स्थानीय सरकारलाई थप उत्तरदायी बनाउन फुएतप्पामा बिहीबार सार्वजनिक सुनुवाइ हुँदै

  नयाँ बुलन्द
28 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ फुएतप्पामा आज (असार ४ गते) सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना हुँदैछ । स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

फाकफोकथुम गाउँपालिकाको आयोजना तथा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका, विषयगत शाखा तथा वडा कार्यालयबाट आर्थिक वर्षभरि सञ्चालन भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहसम्बन्धी गतिविधिको समीक्षा गरिनेछ । साथै नागरिकबाट प्रत्यक्ष रूपमा सुझाव, गुनासा र प्रतिक्रियासमेत संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा वडा कार्यालयले पूर्वाधार विकास, सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा भएका गतिविधि र उपलब्धिबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछ । नागरिकहरूले सेवा प्रवाह, विकास आयोजना तथा स्थानीय तहका गतिविधिबारे आफ्ना जिज्ञासा र सुझाव राख्न सक्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी योजना तर्जुमा तथा सेवा सुधारका आधारका रूपमा उपयोग गरिने गाउँपालिकाको भनाइ छ । यस कार्यक्रमले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीलाई थप उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फाकफोकथुम गाउँपालिकाले जेठ ३१ गतेदेखि असार ६ गतेसम्म सातवटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिरहेको छ । तालिका अनुसार असार ५ गते वडा नं. १ र असार ६ गते वडा नं. ३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना हुने जनाइएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार