विकासदेखि सेवा प्रवाहसम्म : सन्दकपुर गाउँपालिकाको सार्वजनिक सुनुवाइमा जनताको खुला प्रश्न (भिडियो/तस्बिरहरु)

  नयाँ बुलन्द
56 Shares

इलाम : सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँपालिका कार्यालयको प्राङ्गण माबुमोड देउरलीमा चालु आर्थिक वर्ष २०८२/०८३ को  सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा विभिन्न योजनाबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, ‍‍वडाध्यक्षहरुएवम् विभिन्न शाखाका प्रमुखहरूको उपस्थितिमा नागरिकले राखेका गुनासा, सुझाव र जिज्ञासामा खुला छलफल गरिएको थियो ।

कार्यक्रममा पहिलो चरणमा गाउँपालिकामा चालु आर्थिक वर्षको हालसम्म भएका काम, बजेट कार्यान्वयनको अवस्था, सेवा प्रवाहको स्थिति तथा आगामी योजनाबारे जानकारीसहितको प्रतिवेदन प्रशासन शाखा प्रमुख टीकादेवी बस्नेतले प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै तेस्रो पक्ष इलाम मल्टिपर्पोजक कम्पनी प्रालिको तर्फबाट तयार गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन प्रतिवेदन सहजकर्ता राम योङहाङले प्रस्तुत गरका थिए । नागरिक प्रतिवेदनमा सुझाव र बहिर्गमन प्रतिवेदनमा राम्रा पक्ष र सुधार गर्नुपर्ने विषय समेटिएको थियो ।

दोस्रो चरणमा सेवाप्रदायक निकाय सन्दकपुर गउँपालिका र सेवाग्राहीबीच सवालजवाफ भएको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागी नागरिकले विकास निर्माणदेखि योजनाको प्रभावकारिता, सेवा प्रवाहको सहजता तथा विभिन्न कार्यक्रमको कार्यान्वयनबारे प्रश्न उठाएका थिए । कार्यक्रममा नेत्रप्रसाद रिजाल, थलबहादुर बुर्जा, चन्द्र राई, दिपक गुरुङ, धनप्रकाश राई, हरिकृष्ण खतिवडा, प्रेम नाछिरिङ, लिला भट्टराई, जीवन शिवा, दिनेश सुवेदी, धनप्रसाद लिम्बू र विरबल अग्रवालले प्रश्न, जिज्ञासा, गुनासो र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, प्रवक्ता एवम् १ नं. वडाध्यक्ष रहरकुमा राई,  सहकारी शाखा प्रमुख वेदनिधि दुलाल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुव सेजुवालगायतले दिएका थिए । उनीहरूले सेवाग्राहीको प्रश्नको जवाफ दिँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष गुरुडले नागरिकका सुझाव र गुनासालाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिने बताए । उनले भने, ‘सार्वजनिक सुनुवाइ जनतासँग प्रत्यक्ष संवाद गर्ने महत्त्वपूर्ण अवसर हो । यहाँबाट आएका सुझाव र गुनासालाई सम्बोधन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रयास गर्नेछौं ।’

उपाध्यक्ष लुङ्गेलीले बजेट बनाउने समयमा सरोकारवालामाबाट आएको महत्वपूर्ण सुझावहरुलाई सकेसम्म समेट्ने प्रयास गरिने बताए ।

प्रमुख प्रकाशकीय अधिकृत लिम्लेबू सार्वजनिक सुनुवाइले स्थानीय सरकारको कामप्रति नागरिकको विश्वास बढाउन मद्दत गर्ने बताए । उनले नागरिकले उठाएका समस्या र जिज्ञासालाई समाधान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा गाउँवासीको सहभागिता रहेको थियो । गाउँपालिकाले नागरिकबाट प्राप्त सुझाव र गुनासालाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेट्ने जनाएको छ ।

भिडियो यहाँ हेर्नुहोस् :

तस्बिरहरु हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार