घरायसी लिखत कानुनसम्मत बनाउन व्यवहारिक सीप सिकाउँदै फाल्गुनन्द गाउँपालिका

  युद्धबहादुर बोहोरा
63 Shares

पाँचथर : घरायसी लिखत तथा लेनदेनलाई कानुनसम्मत, सुरक्षित र प्रमाणित बनाउने उद्देश्यले फाल्गुनन्द गाउँपालिकाले तीनदिने आवासीय लेखापढी तथा कानुनी प्रशिक्षण सम्पन्न गरेको छ। विवादको साटो, मेलमिलापको बाटो भन्ने नारासहित गाउँपालिकाको नयाँ प्रशासकीय भवनस्थित सभाहलमा आयोजित प्रशिक्षणमा सातवटै वडाका महिला तथा पुरुष मेलमिलापकर्ता,  प्रत्येक वडाबाट एक-एक जना  कर्मचारी र जनप्रतिनिधिसहित ४५ जनाको सहभागिता रहेको थियो। प्रशिक्षणका सहजकर्ता अधिवक्ता टिका तिम्सिनाले घरायसी लिखत, कपाली तमसुक, भाका, ऋण–लेनदेन, साक्षी राख्ने कानुनी व्यवस्था, वडा कार्यालयबाट कागजात प्रमाणित गर्ने प्रक्रिया, दर्ता, रसिद व्यवस्थापन तथा ब्याजसम्बन्धी कानुनी प्रावधानबारे व्यवहारिक प्रशिक्षण दिएका थिए। उनले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई साक्षी राख्न वा उनीहरूका नाममा तमसुक बनाउन नमिल्ने कानुनी व्यवस्था, घरायसी लिखत तयार गर्दा अपनाउनुपर्ने प्रक्रिया तथा त्यसलाई कानुनी रूपमा सुरक्षित बनाउने विधिबारे विस्तृत जानकारी गराए। साथै नामसारी सिफारिस, अंशसम्बन्धी कानुनी व्यवस्था तथा महिलाको सम्पत्ति अधिकारका विषयमा पनि छलफल गरिएको थियो।

अधिवक्ता तिम्सिनाले २०७२ साल असोज १४ गतेपछि विवाह गरेका महिलाले कानुनअनुसार अंशसम्बन्धी अधिकार प्राप्त गर्ने व्यवस्थाबारे सहभागीलाई जानकारी गराउँदै घरायसी रूपमा हुने लिखत तथा लेनदेनलाई कानुनी प्रक्रियाअनुसार तयार गर्न सके भविष्यमा उत्पन्न हुन सक्ने धेरै विवाद न्यूनीकरण गर्न सकिने बताए। उनले व्यक्ति स्वयंमा सुधार आए समाज पनि सही दिशातर्फ अघि बढ्नेमा जोड दिए। सहभागी मीनादेवी ओझा र लगनविक्रम चेम्जोङले प्रशिक्षण अत्यन्त व्यवहारिक, उपयोगी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिए। दैनिक जीवनमा प्रयोग हुने घरायसी लिखत तथा कानुनी प्रक्रियाबारे स्पष्ट ज्ञान प्राप्त भएकाले अब समुदायस्तरमा कानुनसम्मत कागजात तयार गर्न र विवाद समाधानमा थप सहज हुने उनीहरूको भनाइ थियो।सहभागीले कानुनी ज्ञान गाउँ-गाउँसम्म विस्तार गरी नागरिकलाई सहज, सुलभ र प्रभावकारी न्याय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताए।कार्यक्रममा फाल्गुनन्द गाउँपालिका-५ का वडाध्यक्ष विष्णुकुमार चेम्जोङले स्थानीय तहको न्याय प्रणालीलाई प्रभावकारी बनाउन दक्ष तथा कानुनी ज्ञान भएका मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताए। न्यायिक समिति सदस्य सागर नेम्बाङ र कार्यपालिका सदस्य विमला सदेम्वाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धिले गाउँघरका सामान्य विवाद अदालतसम्म पुग्न नदिई स्थानीय स्तरमै समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले कानुनी प्रक्रिया अनुरूप आधिकारिक कागजात तयार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु प्रशिक्षणको मुख्य उद्देश्य रहेको बताए। स्थानीय स्तरमै विवाद समाधान गर्ने संस्कृतिको विकास गर्दै सक्षम र योग्य मेलमिलापकर्ता तयार पार्न गाउँपालिका निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले यस्ता व्यवहारिक प्रशिक्षणले स्थानीय तहमा कानुनी सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।उजुरी प्रशासक थमराज जैसीले न्यायिक समितिले सातवटै वडामा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै मेलमिलापकर्ता उत्पादन, कार्यसम्पादन मूल्याङ्कनका आधारमा सम्मान तथा विभिन्न क्षमता अभिवृद्धिमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले न्यायिक समितिका गतिविधिसम्बन्धी प्रतिवेदन पनि कार्यक्रममा प्रस्तुत गरिएको र आगामी दिनमा पुनर्ताजगी तालिमलाई निरन्तरता दिइने बताए।

जिल्ला न्यायाधीशसहितको अनुगमन टोलीले यस गाउँपालिकाको न्याय सम्पादन प्रभावकारी रहेको निष्कर्ष निकालेको गाउँपालिकाले जनाएको छ। टोलीले फाल्गुनन्दको न्यायिक समितिलाई जिल्लाकै उत्कृष्ट न्यायिक समितिमध्ये एकका रूपमा उल्लेख गर्दै कानुनी सचेतना, मेलमिलापकर्ता उत्पादन तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमको प्रशंसा गरेको बताइएको छ। गाउँपालिकाले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र विश्वसनीय बनाउन विभिन्न तालिम, प्रशिक्षण, अन्तरक्रिया, अवलोकन र सवै मेलमिलाप कार्यालयहरु व्यस्थित गर्दे आएको उजुरी प्रशासक जैसीले जानकारी दिए । आगामी दिनमा पनि कानुनी सचेतना, क्षमता अभिवृद्धि तथा पुनर्ताजगी प्रशिक्षणलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार