माङसेबुङ गाउँपालिकाको खेलकुद, युवा तथा रोजगारी सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
7
Shares
युवाहरुले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न युवाहरुलाई सीपमूलक तालिम प्रदान गरिनेछ ।
राष्ट्रिय युवा नीतिका आधारमा स्थानीय कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
डोलटार खेलमैदानलाई गाउँपालिका स्तरीय खेलमैदानको रुपमा स्तरोन्नती गर्दै लगिनेछ साथै गाउँपालिकाका हरेक वडाहरुमा सम्भाव्यताको आधारमा राष्ट्रिय मापदण्डयुक्त ‘एक वडा एक खेलमैदान’ निर्माण गर्ने नीति लिइनेछ ।
खेलाडी उत्पादन तथा खेलाडीको खेल क्षमताको स्तरोन्नतीको लागि नियमित प्रतियोगिताहरु संचालन गर्ने व्यवस्था मिलाईने छ ।
खेलकुद विकासको लागि गठन गरिएको गाउँपालिकास्तरीय माङसेबुङ युवा तथा खेलकुद विकास समितिलाई प्रभावकारी बनाइने छ ।
सेइङ आत्मानन्द लिङदेनज्युको जन्मोत्सव र सेइङ पवित्रहाङमा साम्बा लिङदेनज्यूको जन्मोत्सवको अवसरमा संचालन हुने गोल्ड कपका लागि सहयोग गर्ने कार्यलार्इ निरन्तरता दिइनेछ ।
अध्यक्ष कप खेलकुद कार्यक्रम सन्चालन गरिनेछ ।
विभिन्न खेलकूद प्रतियोगिता संचालनको लागि सम्भाव्यताको आधारमा मापदण्डयुक्त खेलमैदान, कभर्डहल, रंगशाला लगायतमा आवश्यक भौतिक पूर्वाधारको निर्माण र सुव्यवस्थित संचालनका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिनेछ ।
रोजगार सृजना गर्न युवालाई लक्षित गरी व्यवसायिक, सीपमुलक, रोजगारमुलक तालिम तथा कार्यक्रमहरु संचालन गरिनेछ ।
गाउँपालिकाका सबै वडाहरुमा युवा क्लबको गठन गरी विपद व्यवस्थापन तथा स्वयंसेवकीय कार्य र सामाजिक जागरणका अभियानहरुमा युवा परिचालन गरिनेछ ।
वैदेशिक रोजगारीबाट फर्केका र अन्य बेरोजगार युवाहरुलाई उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम प्रदान गरी सहुलियतपूर्ण कर्जा प्राप्तिका लागि सहजीकरण गर्दै स्वरोजगार र रोजगारीका थप अवसरहरुको सृजना गरिनेछ ।
युवा सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय युवा परिषद र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
गाउँपालिकाद्वारा संचालित वडास्तरीय महिला तथा पुरूष फुटबल प्रतियोगितालार्इ निरन्तरता दिइनेछ । साथै कराते, ब्याडमिन्टन, भलिबल, बुद्धिचाल खेललार्इ पनि समावेश गरी खेलकूद कार्यक्रम सञ्चालन गरिनेछ ।