
पाँचथरः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राँके शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत जलसिंह माध्यमिक विद्यालयलाई ७५ इन्चको स्मार्ट बोर्ड सहयोग गरेको छ। करिब रु. १ लाख ७५ हजार मूल्य बराबरको उक्त स्मार्ट बोर्ड फाल्गुनन्द गाउँपालिका-३, राँकेस्थित विद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा व्यवस्थापक संजय रेग्मी र सहायक शाखा व्यवस्थापक गौरव राईले विद्यालयलाई हस्तान्तरण गरेका हुन्। वि.सं. २०३५ सालमा स्थापना भएको यस विद्यालयमा आयोजित कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मेदनी प्रसाई प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, अभिभावक तथा अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक चन्द्रकुमार अधिकारीले जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा व्यवस्थापक रेग्मीले गुणस्तरीय शिक्षामा प्रविधिको प्रयोग विस्तार गर्न र विद्यार्थीलाई आधुनिक सिकाइ वातावरण उपलब्ध गराउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सहयोग गर्दै आएको बताए। उनले आगामी दिनमा पनि शिक्षा तथा समुदायसँग जोडिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। प्रधानाध्यापक अधिकारीले बैंकप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै प्राप्त स्मार्ट बोर्डले विद्यालयको शिक्षण-सिकाइ प्रक्रियालाई थप प्रभावकारी, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले आधुनिक प्रविधिको प्रयोगले शिक्षकलाई पाठ प्रस्तुत गर्न सहज हुने र विद्यार्थीको सिकाइ उपलब्धिसमेत बढ्ने बताए। साथै आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकासका लागि बैंकसँग यस्तै सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे।
प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मेदनी प्रसाईले विद्यालयले प्राप्त गरेको स्मार्ट बोर्डको सही, प्रभावकारी र दीर्घकालीन उपयोग गर्न शिक्षक तथा विद्यालय व्यवस्थापनलाई आग्रह गरे। उनले प्रविधिमैत्री शिक्षाले विद्यार्थीको सिर्जनशीलता, सिकाइ क्षमता र शैक्षिक उपलब्धि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आधुनिक शिक्षण सामग्रीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। राँके शाखाले यसअघि पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयलाई सेनेटरी प्याड डिस्पोजल मेसिन उपलब्ध गराएको थियो। शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा बैंकले निरन्तर पुर्याउँदै आएको योगदानको स्थानीयस्तरमा प्रशंसा हुँदै आएको छ। बालविकासदेखि कक्षा १२ सम्म अध्ययन हुने जलसिंह माध्यमिक विद्यालयमा हाल २५० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने २१ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। फाल्गुनन्द गाउँपालिकाको शैक्षिक क्षेत्रमा सफल शैक्षिक संस्था मानिने विद्यालयले यस वर्षको एसईई परीक्षामा ९६ प्रतिशत नतिजा हासिल गरेको छ। यद्यपि कक्षा ११ र १२ मा सरकारी अनुदान दरबन्दी अभाव रहेकाले निजी स्रोतबाट पठनपाठन सञ्चालन गर्नुपरेको विद्यालयले जनाएको छ।















































