्यूनतम तलबको व्यवस्था गरिने भएको छ । गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक अभाव भएका विद्यालयमा शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
विद्यालयमा दिवा खाजा कार्यक्रम, निःशुल्क स्यानिटरी प्याड वितरण, विज्ञान प्रयोगशाला स्थापना, पुस्तकालय व्यवस्थापन, स्मार्ट टिभी वितरण तथा सूचना प्रविधिमैत्री शिक्षणलाई विस्तार गरिने नीति लिइएको छ। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने, राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने तथा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
विशेष रूपमा बान्तवा राई भाषाको पाठ्यपुस्तक निर्माण गरी बान्तवा भाषी समुदायको बाहुल्य रहेका विद्यालयमा पठनपाठन सुरु गरिने तथा आवश्यक शिक्षक दरबन्दी व्यवस्थापन गरिने भएको छ।
१५ शैयाको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाइने
स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकाले ‘सबैलाई सुलभ स्वास्थ्य सेवा’ भन्ने लक्ष्यसहित १५ शैयाको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने भएको छ । माङसेबुङ-३ मनिपुरमा निर्माणाधीन अस्पतालको भवन निर्माण कार्य जारी रहेको र आगामी वर्ष सञ्चालनको तयारी गरिने जनाइएको छ ।
गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा निरन्तर उपलब्ध गराइनेछ । नवजात शिशु तथा आमाको पोषण सुधारका लागि सुनौलो हजार दिन कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आत्मानन्द स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सकको व्यवस्था गरिने तथा स्वास्थ्य संस्थामा रिक्त दरबन्दी पूर्ति गरिने नीति लिइएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ ।
अपाङ्गता भएका सबै व्यक्तिको स्वास्थ्य बीमा शुल्क गाउँपालिकाले नै व्यहोर्ने गरी ‘एक अपाङ्गता भएका व्यक्ति, एक घरपरिवार स्वास्थ्य बीमा’ कार्यक्रम सञ्चालन गरिने नीति सार्वजनिक भएको छ ।
बान्तवा भाषा पनि सरकारी कामकाजको भाषा बन्ने
माङसेबुङ गाउँपालिकाले सांस्कृतिक र भाषिक विविधताको संरक्षणलाई ऐतिहासिक महत्व दिएको छ । गाउँपालिकाले यसअघि नै लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिसकेको अवस्थामा अब बान्तवा भाषालाई पनि सरकारी कामकाजको भाषा घोषणा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकामा करिब ३७ प्रतिशत किरात राई समुदायको बसोबास रहेको तथ्यलाई आधार मानेर बान्तवा भाषिक कर्मचारी नियुक्त गरिने र सरकारी कामकाजमा भाषाको प्रयोग बढाइने भएको छ ।
त्यस्तै प्रत्येक वर्ष जेठ १२ गते लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा दिवस मनाइनेछ। मातृभाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्थासमेत गरिनेछ ।
किरात राई मुन्दुम पाठशाला सञ्चालन गरिने
भाषा, संस्कार र सांस्कृतिक संरक्षणका लागि गाउँपालिकाले ‘माङसेबुङ प्रज्ञा प्रतिष्ठान’ गठन गर्ने घोषणा गरेको छ । प्रतिष्ठानमार्फत बहुभाषिक साहित्यिक गोष्ठी, सम्मान कार्यक्रम तथा अनुसन्धानात्मक गतिविधि सञ्चालन गरिनेछ ।
नीति तथा कार्यक्रममा किरात राई मुन्दुम पाठशाला सञ्चालन तथा व्यवस्थापन गर्ने उल्लेख गरिएको छ। साथै प्रत्येक वडामा साकेला थान स्थापना गर्ने अभियान अघि बढाइने भएको छ ।
मठमन्दिर, माङहिम, माङखिम, गुम्बा, चर्च, सेमीचोङ लगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गरिने भएको छ ।
विश्वकै अग्लो फाल्गुनन्द सालिक निर्माणलाई तीव्रता
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको नाममा निर्माणाधीन विशाल सांस्कृतिक पार्क तथा विश्वकै अग्लो फाल्गुनन्द सालिक निर्माणलाई प्राथमिकताका साथ सम्पन्न गरिने नीति लिइएको छ।
फाल्गुनन्द जयन्तीलाई अहिंसा दिवसका रूपमा समेत मनाइने भएको छ। साथै माङसेबुङ-१ स्थित किरात याक्थुङ चुम्लुङ पार्कको पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ ।
युवालाई स्वदेशमै रोजगारी
गाउँपालिकाले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउने लक्ष्य राख्दै सीपमूलक तथा उद्यमशीलता तालिम सञ्चालन गर्ने भएको छ ।
विदेशबाट फर्केका युवालाई वित्तीय साक्षरता, उद्यम विकास तथा सहुलियतपूर्ण ऋण पहुँचमा सहयोग गरिनेछ। हरेक वडामा युवा क्लब गठन गरी सामाजिक अभियान तथा विपद् व्यवस्थापनमा युवालाई परिचालन गरिने भएको छ ।
कृषि क्षेत्रलाई अर्गानिक हब बनाउने
कृषिलाई आर्थिक विकासको प्रमुख आधार मानेर गाउँपालिकाले सम्पूर्ण क्षेत्रलाई क्रमशः अर्गानिक कृषि प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।
भकारो सुधार, कम्पोस्ट मल उत्पादन, कृषि यान्त्रीकरण, प्लास्टिक टनेल, उन्नत बीउ वितरण, पशु स्वास्थ्य बीमा तथा पकेट क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
चिया, अलैंची, अदुवा, बेसार, मोरिङ्गा, कफी, फलफूल तथा दुग्धजन्य उत्पादनको बजार विस्तारका लागि सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।
‘एक गाउँपालिका एक शीतभण्डार’ तथा दुग्ध चिस्यान केन्द्र निर्माणका लागि पहल गरिने भएको छ भने ‘एक वडा एक हाटबजार’ अवधारणा कार्यान्वयन गरिनेछ ।
धार्मिक तथा सांस्कृतिक पर्यटनमा ठूलो लगानी
माङसेबुङ, माङमालुङ, गजुरमुखीधाम, विराटज्योति माङहिम, चुक्चिनाम्बा, पाङ्बुहाङ गुफा, घोर्लेभीर, ढ्याङ्गुरे डाँडा लगायत क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ ।
होमस्टे प्रवर्द्धन, पर्यटकीय सर्किट निर्माण, प्याराग्लाइडिङ तथा रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गरिने नीति लिइएको छ ।
माङमालुङलाई सुनाखरी क्षेत्रका रूपमा विकास गर्ने र लारुम्बा क्षेत्रको बृहत्तर विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी खोजिने जनाइएको छ ।
सडक, विद्युत र सिँचाइ विस्तारमा प्राथमिकता
पूर्वाधार विकासतर्फ ‘आहा माङसेबुङ’ अभियानलाई निरन्तरता दिँदै सबै सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको छ ।
वडा–वडा जोड्ने सडक स्तरोन्नति, कृषि सडक विस्तार, पुल तथा झोलुङ्गे पुल निर्माण, वडा कार्यालय र सार्वजनिक भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाभित्र पूर्ण विद्युतीकरण अभियान सञ्चालन गरिनेछ। राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य ऊर्जा विस्तार गरिने भएको छ ।
सिँचाइ अभावका कारण बाँझो रहेका जमिनमा विद्युतीय तथा सौर्य लिफ्टिङ प्रणालीमार्फत सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
सुशासन र डिजिटल सेवामा जोड
गाउँपालिकाले चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिने भएको छ। वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी प्रणाली लागू गरिनेछ ।
राजस्व संकलन, योजना व्यवस्थापन, सिफारिस तथा जिन्सी व्यवस्थापनमा डिजिटल प्रणाली विस्तार गरिनेछ। सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन प्रविधिको प्रयोग बढाइने नीति लिइएको छ ।
पत्रकारिता क्षेत्रलाई समेत प्राथमिकता दिँदै स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने, पत्रकारको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिने तथा प्रत्येक वर्ष ‘माङसेबुङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
अध्यक्ष राईले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि श्रम संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्दै जनश्रमदान अभियानमा सबै नागरिकलाई सहभागी हुन आग्रह गरेका छन् । उनले गाउँपालिकाको विकासमा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा आम नागरिकको सहकार्य अपरिहार्य रहेको बताउँदै प्रस्तुत नीति तथा कार्यक्रम सफल कार्यान्वयन गर्न सबै पक्षलाई सहयोगका लागि आह्वान गरेका छन् ।

















































