सामुदायिक विद्यालयको गुणस्तर उकास्न माङसेबुङका २५ महत्वाकांक्षी कार्यक्रम

  नयाँ बुलन्द
84 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयको गुणस्तर सुधार, मातृभाषा शिक्षा विस्तार, सूचना प्रविधिको प्रयोग तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमअनुसार सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा बाल विकास कक्षाका सहयोगी कार्यकर्ताले प्राप्त गर्दै आएका सेवा सुविधालाई निरन्तरता दिइनेछ । साथै उनीहरूको सेवा सुविधामा थप वृद्धि गरिने जनाइएको छ ।

मातृभाषा शिक्षाको संरक्षण र प्रवर्द्धनका लागि सामुदायिक, धार्मिक तथा वैकल्पिक विद्यालयमा सञ्चालन हुँदै आएको मातृभाषा पठनपाठन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । मातृभाषा शिक्षक दरबन्दी अनुदान, कम्प्युटर प्रशिक्षक स्वयंसेवक अनुदान तथा कार्यक्रम अनुदानलाई निरन्तरता दिँदै लिम्बू भाषा, राई बान्तवा भाषा तथा कम्प्युटर शिक्षकका लागि पोशाक भत्ता र न्यूनतम तलबमानको व्यवस्था गरिने भएको छ ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक अभाव रहेका माध्यमिक विद्यालयमा शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिइने नीति लिइएको छ । साथै मातृभाषा, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र वितरण कार्यक्रमलाई थप व्यवस्थित बनाइने भएको छ ।

विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्ने, विद्यालय छाड्ने दर घटाउने तथा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने उद्देश्यले कक्षा ५ सम्म सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रम पनि यथावत रहनेछ ।

शिक्षण सिकाइलाई आधुनिक र प्रभावकारी बनाउन विद्यालयको भौतिक पूर्वाधार निर्माण, पुस्तकालय व्यवस्थापन, सूचना प्रविधिको प्रयोग तथा विज्ञान प्रयोगशाला स्थापना कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ। सामुदायिक विद्यालयमा प्रयोगविहीन अवस्थामा रहेका कम्प्युटर, डेस्कटप र प्रिन्टर मर्मतका लागि समेत बजेट व्यवस्था गरिनेछ ।

गाउँपालिकाले ‘एक गाउँपालिका, एक प्राविधिक धार विद्यालय’ अवधारणालाई कार्यान्वयन गर्न आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । प्राविधिक अध्ययन छात्रवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिइने नीति लिइएको छ ।

विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि कक्षा ५ र कक्षा ८ को गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गरिनेछ भने कक्षा ८ को नतिजा सुधार कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार तथा व्यवस्थापनका लागि सञ्चालन हुँदै आएको एसईई सहयोग कार्यक्रमलाई समेत निरन्तरता दिइनेछ ।

गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई पुरस्कार र प्रोत्साहन गर्ने नीति लिएको छ । सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट शिक्षक र विद्यालय छनोट गरी सम्मान गरिने जनाइएको छ ।

शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यकतामा आधारित तालिम सञ्चालन गरिनेछ। विद्यालय अनुगमन, सुपरिवेक्षण तथा पेशागत सहयोग कार्यक्रमलाई पनि थप प्रभावकारी बनाइने भएको छ ।

सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध कायम गर्न सबै वडामा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत छलफल, अन्तरक्रिया, गोष्ठी तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिनेछन्। विद्यालय तहको खेलकुद विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिइने भएको छ ।

राई बान्तवा भाषाको पाठ्यपुस्तक निर्माण गरी बान्तवा राई समुदायको बाहुल्य रहेका विद्यालयमा पठनपाठन सुरु गरिने नीति पनि सार्वजनिक गरिएको छ। यसका लागि आवश्यक शिक्षक दरबन्दीको व्यवस्था गर्दै लगिने गाउँपालिकाले जनाएको छ ।

बालविकास कक्षालाई थप व्यवस्थित बनाउन आवश्यक बजेट व्यवस्था गरिनुका साथै ती कक्षामा स्मार्ट टिभी वितरण गरिने भएको छ । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान गर्दै लैजाने तथा आवश्यकताअनुसार विद्यालयमा फर्निचर व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ ।

गाउँपालिकाले आगामी वर्षदेखि पालिकाभित्रका सामुदायिक विद्यालयमा क्रमशः अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने घोषणा गरेको छ । यसलाई सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउने र निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउने रणनीतिका रूपमा हेरिएको छ ।

त्यसैगरी माङसेबुङ गाउँपालिकाभित्र बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने नीति लिइएको छ । बालअधिकार संरक्षण, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणलाई शिक्षा क्षेत्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार