
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कृषि उत्पादन वृद्धि, व्यावसायिक खेती प्रवर्द्धन तथा किसानको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले ७० लाख ५० हजार रुपैयाँको कृषि विकास कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको कृषि शाखाले सञ्चालन गरेका विभिन्न कार्यक्रममार्फत मकै, राजमा, आलु, अदुवा, बेसार, तरकारी तथा फलफूल खेतीको विस्तारसँगै कृषि सामग्री तथा प्रविधिमा किसानको पहुँच बढेको छ ।
गाउँपालिकाका कृषि प्रसार अधिकृत सुवास दाहालका अनुसार कृषि जोन कार्यक्रम अन्तर्गत ३० लाख बजेटबाट वडा नं. १ देखि ५ सम्म २४ लाख रुपैयाँको मकैको बीउ वितरण, वडा नं. ६ मा ४ लाख ५० हजार रुपैयाँको राजमा विकास कार्यक्रम, वडा नं. ३ मा १ लाख रुपैयाँको सिँचाइ कार्यक्रम तथा वडा नं. ४ मा ५० हजार रुपैयाँको कृषि यान्त्रीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममार्फत किसानलाई गुणस्तरीय बीउ, सिँचाइ सुविधा र कृषि औजार उपलब्ध गराइएको छ ।
त्यसैगरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (पकेट विकास कार्यक्रम) अन्तर्गत वडा नं. २ मा ६ लाख रुपैयाँमा आलु पकेट कार्यक्रम तथा वडा नं. १ र ५ मा १२ लाख रुपैयाँको अदुवा/बेसार पकेट विकास कार्यक्रम सम्पन्न गरिएको छ ।
कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा ८ लाख रुपैयाँको कृषि सामग्री तथा यान्त्रीकरण वितरण कार्यक्रम सञ्चालन गरिएको थियो । वडा नं. १ देखि ६ सम्म सञ्चालन भएको यस कार्यक्रमबाट २०० जना किसान लाभान्वित भएका छन् ।
यस्तै, गाउँपालिकाले सबै वडामा ४ लाखको निःशुल्क विपादी वितरण कार्यक्रम सञ्चालन गरेको छ । जसबाट करिब १ हजार जना किसानलाई लाभान्वित भएका छन् । तरकारी उत्पादन विस्तार गर्ने उद्देश्यले ३ लाख ५० हजार रुपैयाँको तरकारीको बीउ निःशुल्क वितरण कार्यक्रमबाट पनि १ हजार जना किसानले प्रत्यक्ष लाभ लिएका छन् ।
किसानको आवश्यकता र मागका आधारमा ५ लाख रुपैयाँको मागमा आधारित कृषि विकास कार्यक्रम समेत सम्पन्न गरिएको छ । यस्तै २ लाखको ५० प्रतिशत अनुदानमा फलफूल बिरुवा वितरण कार्यक्रम मार्फत वडा नं. १ देखि ६ सम्मका किसानलाई विभिन्न जातका फलफूलका बिरुवा उपलब्ध गराइएको छ ।
गाउँपालिकाका अनुसार यी कार्यक्रमले व्यावसायिक कृषि विस्तार, उत्पादन लागत न्यूनीकरण, आधुनिक कृषि प्रविधिको प्रयोग तथा स्थानीय किसानको उत्पादन र आम्दानी बढाउन सकारात्मक योगदान पुर्याएको कृषि प्रसार अधिकृत दाहालले बताए । गुणस्तरीय बीउबिजन, कृषि सामग्री, सिँचाइ सुविधा तथा अनुदान कार्यक्रमले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको दावी छ ।
चुलाचुली गाउँपालिकाले आगामी वर्षहरूमा पनि उत्पादनमुखी, मागमा आधारित तथा व्यावसायिक कृषिलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
















































