चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–६ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सडक, खानेपानी, सिँचाइ, शिक्षा, खेलकुद, धार्मिक तथा सामुदायिक पूर्वाधारसँग सम्बन्धित ३० वटा विकास निर्माणका योजना सम्पन्न भएका छन् । गाउँपालिका योजना शाखाले उपलब्ध गराएको असार १९ गतेसम्मको योजना प्रगति विवरणअनुसार स्थानीय पूर्वाधारको स्तरोन्नति, कृषि उत्पादन वृद्धि, सुरक्षित आवागमन तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न योजना कार्यान्वयन गरिएको हो ।
वडा नम्बर ६ मा सडक पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ । कालेपा जाने बाटो स्तरोन्नति, कालापानी सडक स्तरोन्नति, बैधे सडक स्तरोन्नति, सुनारे मोटरबाटो स्तरोन्नति, सिम्ले बाटो स्तरोन्नति, मिलगौडा-नुनसरी पैनी सडक स्तरोन्नति, सिरुवानी सडक निर्माण, भोर्लेनी ट्र्याक ओपन, मिलगौडा बाटो मर्मत, २०८२ असोज १८–२० गतेको विपद्बाट क्षतिग्रस्त चुलीखण्ड सडक मर्मत तथा शान्तिचोकदेखि पूर्णबहादुर राईको घर हुँदै अस्मिन लिम्बुको घरसम्म जाने बाटोमा ग्राभेल गर्ने कार्य सम्पन्न गरिएको छ ।
यस्तै मिलगौडा कल्भर्ट निर्माण तथा खुडी जाने कल्भर्टको मर्मत–सम्भार सम्पन्न भएपछि वर्षायाममा आवागमन थप सुरक्षित र सहज भएको स्थानीयवासीले बताएका छन् ।
कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि घताने खोल्सी–पैनी गैरी सिँचाइ कुलो निर्माण सम्पन्न गरिएको छ । यसले खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खानेपानीतर्फ आसेटार–बुवासे खानेपानी व्यवस्थापन, फुङनाम सिरान टोल खानेपानी व्यवस्थापन तथा रिठ्ठे, बुटाङ र सिस्ने क्षेत्रमा खानेपानी पाइप खरिद तथा वितरण सम्पन्न गरिएको छ । यी योजनाले स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको गाउँपालिकाले जनाएको छ ।
प्राकृतिक विपद्को जोखिम कम गर्न सिंहाङ्गे खोल्सीमा ग्याभियन वाल निर्माण गरिएको छ । यसले खोलाको कटान नियन्त्रण गरी सडक, बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणमा टेवा पुगेको छ ।
शिक्षा क्षेत्रअन्तर्गत श्री राष्ट्रप्रेमी माध्यमिक विद्यालयमा शौचालय निर्माण तथा नारायणज्योति आधारभूत विद्यालयको रंगरोगन सम्पन्न गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै विद्यार्थीलाई स्वच्छ र सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराउने लक्ष्य पूरा भएको गाउँपालिकाले जनाएको छ ।
सामुदायिक पूर्वाधारतर्फ तोरीबारी महिला सहकारी भवन व्यवस्थापन, मावाखोला बहुउद्देश्यीय चौतारा निर्माण तथा यलम्बर चौतारा निर्माण सम्पन्न गरिएको छ । यस्ता संरचनाले स्थानीय समुदायका सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
वडामा खेलकुद पूर्वाधार विस्तारका लागि साकफारा खेल मैदान स्तरोन्नति, रमिते खेल मैदान स्तरोन्नति, फुङनाम फुटबल क्लब व्यवस्थापन तथा युवा लक्षित खेलकुद कार्यक्रम सञ्चालन गरिएको छ । यी योजनाले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै खेल गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि जलदेवी मन्दिरको घेराबारा निर्माण, रमिते यायोख्खा सालिक निर्माण तथा हेभन्ली पाथ भवन मर्मत सम्पन्न गरिएको छ । यी योजनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
चुलाचुली गाउँपालिकाका अनुसार योजना कार्यान्वयनमा उपभोक्ता समितिको सक्रिय सहभागिता, स्थानीय जनश्रमको परिचालन तथा गाउँपालिकाको साझेदारीलाई प्रभावकारी रूपमा उपयोग गरिएको थियो । सडक, खानेपानी, सिँचाइ, शिक्षा, खेलकुद, धार्मिक तथा सामुदायिक पूर्वाधारका यी योजनाले वडा नम्बर ६ का नागरिकको दैनिक जीवन सहज बनाउनुका साथै कृषि उत्पादन, सेवा प्रवाह र समग्र विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् ।















































