
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले १८औँ गाउँसभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा कर्मचारीलाई नगदसहित सम्मान गरेको छ ।
बुधबार आयोजित गाउँसभाको उद्घाटन समारोहमा गाउँपालिकाले शिक्षा तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शिक्षक र कर्मचारीलाई जनही २० हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्ला प्रदान गर्दै सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा शिक्षकतर्फ चिसोपानी पञ्चमी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलमान सुब्बा, शिक्षक सुस्मिता राई, जनज्योति आधारभूत विद्यालयका मुक्तिनाथ दंगाल र महेन्द्रोदय माध्यमिक विद्यालयका कर्मचारी नरबहादुर गजमेर सम्मानित भएका छन् ।
त्यस्तै कर्मचारीतर्फ जनस्वास्थ्य अधिकृत प्रदिप राई, कम्प्युटर अधिकृत उमेश खत्री, अधिकृत छैटौँ भेषराज भट्टराई, अहेव मित्रप्रसाद न्यौपाने, वडा सचिव हिमाल खनाल, कर्मचारीहरु प्रमिला विश्वकर्मा, सरण लिम्बू र नारायण खवास सम्मानित भएका छन् ।
उनीहरुलाई कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवम् प्रदेशसभा सदस्य रामबहादुर मगर, गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत नवदीप राईलगायते नगदसहित दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरे ।
गाउँपालिकाले आफ्नो जिम्मेवारी क्षेत्रमा इमान्दारितापूर्वक कार्यसम्पादन गरी सेवा प्रवाह, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासमा योगदान पुर्याएका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।















































