माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका विभिन्न जनचेतनामूलक तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत ५ सय ३१ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा नागरिकमा वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
सामी कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ५ वटा प्रमुख कार्यक्रम सम्पन्न भएका छन् । ती कार्यक्रम सञ्चालनका लागि २ लाख १९ हजार २ सय रुपैयाँ खर्च गरिएको छ ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया, श्रम स्वीकृति, गन्तव्य मुलुकका श्रम अधिकार, सम्भावित जोखिम तथा सुरक्षित आप्रवासनका विषयमा जानकारी गराउने उद्देश्यले ६ वटै वडामा गहन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । ४८ हजार रुपैयाँ लागतको उक्त कार्यक्रमबाट २१६ जना लाभान्वित भएका छन्।
यसैगरी, नागरिकमा आम्दानीको सही व्यवस्थापन, बचत गर्ने बानीको विकास तथा वित्तीय योजनाबारे जानकारी गराउन पाँच वटा टोल विकास संस्थामा एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । २३ हजार ७ सय रुपैयाँ लागतको यस कार्यक्रमबाट १२४ जना लाभान्वित भएका छन् ।
विद्यालय तहबाटै वित्तीय अनुशासन र बचत संस्कृतिको विकास गर्ने उद्देश्यले पाँच वटा विद्यालयमा ९० मिनेटे वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। ४ हजार ५ सय रुपैयाँ लागतमा सम्पन्न उक्त कार्यक्रमबाट ९५ जना विद्यार्थी लाभान्वित भएका छन्।
त्यस्तै, तीन स्थानमा तीनदिने वित्तीय साक्षरता तालिम सञ्चालन गरी ५४ जनालाई विस्तृत वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको छ । यस कार्यक्रमका लागि ५८ हजार रुपैयाँ खर्च गरिएको थियो ।
दीर्घकालीन रूपमा वित्तीय व्यवहारमा सुधार ल्याउने उद्देश्यले दुई स्थानमा २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । ८५ हजार रुपैयाँ लागतको उक्त कार्यक्रमबाट ४२ जना लाभान्वित भएका छन् । यस कार्यक्रमले सहभागीहरूलाई बचत, ऋण व्यवस्थापन, पारिवारिक बजेट निर्माण, सानो लगानी तथा उद्यमशीलताका आधारभूत विषयमा व्यावहारिक ज्ञान प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले वैदेशिक रोजगारीमा जाने युवालाई सही सूचना, कानुनी परामर्श र आवश्यक तयारीमा सहयोग पुर्याउनुका साथै वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न वित्तीय साक्षरतामार्फत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कार्यक्रम प्रमुख विपीन खुलालले बताए ।
गाउँपालिकाले आगामी दिनमा पनि सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन, वित्तीय साक्षरता विस्तार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सामाजिक तथा आर्थिक पुनःएकीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


















































