सडकदेखि कृषि प्रवर्द्धनसम्मका योजना कार्यान्वयनमा फाकफोकथुम वडा नं. ३ को अग्रसरता

  नयाँ बुलन्द
14 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ३ ले आर्थिक वर्ष २०८२/०८३ मा सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

शनिबार फाकफोकथुम गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाइमार्फत वडाबाट चालु आर्थिक वर्षमा भएका गतिविधि, सेवा प्रवाहको अवस्था, राजस्व संकलन तथा विकास योजनाको प्रगति सार्वजनिक गरेको हो ।

वडा अध्यक्ष दिपेन्द्र लिम्बूका अनुसार २०८३ जेठ मसान्तसम्म वडाबाट २११ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । जसमा ५१ जन्मदर्ता, २४ मृत्युदर्ता, २७ विवाह दर्ता, ४ सम्बन्ध विच्छेद दर्ता, २० बसाइँसराइ दर्ता तथा ८५ घटना दर्ता प्रतिलिपि वितरण गरिएको छ ।

यस अवधिमा वडाबाट विभिन्न प्रकारका ६३० सिफारिस जारी गरिएको तथ्यांक सार्वजनिक गरिएको छ । जसमा ६९ नागरिकता सिफारिस, १११ नाता प्रमाणित सिफारिस, १४ आयस्रोत प्रमाणित, २५ घरबाटो प्रमाणित, ११ रुख कटान सम्बन्धी सिफारिस तथा अन्य ४०० वटा सिफारिस समावेश छन् ।

वडाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ७ लाख ७६ हजार ८८९ रुपैयाँ १३ पैसा राजस्व संकलन गरेको जनाएको छ । स्थानीय स्रोत परिचालन तथा सेवा शुल्कमार्फत उक्त रकम संकलन भएको वडा कार्यालयले जनाएको छ ।

विकास निर्माण तथा लक्षित वर्ग कार्यक्रमअन्तर्गत लसुन–प्याज प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट १० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सञ्चालन गरिएको छ भने बीउबिजन तथा प्लाष्टिक टनेल खरिद तथा वितरण कार्यक्रम, पशुपंक्षीका लागि औषधि खरिद तथा प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गरिएको छ । वडाभित्रका कृषकलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले यी कार्यक्रम अघि बढाइएको वडाअध्यक्ष लिम्बूले बताए ।

पूर्वाधार विकासतर्फ सडक, खानेपानी, भवन तथा सामुदायिक संरचना निर्माणका विभिन्न योजना सञ्चालन भएका छन् । सल्लेरी सडक, कुलो तथा खोला व्यवस्थापनका लागि पाइप खरिद गरिएको छ भने गिदे खोल्सी खानेपानी योजनाका लागि पाइप खरिद कार्य सम्पन्न भएको र वितरण गर्न बाँकी छ ।

ठूलो खोल्सी–राना गाउँ सडक मर्मत, वर्षाका कारण क्षतिग्रस्त सडक मर्मतसम्भार गरिएको छ ।

त्यसैगरी कालिका देवी आधारभूत विद्यालयको गेट निर्माण कार्य पनि सञ्चालनमा रहेका छन् । कोलडाँडा–लाख्रोम्बा हुँदै महावीरे खोलासम्मको सडक स्तरोन्नति तथा महावीर हुँदै भण्डारीचौर सडक स्तरोन्नति योजनाले पनि गति लिएको छ ।

वरभञ्ज्याङ खरबारी दारीडाँडा सडक स्तरोन्नति योजनाको संशोधन प्रक्रिया अघि बढाइएको छ । उक्त योजनाअन्तर्गत अपुरो गुमानसिंह टहरो निर्माण सम्पन्न तयारी रहेको वडा कार्यालयले जनाएको छ ।

सिद्ध किरात युमामाङ मन्दिर परिसरमा अधुरो रहेको शौचालय निर्माण कार्य आगामी दिनमा अघि बढाइने जनाइएको छ ।

वडाले विकास निर्माणका कामसँगै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ । सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीले विकास निर्माणका काम, सेवा प्रवाह तथा आगामी योजनाबारे जिज्ञासा राखेका थिए भने वडा कार्यालयले प्राप्त सुझावलाई आगामी कार्यक्रम तथा बजेट निर्माणमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार