
पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडामा कुकुरमा रेविज रोग देखिएपछि गाउँपालिका र पशु सेवा कार्यालयले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। वडा नं. ६ र ७ मा मंगलबार रेविजसँग मिल्दोजुल्दो लक्षण देखिएका कुकुरको मृत्यु भएपछि गरिएको प्रारम्भिक परीक्षणमा रेविज देखिएको थियो। त्यसपछि बिहीबार वडा नं. १ नवमीडाँडामा पनि यस्तै लक्षण देखिएको कुकुरको मृत्यु भएपछि गरिएको प्रारम्भिक परीक्षणमा रेविज पुष्टि भएको फाल्गुनन्द गाउँपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ।

फाल्गुनन्द गाउँपालिका पशु विकाश शाखा अधिकृत डा. निमेश चौधारीका अनुसार प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका शंकास्पद नमुनाको प्रारम्भिक परीक्षणमा रेविज देखिएको हो। अन्तिम प्रयोगशाला परीक्षणको प्रतिवेदन आउन बाँकी रहे पनि रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरिएको उनले बताए।
मंगलबार रेविज संक्रमित कुकुरको टोकाइबाट ५ देखि ६ जना मानिस तथा १० देखि १२ वटा पशु प्रभावित भएका छन्। त्यस्तै, वडा नं. १ नवमीडाँडामा २ जना मानिसलाई कुकुरले टोकेको छ। घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), विराटनगर तथा फिदिम पठाइएको पशु पंक्षी शाखाका कर्मचारी गोपाल घिमिरेले जानकारी दिए।
डा. चौधरीका अनुसार यसै वर्ष फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा पनि दुई वटा गोरु रेविजका कारण मरेका थिए। ती घटनाको नेपाल भेटेरिनरी प्रयोगशाला, त्रिपुरेश्वर, काठमाडौंबाट प्राप्त परीक्षण प्रतिवेदनले रेविज पुष्टि गरेको थियो।
पालिकाले विगतदेखि नै सबै घरपालुवा कुकुर तथा बिरालोलाई रेविजविरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्दै आएको भए पनि अन्य क्षेत्रबाट भित्रिएका खोप नलगाइएका जनावरका कारण संक्रमण फैलिएको अनुमान गरिएको जनाएको छ।
पशुपन्छी विकास शाखाले सबै घरपालुवा कुकुर तथा बिरालोलाई अनिवार्य रूपमा रेविजविरुद्धको खोप लगाउन, शंकास्पद जनावरको सम्पर्कमा नजान, पशुलाई खुला नछाड्न तथा कुनै जनावरले टोके वा चिथोरेमा तत्काल नजिकको स्वास्थ्य संस्था र पशु सेवा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, समुदायलाई सचेत र सतर्क रहँदै संक्रमण नियन्त्रणमा सहयोग गर्न पनि अनुरोध गरिएको छ।














































