चुलाचुली रङ्गमञ्चको कृति ‘झोडा’ विमोचन

इलाम : इलामको चुलाचुलीस्थित चुलाचुली रंगमञ्चले प्रकाशन गरेको कृति ‘झोडा’ शुक्रबार विमोचन गरिएको छ । नाटक ‘झोडा’ र ‘उर्फ दारासिंह’ को सिर्जना प्रक्रिया, पृष्ठभूमि, पात्र निर्माण, कथावस्तु तथा नाटकभित्रका अन्तर्कथालाई समेटिएको कृति विमोचन गरिएको हो ।

चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, अग्रज कलाकार ज्ञानोदय लावती, रंगकर्मी कविता नेपाल, लेखक सुमन लिङ्देन, चुलाचुली-१ नं. वडा अध्यक्ष ध्रुव लावती, ४ नं. वडा अध्यक्ष सागर जवेगू, साहित्यकार विवश बलिभद्र कोइराला संयुक्त रूपमा कृति विमोचन गरे ।

यस्तै सोही कार्यक्रमको अवसरमा चुलाचुली रंगमञ्चको विगत र वर्तमान समेटिएको वृतचित्र समेत सार्वजनिक गरिएको छ । वृतचित्रमा चुलाचुली रंगमञ्च स्थापनाको पृषठभूमिक, रंगमञ्चले गरेका गतिविधि, भोगेका अनुभूति, वर्तमान अवस्था एवम् भविष्यको योजनालगायत समेटिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्थानीय कला, साहित्य र रंगमञ्चको विकासमा यस्ता कृतिले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । ‘स्थानीय समाज, संस्कृति र जनजीवनका कथालाई पुस्तकमार्फत अभिलेखीकरण गर्नु आफैंमा प्रशंसनीय काम हो । यस्ता सिर्जनाले आगामी पुस्तालाई आफ्नो पहिचान बुझ्न सहयोग पुर्‍याउँछन्,’ उनले भने ।

अग्रज कलाकार ज्ञानोदय लावतीले रंगमञ्च केवल मञ्चमा सीमित नहुने बताए । ‘रंगमञ्चको सिर्जना प्रक्रिया, त्यसको पृष्ठभूमि र अन्तर्कथालाई पुस्तकका रूपमा सुरक्षित गर्नु नेपाली रंगमञ्चका लागि महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भने ।

कार्यक्रममा १ नं. वडा अध्यक्ष ध्रुव लावती, ४ नं. वडा अध्यक्ष सागर जवेगूलगायतले  कृतिले पाठकलाई नाटकको गहिराइ बुझ्न मद्दत गर्ने बताए । उनीहरुले कृतिले सिर्जनाको अन्तरकथा उजागर गरेको बताउँदै अनुसन्धानकर्ता, विद्यार्थी र रंगकर्मीका लागि यो कृति उपयोगी सन्दर्भ सामग्री बन्ने उल्लेख गरे ।

लेखक सुमन लिङ्देनले नाटक ‘झोडा’ र ‘उर्फ दारासिंह’ भित्रका सामाजिक परिवेश र सिर्जनात्मक यात्रालाई पाठकमाझ पुर्‍याउने उद्देश्यले यो कृति तयार गरेको बताए । नाटकभित्र लुकेका धेरै कथाहरू पुस्तकमा समेट्ने प्रयास गरेको उनले बताए ।

कार्यक्रमका अध्यक्ष तथा निर्देशक चेतन आङथुपोले चुलाचुली रंगमञ्चले स्थानीय कला, संस्कृति र रंगकर्मको संरक्षण तथा प्रवर्द्धनलाई निरन्तरता दिँदै आएको बताए । ‘मञ्चनसँगै सिर्जनालाई अभिलेखीकरण गर्नु पनि उत्तिकै आवश्यक छ । आगामी दिनमा पनि यस्ता साहित्यिक तथा नाट्य कृतिको प्रकाशनलाई निरन्तरता दिनेछौँ,’ उनले भने, ‘त्यसका लागि सबैको सहयोगको अपेक्षा छ ।’

कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले उक्त कृतिले नेपाली नाट्य साहित्यको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरुले कविता वाचन समेत गरेका थिए । चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङथुपोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष गिरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार