
इलाम/पाँचथरः प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र लोककथाको अनुपम संगम बनेको पाँचथरको प्रसिद्ध बेहुली ढुङ्गा पर्यटन विकासको पर्खाइमा रहेको छ। मिक्लाजुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पर्ने थामडाँडामा अवस्थित यो स्थल स्थानीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिए पनि अपेक्षित प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ। रबि बजारबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको बेहुली ढुङ्गा प्राचीन किंवदन्तीसँग जोडिएको छ। स्थानीय जनविश्वासअनुसार विवाहपछि बेहुलालाई लिएर जाँदै गर्दा एक युवती रहस्यमय रूपमा हराएकी थिइन्। लामो खोजीपछि उनी शिलामा परिणत भएको अवस्थामा भेटिएकी थिइन्। सोही घटनाको सम्झनामा उक्त शिलालाई ‘बेहुली ढुङ्गा’ नाम दिइएको र धार्मिक आस्थाका साथ पूजा गरिँदै आएको बताइन्छ।
स्थानीयवासीका अनुसार बेहुलीको आँखाबाट बगेको आँसुबाट नुवाखोलाको उत्पत्ति भएको भन्ने विश्वाससमेत रहिआएको छ। यस स्थलमा दर्शन गर्न आउने भक्तजनहरूले घुम्टो, चुरा, माला तथा महिलाले प्रयोग गर्ने श्रृङ्गारका सामग्री चढाउने परम्परा रहेको छ। यहाँ पूजा-आराधना गर्दा मनोकामना पूरा हुने, वैवाहिक सम्बन्ध सुदृढ हुने तथा सन्तान प्राप्तिको इच्छा पूरा हुने जनविश्वास छ।
बेहुली ढुङ्गा धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य पनि हो। थामडाँडाबाट पूर्वी पहाडी भूभागका मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ। वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँस, सेतो गुराँस, चाँपका फूल र हरियाली वनजङ्गलले यस क्षेत्रको सौन्दर्यलाई थप आकर्षक बनाउने गरेको छ।स्थानीय बासिन्दाहरूका अनुसार विगतमा यहाँ एकादशीका दिन मेला लाग्ने गरेको थियो भने किराँत धर्मावलम्बीहरूले उभौली र उधौली पर्वका अवसरमा पूजा–आराधना गर्ने परम्परा अझै कायम छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस स्थलमा आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
यसै स्थानको केही नजिकै मिक्लाजुङ गाउँपालिकाले बुद्धपार्क निर्माण गरी सकेको छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि सारेको छ ।स्थानीय सरोकारवालाहरूले बेहुली ढुङ्गालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन्। उनीहरूका अनुसार सडक पहुँच, विश्रामस्थल, सूचना बोर्ड तथा प्रचार सामग्रीको व्यवस्थापन गर्न सके यस क्षेत्रले पूर्वी नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन सक्ने सम्भावना रहेको छ। हाल निर्माणधीन राँके-रवि-भेडेटार सडक निर्माण सम्पन्न भएपछि पर्यटकको ओइरो लाग्ने आँकलन गरिएको छ ।

















































