
घुर्विसे पञ्चमी: घुर्विसे पञ्चमी खेलमैदानमा सम्पन्न प्रथम स्थापना कप-२०८३ अन्तर्गतको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि राँके एफसीले जितेको छ।
स्थानीय युथ एफसीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा राँके एफसीले कुम्मायक स्पोर्टिङ क्लबलाई ट्राइब्रेकरमा १०-९ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। निर्धारित समयको खेलमा कुम्मायक स्पोर्टिङ क्लबले पहिलो हाफमै २ गोल गर्दै अग्रता बनाएको थियो। तर दोस्रो हाफमा राँके एफसीले उत्कृष्ट पुनरागमन गर्दै २ गोल फर्काएपछि खेल २-२ को बराबरीमा पुगेको थियो। त्यसपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो, जहाँ राँके एफसी विजयी बन्न सफल भयो।
प्रतियोगितामा राँके एफसीका निरज लिङ्देन उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) घोषित भए। सर्वाधिक गोलकर्ताको उपाधि कुम्मायक स्पोर्टिङ क्लबका जर्सी नम्बर १० का सुशील लावतीले प्राप्त गरे। उनले प्रतियोगिताभर ८ गोल गरेका थिए। त्यसैगरी राँके एफसीका सम्राट राई उत्कृष्ट गोलरक्षक (बेस्ट किपर) घोषित भए।प्रतियोगिताको विजेता राँके एफसीले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कुम्मायक स्पोर्टिङ क्लबले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
समापन समारोहमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे प्रमुख अतिथि तथा फाल्गुनन्द गाउँपालिका–५ का वडाध्यक्ष विष्णुकुमार चेम्जोङ विशेष अतिथिका रूपमा सहभागी भई विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए। खेल संयोजक विनोद आङ्देम्बेका अनुसार समापन अवसरमा फाल्गुनन्द भेट्रान्स र फाल्गुनन्द गाउँपालिका कर्मचारी टोलीबीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको थियो। उक्त खेलमा फाल्गुनन्द भेट्रान्स विजयी भइ १० हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भयो । फाल्गुनन्द गाउँपालिका–४ राँके निवासी तथा हाल माल्टामा रहेका सुमन चेम्जोङले प्रायोजन गरेका हुन्।
मुख्य रेफ्रीको भूमिका बसन्त आङ्देम्बेले निर्वाह गरेका थिए। प्रतियोगिता सफल बनाउन स्थानीय समाजसेवी, खेलप्रेमी तथा विभिन्न दाताहरूले सहयोग गरेका आयोजकले जनाएको छ।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित जेठ २५ गतेदेखि आयोजित प्रतियोगिता ३० गते सम्पन्न भएको छ । खेलमा १६ टिम सहभागी थिए। प्रतियोगितामा स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रतिको आकर्षण वृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।





















































