
इलाम : इलामको सामुदायिक विद्यालयहरुको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो बनेको छ । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्नालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको परीक्षणमा जिल्लाको १० स्थानीय तहमध्ये रोङ गाउँपालिका पहिलो बनेको हो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आज (शनिबार) इलाममा ‘सञ्चार संस्था एवम् सञ्चारकर्मीहरुसँग सहकार्य तथा अन्तरक्रिया’ कार्यक्रममार्फत सार्वजनिक गरेको इलाम जिल्लाको प्रतिवेदन अनुसार रोङ गाउँपालिका ७३ दशमलव ३० अङ्कसहित पहिलो बनेको हो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाको ९३ वटा माध्यमिक तहको सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण गरी स्तर निर्धारण गरिएको केन्द्रकी निर्देशक प्रमिला बखतीले जानकारी दिइन् । कार्यसम्पादन परीक्षणमा ७२ दशमलव ३५ अङ्कसहित देउमाई नगरपालिका दोस्रो स्थान परेको छ ।
त्यस्तै ६६ दशमलव ६२ अङ्कसहित सन्दकपुर गाउँपालिका तेस्रो, ६५ दशमलव ७९ अङ्कसहित चुलाचुली गाउँपालिका चोथौ, ६५ दशमलव १७ अङ्कसहित माईजोगमाई गाउँपालिका पाँचौ र ६४ दशमलव ९० अङ्कसहित सूर्योदय नगरपालिका छटौं स्थानमा छ ।
६४ दशमलव ८९ अङ्कसहित माई नगरपालिका सातौं, ६१ दशमलव ६७ अङ्कसहित इलाम नगरपालिका आठौं, ६१ दशमलव ३३ अङ्कसहित माङसेबुङ गाउँपालिका नवौं र ५९ दशमलव ९७ अङ्कसहित फाकफोकथुम गाउँपालिका दशौं तथा अन्तिमा स्थानमा छ ।
जिल्लाको ९३ विद्यालयको कार्यसम्पादन परीक्षणमा ६५ विद्यालयको स्तर सामान्य र २८ विद्यालयको स्तर मध्यम रहेको पाइएको छ । फाकफोकथुम र माङसेबुङका सबै विद्यालयको स्तर सामान्य रहेको पाइएको छ भने अन्य पालिकाको सामान्य र मध्यम स्तरका छन् । कमजोर र उत्तम स्तरमा कुनै विद्यालय परेनन् ।
समग्रमा जिल्लाको औसत अङ्क भने ६५ दशमलव १६ रहेको छ । केन्द्रले १०० पूर्णाङ्कमध्ये प्राप्ताङ्कका आधारमा ४० प्रशितशत भन्दा कम अङ्क भए ‘कमजोर’, ४० वा सोदेखि माथि ७० प्रतिशत भन्दा कम भए ‘सामान्य’, ७० वा सो भन्दा माथि ९० प्रतिशत भन्दा कम भए ‘मध्यम’ र ९० प्रतिशत वा सो भन्दा बढी अङ्क पाएकोमा ‘उत्तम’ स्तर तोक्ने व्यवस्था बमोजिम स्तर निर्धारण गरिएको निर्देशक बखतीले बताइन् ।

निर्देशक बखतीका अनुसार विद्यालयको कार्यसम्पादनलाई लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याका आधारमा विभिन्न सूचक विकास गरी परीक्षण गरिएको थियो । ‘विद्यालयको कार्यसम्पादनलाई मूलत: लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याका अन्तर्गत ८८ वटा सूचक विकास गरी सूचकगत जम्मा २६९ अङ्क कायम गरिएको थियो,’ निर्देशक बखतीले भनिन्, ‘जसमध्ये लगानीमा २५ प्रतिशत, प्रक्रियामा ३० प्रतिशत, उपलब्धिमा ४० प्रतिशत र सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याको भार ५ प्रतिशत निर्धारण गरिएको थियो ।’
‘सामुदायिक विद्यालय कार्यसम्पादन परीक्षण मार्गदर्शन पुस्तिका, २०८१’ र ‘विद्यालय कार्यसम्पादन परीक्षण साधन, २०८१’ ले विद्यालयहरुको कार्यसम्पादन परीक्षण तथा स्तर निर्धारणका लागि ८८ वटा सूचकमध्ये लगानी क्षेत्रका २७ वटा, प्रक्रिया क्षेत्रका ४६ वटा र उपलब्धि क्षेत्रका १५ वटा सूचक निर्धारण गरेको छ । सोही सूचकका आधारमा केन्द्रले विद्यालय कार्यसम्पादन परीक्षण गरेको हो ।
प्रत्येक सूचकमा बढीमा ३ अङ्क प्रदान गर्ने व्यवस्था छ । त्यस्तै सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याका लागि ५ अङ्क छुट्याइएको छ । यसै आधारमा कार्यसम्पादन परीक्षणको कुल अङ्क २६९ कायम गरी अन्त्यमा प्राप्ताङकलाई प्रतिशतमा रुपान्तरण गरी उत्तम, मध्यम, सामान्य र कमजोर गरी चारवटा स्तर निर्धारण गर्ने व्यवस्था छ ।
निर्देशक बखतीले सामुदायिक विद्यायहरुको कार्यसम्पादन स्तर बढाउन सरकारले शिक्षा क्षेत्रमा लगानी वृद्धि गरी उपलब्धि हासिल गर्ने खालको नीति तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताइन् । ‘सामुदायिक विद्यालयको कार्यसम्पादन स्तर बढाउनका लागि तीनै तहको सरकारले शिक्षा क्षेत्रमा लगानीसँगै प्रक्रिया, उपलब्धि र विद्यार्थी सङ्ख्या बढाउने खालको नीति ल्याउनुपर्ने देखिन्छ,’ उनले भनिन् ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रेविका अमात्यले समग्रमा जिल्लाको सामुदायिक विद्यालयको कार्यसम्पादन स्तर सामान्य मात्र देखिएकाले यसलाई बढाउन सबै पक्ष गम्भीर ढङ्गले लाग्नुपर्ने आवश्यकता औंल्याइन् । ‘यहाँको सामुदायिक विद्यालयको कार्यसम्पादन स्तर बढाउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसँगै शिक्षक, अभिभावक, विद्यार्थी सबै गम्भीर ढङ्गले लाग्नुपर्छ,’ उनले भनिन्, ‘सबैको साझा प्रयासले अवश्य सफलता हात पार्न सकिन्छ ।’



















































