
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँची खेती लगाउनुभएको छ । विगत ३ वर्षदेखि अलैँची खेती सुरु गर्नुभएका बुढाथोकीले धान फल्ने खेत मासेर अलैँची खेती विस्तार गर्नुभएको हो । अलैँची बेचेर उहाँले वार्षिक लाखौं आम्दानी गर्दै आउनुभएको छ । यस वर्ष मात्र उहाँले अलैँची बेचेर रु १७ लाख हात पार्नुभयो । प्रतिमन (४० किलो) रु एक लाखका दरले अलैँची बेच्नुभएको उहाँले बताउनुभयो ।
‘यो वर्ष अलैँचीको उत्पादन राम्रै थियो । भाउ पनि राम्रो पाइयो,’ उहाँले भन्नुभयो, ‘घरैबाट प्रतिमन रु एक लाखका दरले सुख्खा अलैँची बिक्री गरेर १७ लाख आम्दानी गर्न सफल भएँ ।’ उहाँले जिर्मले जातको अलैँची खेती गर्दै आउनुभएको छ । पछिल्लो वर्ष व्यावसायिक अलेँची खेतीमा लाग्नुभएका उहाँले अलैँचीको बजार राम्रो भएकाले विदेश जान छोडेर व्यावसायिक अलैँची खेतीमा जुटेको बताउनुभयो ।
माङसेबुङ गाउँपालिका-२ का अर्का किसान गणेश लिम्बूले पनि यस वर्ष अलैँची बिक्रीबाट रु १६ लाख बढी आम्दानी गर्नुभएको छ । विगत ५ वर्षदेखि अलैँची खेती गर्दै आउनुभएका लिम्बूले २५ रोपनी क्षेत्रफलको खेत मासेर अलैँची खेती गर्दै आउनुभएको छ । ‘मैले विगत ५ वर्षदेखि धान फल्ने खेम मासेर अलैँची खेती गर्दै आएको छु । यस पटक त भाउ पनि राम्रै आएकाले राम्रो आम्दानी गर्न सफल भएँ,’ उहाँले भन्नुभयो, ‘यो वर्ष थप ७ रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गर्ने तयारी गरिरहेको छु ।’
अलैँची बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्च साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो । ‘मेरो परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च यही अलैँची खेतीले धानेको छ’ उहाँले भन्नुभयो । उहाँले रामशाही र गोलशाही जातको अलैँती खेती गर्दै आउनुभएको छ । पछिल्लो समय अलैँचीमा रोग नलाग्ने र राम्रो मुल्यमा बिक्री हुन थालेपछि किसानहरु अलैँची खेतीमा आकर्षित भएका हुन् । अलैँची खेतीले यहाँको किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेको छ । किसानहरुले व्यावसायिक रुपमा अलैँची खेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।
अलैँचीको मुल्य बढेसँगै किसानले धान र अन्य खेती छाडेर पनि अलैँती खेतीलाई बढाएका छन् । अरु खेतीको दाँजोमा अलैँची खेतीले नाफा बढी हुने भएकाले पनि यसो खेतीमा किसानको उत्साह बढेको हो । यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र खेती गरिने अलैंचीलाई पछिल्लो सयम कृषकले अन्य अन्न बाली छाडेर खेत र करेसाबारीमा रोप्न थालेका छन् ।
परम्परागत शैलीको अलैँची खेतीबाट आधुनिकीकरण समेत हुन थालेपछि उत्पादन र आम्दानीमा समेत वृद्धि हुन थालेको माङसेबुङ-३ चिबुवाका किसान इन्द्रबहादुर लिम्बूको अनुभव छ । ‘गत वर्षदेखि उकालो लागेको अलैँचीको भाउले रु १ लाख नाघ्यो, मुल्य बढेपछि व्यापारीहरुको पनि खोसामार हुँदो रहेछ,’ उहाँले भन्नुभयो, ‘बिक्रीका लागि समेत समस्या परेन ।’ उहाँले बेर्सेनि १५ मन अलैँची बिक्री गरेर लाखौं आम्दानी गरिरहेको सुनाउनुभयो ।
अलैँची खेतीबाट मनग्ये आम्दानी लिन सफल भएपछि आफूले अलैँती खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ । माङसेबुङ गाउँपालिका वडा नं. १, २, ३ र ६ को विभिन्न क्षेत्रका किसानले व्यावसायिक रुपमा अलैँची खेती गर्दै आएका छन् । पहाडी भेगका गाउँमा अलैँची खेती किसानहरु बढ्दै गएको छ । खेर गइरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानी बगिरहने, बढी चिस्यान, सेपिलो, ओसिलो, छाँया पर्ने, भिरालफ, कम गहिरो माटो भएको, कमसल जग्गाहरुमा समेत अलैँची खेती गर्न सकिने भएकाले किसानहरु अलैँती खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुले खेतबारीमा अन्नबाली लगाउन छाडेर अलैँती रोपेका छन् । सामान्य अलैँची खेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रुपमा अलैँची खेती सुरु गर्न थालेका छन् । उत्पादन र मुल्य समेत समेत राम्रो हुँदै गएकाले किसानहरु अलैँची खेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् ।
कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि त्यस किसानहरु व्यावसायिक अलैँची खेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकाशं किसानले व्यावसायिक अलैँची खेती सुरु गरेका छन् । बाँझो रहेका पाखा पखेरामा समेत हुने भएपछि किसानहरुले व्यावसायिक रुपमा अलैँची खेती सुरु गरेका हुन् । उनीहरुले व्यावसायिक रुपमा अलैँची खेती गरी लाखौं आम्दानी लिईरहेका छन् । उनीहरुले खेतीयोग्य जमिन मासेर समेत व्यवसायिक अलैँची खेती गर्दै आएका हुन् । यहाँका किसानले सामशाही, गोलशाही, जिर्तले, भर्लाङ्गेलगायत जातका अलैँची खेती गर्दै आएका छन् ।
बहुवर्षीय सदावहार बाली
अलैँची एक सदावहार बाली हो । यसले एकपटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिइरहन्छ । यसको बोट १ देखि २ दशमलव ५ मिटरसम्म अग्लो हुन्छ । यसको मध्यम खालको झाङ हुन्छ । अलैँतीका वानस्पतिक भागलाई जरा, लाँक्रा, पात, थुङ्गा, फल र दाना गरी ६ भागमा विभाजन गरिएको हुन्छ ।
भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची खेती समुद्र सतहदेखि ६०० मिटरदेखि २१०० मिटर उचाइसम्मा गन सकिन्छ यसका लागि उपयुक्त तापक्रम १० देखि ३० डिग्री सेल्सियस हुने पहाडी क्षेत्र मानिन्छ । अलैँतीले बढी आद्रता भएमा राम्रो मानिन्छ । वर्षा जति भयो त्यति राम्रो मानिन्छ । सिँचाइ भन्दा पर्षाको पानी राम्रो मानिन्छ । तर फेदमा पानी जम्न दिनु भने हुँदैन । वार्षिक सरदर वर्षा २००० देखि २५०० मिलिमिटर हुने स्थानमा यसको व्यावसायिक खेती गरिन्छ । यसले बढी हुरी बतास र तुसारो एवम् हिउँ सहन सक्दैन ।
औषधीय महत्व
अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाईएको छ । अलैँचीमा थुप्रै औषधीय गुणहरु पाइने जिज्ञहरुको भनाइ छ । अलैँचीलाई मुखम राखेर चुस्नाले स्वरलाई ठीक बनाउने र टन्सील जस्ता रोगलाई ठीक पार्ने, अलैँचीलाई पानीमा राखेर उमाली चियाजस्तो बनाएर खानाले स्वस्थ हुने र मस्तिष्कलाई शान्त बनाउने, कलेजो र ह्यदयमा बल प्रदान गर्ने, अलैँचीको बोक्राको धुलो बनाइ दुध वा पनीसँग नियमित सेवन गर्नाले पाचनप्रणाली र रक्तक्रियालाई व्यवस्थित गरी मृगौलाका सम्पूर्ण रोगहरुलाई समाधान गर्ने विज्ञहरुको भनाइ छ ।
बजारको चिन्ता छैन
अलैँची किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रुपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले अलैँची किन्ने गरेका छन् । घरैबाट व्यपारीले किन्ने गरेकाले किसानलाई बजारसम्म पुर्याउने झन्झट समेत छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले अलैँचीको मुल्य समेत राम्रै पाउने गरेको माङसेबुङ-२ किसान कैलासकुमार राईले बताउनुभयो ।
‘हामीले उत्पादन गरेको अलैँची बिक्रीका लागि कुनै समस्या छैन, व्यापारीहरु घरघरमा नै आउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘यातायातको सुविधा विस्तार भएपछि किन्नका लागि व्यापारीलाई मात्र होइन, बेच्नका लागि हामी किसानलाई समेत सहज भएको छ ।’
अलैँचीको विरुवामा गाउँपालिकाको अनुदान
व्यावसायिक अलैँची खेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदानमा अलैँचीको विरुवा गर्दै आएको छ । गाउँपालिकाले अनुदानमा विरुवा वितरण गर्न थालेपछि समेत व्यावसायिक अलैँची खेती विस्तारमा किसानहरु आकर्षित भएका छन् । अलैँची उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले अलैँची खेती किसानलाई ५० प्रतिशत लागत साझेदारीमा अलैँचीको विरुवा वितरण गर्दै आएको माङसेबुङ गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रतिक सुनुवारले बताउनुभयो ।
माङसेबुङले यस वर्ष पनि किसालाई १६ हजार वटा अलैँचीको विरुवा वितरण गरेको छ । रामशाही र गद्लशाही जाताका १४ हजार भर्लाङ्गे जातका २ हजार विरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख सुनुवारले जानकारी दिनुभयो । ‘माङसेबुङ गाउँपालिकाको तर्फबाट यस वर्ष ५० प्रतिशत लागत साझेदारीमा किसानलाई १६ हजार अलैँचीका विरुवा वितरण गरेका छौं,’ सुनुवारले भन्नुभयो, ‘मागका आधारमा एकजना किसानले १ हजारदेखि ४ हजार २०० वटासम्म अलैँचीका विरुवा पाएका छन् ।’ कतिपय किसानले व्यक्तिगत रुपमा र कतिपय किसानले सहकारी संस्था र कृषक समूहमार्फत अलैँची खेती गर्दै आएको उहाँले बताउनुभयो । अलैँचीको विरुवा वितरणका लागि गाउँपालिकाले रु १ लाख ५० हजार विनियोजन गरेको थियो ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । ‘कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको माङसेबुङमा कृषि क्षेत्रलाई नै प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएका छौं,’ अध्यक्ष राईले भन्नुभयो, ‘किसानलाई प्रोत्साहन गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिनेछौं ।’















































