
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–५ नं. वडा कार्यालयले कक्षा ३, ५, ८ र १० मा ३ जिपिएभन्दा बढी अंक ल्याउँदै उर्तिण हुने ५६ जना विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वडाले चालु आर्थिक वर्ष २०८२÷०८३ को १ लाख रुपैयाँ रकमबाट चार विद्यालयका ५६ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । वडाको शिक्षा समितिको निर्णय अनुसार ३ जिपिए भन्दा बढि अंक ल्याउने ५६ जना विद्यार्थी पुरस्कृत गरेको थियो ।

पुरस्कृत हुनेमा कागेश्वरी, गुह्येश्वरी र हिमालय आधारभूत विद्यालय त्यस्तै महेन्द्रदोय मावि गरी चार विद्यालयका ५६ जना विद्यार्थीहरु रहेका छन । वडाको महेन्द्रदोय माविमा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई नगद पुरस्कार सहित अविर र खादा लगाएर सम्मान गरिएको वडा सचिव केशकुमार चेम्जोङले बताए ।
पुरस्कृत हुनेमा चार विद्यालयका कक्षा ३ र ५ बाट उर्तिण हुने ३१ जना विद्यार्थीहरुलाई जनही ८ सयका दरले २४ हजार ८ सय रुपैयाँ, कक्षा ८ बाट उर्तिण हुने २३ जनालाई जनही ११ सयको दरले २५ हजार ३ सयको दरले पुरस्कृत गरिएको थियो । त्यस्तै कक्षा १० बाट उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीहरुलाई सबैभन्दा बढि जनही २५ हजारको दरले ५० हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ । महेन्द्रदोय माविबाट २०८२ को एसइईमा ३ जिपिएभन्दा बढि अंक ल्याउँदै उर्तिण हुने दिव्यासोरी निरौला र मुना चेम्जोङलाई नगद पुरस्कार सहित सम्मान गरिएको वडाअध्यक्ष निर्मलराज घिमिरेले जानकारी दिनुभयो । निरौलाले ३.३९ र चेम्जोङले ३.५१ जिपिए अंक ल्याउँदै एसइई उर्तिण हुनुभएको थियो ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्दै पठनपाठनमा रुचि बढाउँन वडाले वर्षेनी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको वडाअध्यक्ष घिमिरेको भनाइ छ ।

कुम्मायक गाउँपालिका मध्ये महेन्द्रदोय माविले राम्रो नतिजा ल्याएको भन्दै शिक्षा क्षेत्रको विकासका लागि वडाले गरेका प्रयास उदाहणीय रहेको गाउँपालिकाका शिक्षा अधिकृत प्रदिपसिं तामाङले बताउनुभयो । सम्मानित विद्यार्थीहरूले पनि मेहेनतको फल पाएको भन्दै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका थिए ।






































