
फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ५ लुम्देमा सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न भएको छ । गाउँपालिका, विषयगत शाखा तथा वडा कार्यालयबाट आर्थिक वर्षभरि सञ्चालन भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहसम्बन्धी गतिविधिको समीक्षा तथा नागरिकबाट प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
फाकफोकथुम गाउँपालिकाको आयोजना तथा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागी नागरिकहरूले पूर्वाधार विकास, सडक सुधार, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न चासो, गुनासा, प्रश्न र सुझाव राखेका थिए ।
नागरिकले उठाएका प्रश्नहरूको जवाफ वडा अध्यक्ष सिद्धमान आले र वडा सचिव लेकबहादुर नेम्बाङले दिँदै स्थानीय सरकार नागरिकप्रति उत्तरदायी रहेको उल्लेख गरे । उनले सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझाव, गुनासा र प्रतिक्रियालाई सम्पत्तिका रूपमा ग्रहण गरी आगामी योजना निर्माण र कार्यान्वयन प्रक्रियामा समेटिने प्रतिबद्धता व्यक्त गरे । साथै, स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने दिशामा वडा कार्यालय निरन्तर लागिपर्ने बताए ।
कार्यक्रममा वडा सचिव नेम्बाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वडा अध्यक्ष आलेले वडाको समग्र विकास निर्माण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहसम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा पूर्वाधार निर्माण, सामाजिक विकास, कृषि तथा आर्थिक विकास, वातावरण संरक्षण तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा भएका गतिविधिहरू समेटिएका थिए ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले नागरिक अभिमत प्रतिवेदन तथा बहिर्गमन अभिमत सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै सेवाप्रवाहका सकारात्मक पक्षसँगै सुधार गर्नुपर्ने क्षेत्रहरू औंल्याएका थिए । सहभागी नागरिकहरूले स्थानीय सरकारको पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन सार्वजनिक सुनुवाइ प्रभावकारी माध्यम भएको धारणा व्यक्त गरेका थिए ।
फाकफोकथुम गाउँपालिकाले जेठ ३१ गतेदेखि असार ६ गतेसम्म सातवटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले सार्वजनिक गरेको तालिका अनुसार बाँकी रहेको वडा नं. ४ मा असार ४ गते, वडा नं. १ मा असार ५ गते र वडा नं. ३ मा असार ६ गते विहान १० बजै सार्वजनिक सुनुवाइ कार्यक्रम हुनेछ । सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी योजना तर्जुमा तथा सेवा सुधारका आधारका रूपमा उपयोग गरिने गाउँपालिकाले जनाएको छ ।
स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीलाई थप उत्तरदायी बनाउने उद्देश्यले सञ्चालन गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
तस्बिरहरु :

















































