
पाँचथरः फाल्गुनन्द गाउँपालिकाले स्थानीय कृषकहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरीपालन प्रवर्द्धन कार्यक्रमलाई अघि बढाएको छ। गाउँपालिकाले १४ जना कृषकलाई लक्षित गर्दै २८ वटा मौरीघार वितरण गर्नुका साथै दुई दिने मौरीपालन तालिम समेत प्रदान गरेको हो। गाउँपालिकाको आर्थिक सहयोग तथा वातावरण विकास समिति कुरुम्बाको आयोजनामा सम्पन्न कार्यक्रममार्फत सातवटै वडाबाट छनोट गरिएका दुई-दुई जना कृषकलाई सहभागी गराइएको थियो। तालिमपछि प्रत्येक कृषकलाई दुई वटाका दरले मौरीबिनाका घार हस्तान्तरण गरिएको हो।

तालिममा मौरीपालन व्यवसायी विकास राईले प्रशिक्षण दिएका थिए। उनले मौरीपालनका आधारभूत विधि, मौरीमा लाग्ने रोग पहिचान तथा नियन्त्रण, मह संकलन गर्ने वैज्ञानिक तरिका लगायतका व्यावहारिक पक्षबारे सहभागीलाई जानकारी गराएका थिए।कार्यक्रममा सहभागी कृषकहरूले मौरीपालनसम्बन्धी ज्ञान र घार प्राप्त भएपछि व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रमा आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
आयोजक संस्थाका अध्यक्ष दिनेश कुमार लावतीका अनुसार मौरीपालनमा रुचि राख्ने तथा संलग्न कृषकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो। उनका अनुसार जेठ २९ गते सम्पन्न कार्यक्रममा तालिमसँगै घार वितरण गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका-५ का अध्यक्ष विष्णु कुमार चेम्जोङले यस्ता कार्यक्रमलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै दीर्घकालीन रूपमा उत्पादन र आय वृद्धि गर्ने दिशामा लैजानुपर्नेमा जोड दिएका थिए।गाउँपालिकाले आगामी दिनमा मौरीपालनलाई थप विस्तार गर्दै प्रत्येक घरमा आयआर्जनको स्रोतका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
















































