
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको १८ औं गाउँ सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले गत असार १० गते प्रस्तुत गर्नुभएको गाउँपालिकाको आगामी आर्थिक वर्षको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजन भएको बजेट संसोधनसहित ५१ करोड २४ हजार ६९७ रुपैयाँ बिहीबार सर्वसम्मतिले पारित गरेको हो ।
गाउँपालिकाले पारित गरेको आगामी वर्षको बजेटका स्रोतहरुमा संघीय सरकार सशर्त अनुदानबाट १९ करोड ३१ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, समपूरक अनुदान २ करोड २९ लाख, समानीकरण अनुदान ८ करोड ९३ लाख र राजस्व बाँडफाँडबाट ८ करोड ६९ लाख ९९ हजार गरी संघीय सरकारको वित्तीय हस्तान्तरणको कुल योगदान ४० करोड २२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यसैगरी कोशी प्रदेश सशर्त अनुदानबाट ३६ लाख, समपूरक अनुदान १ करोड ४० लाख, समानीकरण अनुदान ७८ लाख २६ हजार र राजस्व बाँडफाँडबाट रु ७२ लाख ९९ हजार ६९७ गरी प्रदेश सरकारको वित्तीय हस्तान्तरणको कुल योगदान ३ करोड २७ लाख २५ हजार ६९७ रुपैयाँ रहेको छ ।
त्यस्तै कुल आन्तिरिक आयतर्फ ३ करोड ५० लाख र आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म रहने बैंक मौज्दात ४ करोड हुने अनुमान रहेको छ ।
माङसेबुङले आगामी वर्षका लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी बजेट विनियोजन गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा जस्तो भौतिक पूर्वाधार, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पादा संरक्षण र प्रवर्द्धनजस्ता विषयले बजेटमा स्थान पाएका छन् ।
गाउँसभाले माङसेबुङ गाउँपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदनसहित कार्यपालिकाबाट सिफारिस भइआएका लिम्बू भाषा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक समेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नवदिप राईले जानकारी दिए । गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँ सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने गाउँसभा सदस्यहरुप्रति धन्यवाद र आभार व्यक्त गरे ।
इलामका अन्य ४ नगरपालिका र ५ गाउँपालिकाले आगामी आर्थिक वर्षको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजन भएको बजेट यसअघि नै पारित गरिसकेको छ ।















































