५१ हजार राशीको ‘माङसेबुङ पत्रकारिता पुरस्कार’बाट सम्पादक योङहाङ पुरस्कृत

इलाम : इलामबाट सन्चालित पहिलो लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकम (www.nayabulanda.com) का इलाम सम्पादक रामकुमार लिम्बू योङहाङ ‘माङसेबुङ पत्रकारिता पुरस्कार-२०८३’ बाट पुरस्कृत भएका छन्  । जिल्लाको माङसेबुङ गाउँपालिकाले सम्पादक  योङहाङलाई नगद ५१ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो छ ।

बिहीबार माङसेबुङ गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत नवदिप राईलगायतले योङहाङलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरे ।

गाउँपालिकाले माङसेबुङको विकास र समृद्धिको विषयमा राससमार्फत समाचार सम्प्रेषण गरी पुर्‍याएको योगदानको कदर गर्दै योङहाङलाई नगद पुरस्कारसहित सम्मान गरिएको माङसेबुङ गाउँपालिकाले जनाएको छ । माङसेबुङ गाउँपालिकाको १८ औँ गाउँसभा समापनको अवसरमा आयोजित कार्यक्रमा योङहाङ पुरस्कृत भएका हुन् ।

माङसेबुङ गाउँपालिकाको विकास र समृद्धिसँग सम्बन्धि समाचार आलेख तथा अनुसन्धानमूलक सामग्रीको उत्पादन तथा प्रकाशन/प्रशारण गर्ने एक जना क्रियाशील पत्रकारलाई हरेक वर्ष सो पुरस्कृत गर्न माङसेबुङले यस वर्षदेखि सो पुरस्कार स्थापना गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

‘माङसेबुङ गाउँपालिका पत्रकारिता पुरस्कार कार्यविधि, २०८३’ स्वीकृत गरी सोही कार्यविधि बमोजिम पुरस्कार वितरण सुरु गरिएको उनले बताए ।

पुरस्कार प्राप्त गरेपछि योङहाङ्ले पत्रकारिता पेशाप्रति थप जिम्मेवार बन्न र पेशामै रहिरहन उर्जा मिलेको प्रतिक्रिया दिए ।

इलामको माङसेबुङ गाउँपालिका-३ गुरुङगाउँ घर भएका योङहाङ दुई दशकदेखि पत्रकारिता पेशामा क्रियाशील छन्  । उनी नयाँ बुलन्दसहित राष्ट्रिय समाचार समिति (रासस) र सौर्य राष्ट्रिय दैनिकका इलाम समाचारदाता समेत हुन् । त्यस्तै बहुभाषी मासिक पत्रिका मेरो समाचारका प्रधानसम्पादक समेत हुन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार