पद्मसुन्दर लाओती प्रतिष्ठानद्वारा असार १ गतेदेखि यासोकमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर, पाठेघर र स्तन क्यान्सर परीक्षण गरिने

  युद्धबहादुर बोहोरा
98 Shares

पाँचथरः पद्मसुन्दर लाओती प्रतिष्ठानले असार १ र २ गते कुम्मायक गाउँपालिकास्थित यासोकमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। काठमाडौंबाट आउने विशेषज्ञ चिकित्सकहरूको टोलीले शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, पाठेघर (आङ) खस्ने समस्याको परीक्षण र उपचार तथा स्तन क्यान्सरको परीक्षण सेवा प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष विजयवोध लावतीले जानकारी दिए। दुई दिने शिविर कुम्मायक आधारभूत अस्पताल, यासोकमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कुम्मायक गाउँपालिकासँगै छिमेकी पालिकाका महिलाहरूले पनि शिविरबाट लाभ लिन सक्ने आयोजकको अपेक्षा छ।

पाँचथरका दुर्गम बस्तीहरूमा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा नियमित रूपमा उपलब्ध नभएको अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको प्रतिष्ठानका सल्लाहकार सगुनसुन्दर लावतीले बताए। शिविर व्यवस्थापनमा कुम्मायक गाउँपालिकाले सहयोग गरेको छ भने रोटरी क्लब अफ काष्ठमाण्डप काठमाडौं, एनएनसीटीआर नेपाल बनेपा तथा नेपालीज डक्टर्स एसोसिएसन यूकेले आयोजनामा सहकार्य गरेका छन्।आयोजकले लक्षित क्षेत्रका महिलाहरूलाई स्वास्थ्य परीक्षणको अवसर उपयोग गर्न आग्रह गरेको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार