ठेक्का सम्झौता गर्‍यो, काम गरेन : सदरमुकामसँग माङसेबुङको यातायात सम्पर्क बिच्छेद

 

इलाम : इलाम सदरमुकामसँग जिल्लाको माङसेबुङ गाउँपालिकाको यातायात सम्पर्क बिच्छेद भएको छ । धार्मिक क्षेत्र गजुरमुखी धामस्थित माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पुलमा निर्माण गरिएको अस्थायी ड्याममा बाढीले क्षति पुर्‍याएपछि माङसेबुङ सदरमुकामसँग सम्पर्क बिच्छेद भएको हो ।

मङ्गलबारे-गजुरमुखीधाम-इभाङ सडक खण्डमा पर्ने पुलमा निर्माण गरिएको अस्थायी ड्याममा राती देउमाई खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि पूर्ण रुपमा अवरुद्ध भएको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले जानकारी दिनुभयो । गत असोज १८ गतेको आरीघोप्टे वर्षापछि आएको बाढीले कटान गरी पुलको एकातर्फको भाग खोलाको बिचमा पुर्याएपछि सडक अवरुद्ध भएको थियो । सो कटान क्षेत्रमा कोशी प्रदेश सरकारको रु १० लाखको लागतमा अस्थायी ड्याम निर्माण गरी तत्काल यातायात सुचारु गरिएको थियो ।

तर, गएरातीको बाढीले ड्यामको एकतर्फको भाग भत्काएपछि माङसेबुङको सदरमुकामसँग यातायात सम्पर्क बिच्छेद भएको गाउँपालिका उपाध्यक्ष नेम्बाङले बताए । ‘गएको असोज १८ गतेको बाढीले पुलको आधा भाग बगाएपछि प्रदेश सरकारको सहयोगमा अस्थायी ड्याम निर्माण गरी यातायात सुचारु गरिएको थियो,’ उपाध्यक्ष नेम्बाङले भने, ‘गएरातीको बाढीले ड्याममा क्षति पुगेपछि वारिबाट पारी र पारीबाट वारि आवतजावत नै ठप्प भएको छ ।’

यातायात अवरुद्ध भएपछि माङसेबुङतर्फबाट यात्री लिएर इलाम सदरमुकाम हिँडेका सवारी साधान माङसेबुङतर्फ नै रोकिएका छन् भने सदरमुकामबाट यात्री लिएर माङसेबुङतर्फ आएका सवारीहरु देउमाई नगरपालिकातर्फ नै रोकिएका छन् । गन्तव्यमा नपुगी सवारी साधन बिचैमा रोकिएपछि यात्रीहरु अलपत्र परेका छन् ।

बाढीले ड्याममा क्षति पुर्‍याएपछि पाँचथरको रवि बजारबाट गजुरमुखी धाम हुँदै इलाम सदरमुकाम हिँडेको सवारी गजुरमुखी धाममा नै रोकेर राख्नुपरेको चालक सुमन रम्तेलले बताP । ‘विहानै रवि बजारबाट यात्रीहरु लिएर इलाम जाँदै थिएँ, गजुरमुखी धाम आएपछि मात्र यातायात अवरुद्ध भएको थाहा पाएँ,’ उनले भने, ‘आफूसहित यात्रीहरु अलपत्र परेका छौं । सरकारले समयमा ध्यान नदिँदा नागरिकले सास्ती व्यहोर्नुपरेको छ ।’

सो क्षेत्रबाट सदरमुकाम जाने अर्को वैकल्पिक सडक समेत नभएकाले यात्रीहरु थप समस्यामा परेका हुन् । गजुरमुखी धामदेखि २ दशमलव ५ किलोमिटर माथि मात्र रहेको देउमाई फाकफोक दोभानको पक्की पुल समेत गतवर्षको बाढीले बगाएपछि वैकल्पिक उपाय समेत नभएको यातायात व्यवसायी इन्द्रकुमार राईले बताए ।

‘यहाँको नजिकै रहेको दुवै पुलमा बाढीले क्षति पुर्‍याएपछि यताबाट सदरमुकाम जान नै ठप्प भएको छ,’ उनले भने, ‘सदरमुकाम जाने अर्को बाटो पनि छैन, हाम्रो सवारी सधान थन्काएर यतै बस्नुको विकल्प रहेन ।’

माङसेबुङबाट सदरमुकाको यातायात सम्पर्क बिच्छेदल व्यापारीसमेत मारमा परेका छन् । खाद्य सामग्री लिएर माङसेबुङ आएको मालवाहक साधनहरु फर्कन नसकेपछि समस्यामा परेको व्यापारी दिपेश कार्कीको गुनासो छ । ‘खाद्य सामग्री लिएर माङसेबुङ आएका थियौँ, फर्कन नपाइ यतै थुनिएका छौं,’ कार्कीले भने, ‘अब के गर्ने, दोधारमा छौँ ।’

गतवर्षको बाढीले गजुरमुखी धामको झोलुङ्गे पुल समेत बगाएकाले पैदल यात्रुलाई समेत समस्या भएको स्थानीय खगेन्द्र तामाङको गुनासो छ ।

माङसेबुङ गाउँपालिकाका अधिकृत छैटौँ (इन्जिनियर) युवराज दाहालले प्रदेश सरकारले समयमा बजेट नदिदाँ र ठेकेदारले पनि सम्झौता गरेर निर्माण कार्य सुरु नगर्दा नागरिकले यस्तो सास्ती ब्यहोर्नुपरेको बताए ।

ठेक्का सम्झौता गर्‍यो, काम गरेन

सो पुल संरक्षणका लागि बजेट नआएको भने होइन । कोशी प्रदेश सरकारबाट पूर्वाधार विकास कार्यालय इलाममार्फत ५० लाखमा ठेक्का समेत लाग्यो । काम सम्पन्न गर्ने सम्झौता पनि भयो । तर ठेकेदार कम्पनीले निर्माण कार्य सुरु नै गरेन । ठेकेदार कम्पनीले काम सुरु नगर्दै बाढीले अस्थायी ड्याममा क्षति पुर्‍याएपछि नागरिकले सास्ती खेप्नुपरेको हो ।

पूर्वाधार विकास कार्यालय इलामका प्रमुख इन्जिनियर रञ्जय सिंहले तत्काल निर्माण कार्य सुरु गर्न निर्देशन दिएको बताए । ‘विपदका कारण सात दिने मात्र सूचना प्रकाशन गरी चाँडो गर्न हामीले पहल गरेका थियौँ, २५ दिनमै काम सक्नेगरी असार पहिलो साता भूमिका कन्ट्रक्सन एण्ड सप्लार्यसँग सम्झौता पनि भएको थियो,’ उनले भने, ‘तर ठेकेदार कम्पनीले निर्माण कार्य सुरु नै नगरी यो अवस्था आयो, तत्काल काम सुरु गर्न निर्देशन दिइएको छु ।’

सिंहले म्याद थप गरेरै भएपनि ठेकेदार कम्पनीलाई काम गर्न लगाइने बताए । उनले अनुसार सो स्थानमा पुल संरक्षणका तारजालीसहितको पर्खाल लगाएर माटो भर्नुपर्नेछ । सो कामका लागि पूर्वाधार विकास कार्यालयले ५० लाखमा ठेक्का आह्वान गरेकोमा भूमिका कन्ट्रक्सन एण्ड सप्लायर्स देउमाईले ४१ लाख ५३ हजार ७७४ सम्झौता गरेको थियो  । पूर्वाधार विकास कार्यालयले सो क्षेत्रमा बाँध निर्माणका लागि ३ करोड माग गरेपनि रु प्रदेश सरकारबाट ५० हजारमात्र प्राप्त भएको प्रमुख सिंहको भनाइ छ ।

यता ठेकेदार कम्पनीले अझैसम्म निर्माण कार्य सुरु नगरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । स्थानीय सुरेन्द्र नेम्बाङले ठेकेदार कम्पनीको लापरवाहीका कारण स्थानीयले अनावश्यक सास्ती र कष्ट भोग्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गरे । यस विषयमा ठेकेदार कम्पनीको धारणा बुझ्न कम्पनीका प्रोप्राइटर निरोज ढकाललाई मोबाइल नम्बर ९८५२६८०६३३ मा सम्पर्क गर्ने प्रयास गरिएपनि उनको फोन उठेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार