
इलाम : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङका किसान पृथीमान जवेगूले गतवर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गरे । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यवसायिक खेती सुरु गरेका उनले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गरे ।
कम मेहनत र कम लागतमा नै राम्रो उत्पादन हुने भएकाले फापर खेतीले उनलाई निकै प्रभावित बनायो । पहिलो वर्षको सफलतापछि उनले अब फापरको व्यवसायिक खेतीलाई थप विस्तार गर्ने योजना बनाएका छन् । ‘मैले गत वर्ष पहिलो पटक ३० रोपनी क्षेत्रफलमा फापरको खेती लगाएको थिएँ । उत्पादन पनि अपेक्षाकृत नै भयो,’ जवेगूले भने, ‘करिब ५० केजी बिउ प्रयोग गर्दा ६ क्विन्टल फापर उत्पादन भयो ।’
उनका अनुसार उत्पादन भएको फापरबाट राम्रो आम्दानी समेत भएको छ । बजारमा फापरको माग उच्च रहेकाले अधिकांश उत्पादन घरैबाट बिक्री भएको उनले बताए । घरैबाट प्रतिकेजी २०० देखि ३०० रुपैयाँका दरले फापर बिक्री भएको उनले बताए । ‘फापरको माग निकै रहेछ । घरमै आएर प्रतिकेजी २०० देखि ३०० रुपैयाँका दरले किनेर लैजान्थ्यो । उत्पादन पर्याप्त नभएकाले सबैको माग पूरा गर्न सकिन,’ उनले भने, ‘त्यसैले अब आगामी वर्षदेखि खेतीको क्षेत्रफल बढाएर व्यवसायिक रूपमा फापर खेती गर्ने योजना बनाएको छु ।’
गत वर्षको अनुभवपछि उनले यस वर्ष पनि सोही क्षेत्रफलमा फापर खेती गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक जग्गा व्यवस्थापन, मलखाद तथा बीउको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । ‘गत वर्ष पहिलो पटक फापर खेती गरेको थिएँ । पहिलो अनुभवमै राम्रो उत्पादन र आम्दानी भएपछि यसप्रति मेरो आकर्षण बढेको छ,’ उनले भने, ‘यस वर्षदेखि फापरलाई व्यवसायिक रूपमा विस्तार गर्ने योजना बनाएको छु । त्यसका लागि आवश्यक सबै तयारी गरिरहेको छु ।’
जवेगूको फापर खेतीप्रतिको आकर्षण बढाउन माङसेबुङ गाउँपालिकाको महत्वपूर्ण योगदान छ । आर्थिक वर्ष २०८१/०८२ मा माङसेबुङ गाउँपालिकाले सञ्चालन गरेको ‘फापर खेती प्रबर्द्धन कार्यक्रम’ अन्तर्गत उनले ५० प्रतिशत लागत साझेदारीमा ६ लाख रुपैयाँ बराबरको कार्यक्रममा सहभागिता जनाए । कार्यक्रम अनुसार कुल ६ लाखमध्ये ३ लाख माङसेबुङ गाउँपापलिकाले अनुदान उपलब्ध गराएको थियो भने बाँकी ३ लाख जवेगूले आफ्नै लगानी गरेका थिए ।

गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगले फापरको व्यवसायिक खेती गर्न थप हौसला मिलेको उनी बताउँछन् । ‘गाउँपालिकाको अनुदान र प्राविधिक सहयोगले मलाई फापरको व्यवसायिक खेती गर्न थप हौसला मिलेको छ,’ उनले भने, ‘पहिलो वर्षमै राम्रो उत्पादन र आम्दानी भएपछि फापर खेतीप्रति मेरो विश्वास बझ बढेको छ । अब खेतीको क्षेत्रफल विस्तार गरेर यसलाई व्यवसायिक रुपमा अघि बढाउने योजना बनाएको छु ।’
जवेगू मात्र होइन, माङसेबुङका अन्य किसानहरुसमेत व्यवसायिक फापर खेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसानले व्यक्तिगत एवम् सामूहिक रूपमा फापर खेती सुरु गरेका छन् । माङसेबुङ गाउँपालिका-३ का देउकुमार इधिङ्गोले २० रोपनी क्षेत्रमा फापर खेती गर्दै आएका छन् । उनले ‘इधिङ्गो कृषि तथा पशुपालन फार्म’ मार्फत अन्य कृषि र पशुपालन व्यवसायसँगै फापर खेती गर्दै आएका हुन् ।
व्यवसायिक फापर खेती गर्ने किसानलाई माङसेबुङ गाउँपालिकाले पनि राम्रै सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०८२/०८३ को ‘फापर खेती प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा इधिङ्गो फार्मलाई उपकरण तथा मेसिनरी खरिद गर्नका लागि ४ लाखको कार्यक्रम उपलब्ध गराएको छ । कार्यक्रम अनुसार कुल ४ लाखमध्ये २ लाख माङसेबुङ गाउँपापलिकाले अनुदान उपलब्ध गराएको हो भने बाँकी २ लाख इधिङ्गोले आफ्नै लगानी गरेका छन् ।
रैथाने बाली प्रवर्द्धनका लागि गाउँपालिकाबाट ५० प्रतिशत अनुदान पाएपछि इधिङ्गो समेत खुसी छन् । ‘हाम्रो दुःख र आवश्यकतालाई बुझेर माङसेबुङ गाउँपालिकाले कृषि उपकरण तथा मेसिनरी खरिदका लागि रु २ लाख अनुदान उपलब्ध गराएको छ,’ इधिङ्गोले भने, ‘यस्ता अनुदान र प्रोत्साहनका कार्यक्रमले हामीजस्ता किसानलाई व्यवसायिक कृषि कर्ममा लाग्न थप हौसला र आत्मविश्वास मिलेको छ ।’
माङसेबुङका किसान व्यक्तिगत रूपमा मात्र होइन, सामूहिक रूपमा समेत फापर खेतीमा आकर्षित भएका छन् । माङसेबुङ गाउँपालिका-५ का किसानहरु सहकारी संस्थामार्फत सामूहिक फापर खेतीमा लागेका छन् । यहाँका किसानहरु ‘माङसेबुङ बहुउद्देश्यीय सहकारी संस्था’मार्फत सामूहिक फापर खेतीमा लागेका हुन् । सहकारी संस्थामार्फत ५० रोपनी क्षेत्रफलमा फापर खेती हुँदै आएको संस्थाका अध्यक्ष दुधबहादुर लावतीले बताए ।
‘हामीले सामूहिक खेती प्रणालीअन्तर्गत सहकारी संस्थामार्फत ५० रोपनी क्षेत्रफलमा फापर खेती गर्दै आएका छौं,’ अध्यक्ष लावतीले भने, ‘यसको उत्पादन र क्षेत्रफल दुवै बढाउँदै आगामी वर्षदेखि फापर खेतीलाई अझ विस्तार गर्दै लैजाने योजनामा छौं ।’
उनीहरुको सामूहिक फापर खेतीलाई समेत माङसेबुङ गाउँपालिकाले प्रवर्द्धन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को ‘फापर खेती प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत माङसेबुङ गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा सो सहकारी संस्थालाई ८ लाखको कार्यक्रम उपलब्ध गराएको छ । कूल ८ लाखमध्ये ४ लाख माङसेबुङ गाउँपालकाले अनुदान उपलब्ध गराएको हो भने बाँकी ४ लाख सहकारी संस्थाले साझेदारी गरेको छ । कार्यक्रमअन्तर्गत उपकरण तथा मेसिनरी खरिद एवम् बीउ र मलखादको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन गरिएको संस्थाका अध्यक्ष लावतीले बताए ।
यता माङसेबुङ गाउँपालिका कृषि विकास शाखाकी नायब कृषि प्राविधिक निरुपा राईले गाउँपालिकाले किसानलाई फापर खेती प्रवर्द्धनका लागि दिएको अनुदानले किसानहरु समेत उत्साहित भएको पाइएको बताइन् । ‘हामीले जुन उद्देश्यका साथ किसानलाई अनुदान दिएका थियौं, किसानहरु पनि उत्साहित रूपमा कृषि कर्ममा लागेको पाएका छौं,’ राईले भनिन्, ‘गाउँपालिकाले कृषि क्षेत्रमा दिएको प्रोत्साहन कार्यक्रमले किसानहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा जगाएको पाएका छौं, यसबाट हामी पनि सन्तुष्ट छौं ।’
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि बढेको बताए । ‘कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको माङसेबुङमा कृषि क्षेत्रलाई नै प्राथमिकता राखेर अघि बढेका छौं,’ अध्यक्ष राईले भने, ‘किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा छन् । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिनेछौं ।’
बजार सहज
नेपालमा फापरको कुनै निश्चित र आधिकारिको बजारको व्यवस्था छैन । तर पनि मानिसहरुमा आउने गरेको स्वास्थ्य समस्याका कारण फापरको बजार बढ्दो देखिन्छ । उत्पादकले फापर स्थानीय बजार र केही ठूला बजारमा बिक्री गर्ने गर्छन् । माङसेबुङका किसानलाई फापर बिक्रीको कुनै समस्या छैन ।
फापरबाट विभिन्न बहुउपयोगी परिकार बन्ने भएकाले यसको बजार सहज रहेको माङसेबुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लावतीले बताए । ‘फापर बिक्रीका लागि यहाँ कुनै समस्या छैन, बरु बजारमा माग धान्न सकिरहेका छैनौं,’ लावतीले भने ।

फापरमा औषधीय गुण भएकाले यसको बजारमा माग बढ्दो छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको बसोबास रहेको क्षेत्र ‘शाकाहारी गाउँ’ माङसेबुङ गाउँपालिकामा नै पर्ने भएकाले पनि अधिकाशं फापर त्यहीँ खपत हुने गरेको अध्यक्ष लावतीको भनाइ छ । यसका साथै झापाको दमक, विर्तामोडलगायतका बजारहरुमा व्यापारीमार्फत माङसेबुङको फापर बिक्री हुने गरेको छ ।
माङसेबुङ गाउँपालिकामा फापर उत्पादन हुने कुनै यकिन तथ्याङ्कसहितको दस्तावेज छैन । यद्यपि, व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि गरी बढीमा ५ मेट्रिक टनसम्म फापर उत्पादन हुँदै आएको माङसेबुङ गाउँपालिका कृषि विकास शाखाकी नायब कृषि प्राविधिक राईले जानकारी दिइन् ।
पोषणयुक्त खाद्यान्न
नेपालमा फापर खेती प्राचीन कालदेखि गरिदैँ आएको बाली हो । विशेषगरी हिमाली र पहडी भेगमा उत्पादन हुने रैथाने बाली फापर पोषणयुक्त खाद्यान्न हो । यसलाई भौगोलिक स्थान अनुसार ग्रिष्म, हिउँदे, शरद र बसन्ते बालीको रुपमा खेती गरिदैँ आएको छ । फापरलाई ठण्डा र आद्र हावापानी फाप्दछ । तर अलि बढी न्यानो तापक्रममा पनि खेती गर्न सकिन्छ । हिउँ र तुषारोलाई छलेर खेती गर्न सकेमा निकै उचाइमा समेत फापर खेती गर्न सकिन्छ । नेपालमा २ हजार १०० मिटर भन्दा माथिको भागमा फापर बढी मात्रामा खेती गरेको पाइन्छ ।
फापर तीते र मिठे गरी दुई प्रजातिको रहेको पाइन्छ । फापरलाई निकै लोकप्रिय खाद्यबालीको रूपमा लिइन्छ । स्वास्थ्यलाई निकै फाइदा पु¥याउने फापरबाट खाना, आँटो, ढिँडो, रोटीलगायत विभिन्न परिकार बनाएर उपयोग गर्ने गरिएको छ ।
पछिल्लो समय हराउन लागेको फापर खेतीलाई जोगाउन किसानहरु व्यवसायिक फापर खेतीमा लाग्नुपर्ने स्वयम् किसानहरु नै बताउँछन् । निकै महत्वपूर्ण खाद्यान्न भएकाले फापरको संरक्षणमा सबै लाग्नुपर्ने माङसेबुङ-३ का किसान कृष्ण बुढाथोकी बताउँछन् । ‘हामी सानै हुँदा गाउँघरमा फापरको प्रशस्त खेती हुन्थ्यो । आजकल क्रमशः कम हुँदै गएको देखिन्छ,’ उहाँले भने, ‘रैथाने बाली फापरको संरक्षण र प्रवर्द्धनमा सबैको साझा पहल आवश्यक छ । त्यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकाले स्पष्ट नीति बनाएर पकेट क्षेत्र विकास, उत्पादन प्रवद्र्धन र बजारीकरणसँग जोडिएका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।’
फापर पोषणयुक्त खाद्यान्न हो । फापरमा २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व पाइन्छ । फापरमा प्रशस्त मात्रामा पाइने म्याग्नेसियम शरीरलाई स्वस्थ राख्न उपयोगी मानिन्छ । फापरमा प्रसस्त मात्रामा रेशादार तत्व, भिटामिन बी १, बी २ र बी ६, प्रोटिन, खनिज पाइन्छ । शाकाहारीका लागि फापर प्रोटिनको स्रोत हो । फापर मधुमेह नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ । फापर मिनरल, भिटामिनको राम्रो स्रोत मानिन्छ । साथै कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र प्रोटिन पनि पाइनछ । त्यसैले फापरलाई औषधिको रूपमा पनि बढी महत्व दिने गरेको पाइन्छ ।
खेती प्रविधि र बीउको संरक्षण

फापरको खेती निकासयुक्त बलौटे दुमट तथा पाँगो दुमट माटोमा राम्रो मानिन्छ । पानी जम्ने ठाउँमा यसको खेती गर्न सकिँदैन । अन्य बालीजस्तो यो बालीलाई धेरै मलिलो माटो पनि चाँहिदैन । धेरै मलिलो माटोमा फापर लगाउँदा पछि बाली ढल्छ । चिम्टाइलो माटोमा फापरको उम्रने शक्तिमा असर पर्ने हुँदा अंकुरण एकै नासको हुँदैन । फापरले माटोमा अमलियपन सहन सक्छ । यसको लागि ५/६ पी एच उपयुक्त मानिन्छ ।
यसका लागि जमिनलाई १–२ पटक हलो वा ट्याक्टरले जोतेर डल्ला फोरी झारपातहरु हटाउनुपर्छ । जमिन तयारी गर्दा पानीको राम्रो निकासको प्रबन्ध मिलाउनुपर्छ । रोप्ने समयमा माटोमा चिस्यान हुनुपर्छ । जमिनको राम्रो तयारी भएमा एक नासले फापर उम्रन्छ र बोटको उपयुक्त घनत्व कायम हुन्छ ।
फापर खेतीका लागि गोठे मल वा कम्पोष्ट मल उपयुक्त मानिन्छ । पापर रोप्नुभन्दा १५–३० दिन अगाडि राम्रोसँग पाकेको मल १००–१५० केजी प्रतिहेक्टरको दरले माटोमा एक नासले पर्ने गरेर तुरुन्तै माटोमा जोतेर वा खनेर मिलाउनु पर्दछ ।
फापर खाद्यान्न वा बीउ उत्पादनको निम्ति खेती गर्दा तराई भेगमा कार्तिकमा, मध्य पहाडमा भदौ र फागुन गरी दुई समयमा र उच्च पहाडमा वैशाखमा खेती गर्न सकिन्छ । बीउ टिप्ने बित्तिकै पनि उम्रने हुँदा तरकारी र सागको लागि हिउँ, तुसारो तथा अति चिसो समय छलेर अन्य जुनसुकै बेलामा लगाउन सकिन्छ । बीउका लागि १ वर्ष भन्दा पुरानो बीउ हुनु हुँदैन । बीउका लागि खोष्टासहितको दानालाई घाममा सुकाएर १ वर्षसम्म साधारण घरमा राख्न सकिन्छ । दानालाई माटोको भाँडामा, माटोले लिपेको काठ वा बाँसको भाडामा, टिनमा, काठको बाकसमा पा थैलोमा राख्न सकिन्छ ।
फापरको बहुउपयोग
स्थानीय स्तरमा फापरलाई भात (खाना) को रूपमा, मुन्टा (कमलो काण्ड र पात) लाई साग तरकारीको रूपमा, पिठोबाट रोटी, ढिँडो, च्याख्लालाई जाँड, रक्सी आदि बनाएर खाने गरिन्छ । फापरको पिठोबाट चाउचाउ, केक, बिस्कुट, कुकिज, पाउरोटी, मम, सुप, सेलरोटी, हलुवा, प्यान केक आदि बनाएर खाने चलन छ ।
संरक्षणमा चुनौती
पोषणयुक्त रैथाने बाली फापरको संरक्षमा भने निकै चुनौती रहेको किसानहरु बताउँछन् । अन्य नगदेबाली भन्दा कम उत्पादन हुने र बोक्रा निकाल्न गाह्रो हुने, बढी उत्पादन दिने जात र फापर सम्बन्धी अन्य प्रविधिहरुको विकास हुन नसक्नु, दाना सानो हुने र पिठो कम पर्ने, मिठे फापरमा न्यून मात्रामा दाना लाग्ने, तितोपन बढी, तुसारो र चिसोले उत्पादनमा असर गर्नुलगायतका कारण फापर खेती संरक्षणमा चुनौती रहेको किसानहरुको भनाइ छ ।















































